हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Wednesday, May 15, 2013

Ncell को फेसबूक पेजमा यस्तो लाजमर्दो प्रतिकृया

आफ्नो ग्राहक एक करोड पुगेको भन्दै खुशीयाली मनाइ रहेको Ncell लाई ग्राहकहरुले दिएको सुझाब कतिको मनन गर्लान त्यो हेर्न बाँकी नै छ । Ncell को फेसबूक पेजमा ग्राहकहरुले दिएको प्रतिकृयाले आश्चर्य चकित बनाइ दिएको छ ।  दुई घण्टा अघि पोस्ट गरेको फोटोमा प्राप्त १ सय ७० भन्दा बढी (यो सामाग्री तयार पर्दा सम्म) प्रतिकृया मध्ये औंलामा गन्न सकिने मात्रामा मात्र सकारात्मक् प्रतिकृया आएको देखिन्छ । Ncell को पेज बाट लिएको यो सामाग्री जस्ताको त्यस्तै हेर्नुस्

Photo: Ek Karodma Ek Ma!

Today, Ncell is the biggest and happiest family in Nepal with One Crore members. And within that One Crore family are you and I.

Ncell, Here for Nepal


Tuesday, May 14, 2013

एनसेलको करोड ग्राहक ध्वाँस मात्रै !


आफुलाई देशकै सबैभन्दा ठुलो दुरसंचार सेवा प्रदायक भएको भन्दै आज एनसेलले खुवै विज्ञापन र समाचार छपायो । एनसेलकै कुरा सुन्ने हो भने १ करोड ग्राहक उसका छन् रे । तर तपाई यो भ्रममा नपर्नुहोला महोदय यो सिम बाँडेको संख्या हो चलाउनेको होइन ।

पत्रकार गजेन्द्र बुढाथोकी भन्छन उसका कति सीम जारी भए त्यो ठूलो कुरा होइन, कति प्रतिशत सीम एक्टिभ छन, कति प्रतिशतले दैनिक फोन कल गर्छन भन्ने मुख्य कुरा हो । उसले हरेक वर्ष नेपाल सरकारलाई तिरेका करका आधारका जारी भएका मध्ये आधा पनि सिम एक्टिभ नभएको देखिन्छ । तराईतिर र गाउँघरतिर किलोका भाउमा एनसेलका सिम पाइन्छन, मेरै एक जना आफन्तको १२ वर्षको छोरासँग ७ वटा एनसेलका सिम छन । अब त झन विदेशबाट आइएमइ गर्दा एनसेल सिम निःशुल्क रे ।

अर्को स्किम बैजनी रंगका लुगा लगाउने जतिलाई सिम निःशुल्क होला । यही तालले सिम जारी गर्दै जाँदा आउँदो वर्ष २ करोड प्रयोगकर्ता भनेर विज्ञापन जारी गर्छ । मेरा फोनबुकमा भएका लगभग १ हजार नम्बरमा जम्मा तीन वटामात्र एनसेल नम्बर रहेछ, अब आफै विचार गर्नुस यसका कति प्रयोगकर्ता छन ।

यहाँ सम्मकी सुनसरीको भरोल गाउँमा एनसेलले टावर राख्न स्थानीय युवाहरूलाई फकाउन ३ वटा बाइक समेत एनसेलले किनिदिएको पत्रकार बुढाथोकिले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।

पत्रकारहरुकै कुरा सुन्ने हो भने हिमाल खवर पत्रिकामा कार्यरत पत्रकार रमेश न्यौपानेका अनुसार नेपाल टेलिकमका एमडीले अनापचारिक कुराकानीमा एनसेल र हाम्रो जीएसएममा बाहिर जे जे भनेपनि ३५–३५ लाखको हाराहारीमा ग्राहक छन् भन्थे रे ।

सामाजिक सञ्जालमै चलेको भनाइ र सत्यतालाई केलाउने हो भनेपनि पछिल्लो समय एनटीसीले इन्टरनेट शुल्क घटाएपछि एनसेलले समेत घटाएको छ । यदी घटाउन सकिने थियो भने किन पहिलेनै घटाएन एनसेलले ? किन भने उखाननै बनिसकेको छ एनसेलमा पैसा टिक्दैन, एनटीसीमा टावर टिप्दैन ।

सामाजिक सञ्जाल फेसबुकमै भुवन राउतले लेखेको कुरा सुन्ने हो भने एनसेलको १ करोड सिम रे अबैध VOIP मा २ लाख , अपहरणकारीं अपराधीले प्रयोग गरेका १ लाख र मैले रिचार्जको लागि प्रयोग गरेको १०० ओटा जति घटाउन बिर्सेच ।
आम ब्यक्रिको यि भनाइलाई आधार र घटना क्रमहरुलाई समेत तथ्यका रुपमा केलाएर हेर्ने हो भने नेपालमा सञ्चालि अबैध टेलिफोट कल बाइपासमा प्रयोग हुने हजारौं सिमकार्ड एनसेलको हुने गरेको छ ।

त्यसो त एनसेलले दुरसंचारसँग सम्वन्धित समाचार लेख्ने पत्रकारहरुलाई बिदेश भ्रमण गराउने देखि इन्टरनेट सुविधा, ब्याग समेत बाँडेर फकाउने गरेको छ । डायरी कलमको चाँग त गनि साध्य छैन । आधा दर्जन बढी पटक राजश्व छलीमा करोडौं रुपैयाँ जरिवाना तिरिसकेको एनसेल राजश्व तिर्ने कम्पनीको अग्रपंक्तिमा आए जस्तै राजश्व छलिमा समेत पहिलो नम्वरमै गनिन्छ ।

अब आफैं भन्नुस् त सेवा कम मेवा वढी अनि ढुकुटिमा समेत जिब्रो काढेर असुलेको पैसाले सिम मात्र कौडिको मुल्यमा बाँडेर गन्दैमा १ करोड किन नपुगोस् ।

टप नेपालन्युजबाट 

Tuesday, May 7, 2013

बिश्वका ५ सर्वाधिक धनी व्यक्तिहरु

रामजी बलामी



हरेक वर्ष बिश्वका सर्वाधिक धनी व्यक्तिहरुको सुची प्रकाशन गर्ने फोब्र्स पत्रिकाले सन २०१३ का सर्वाधिक धनी व्यक्तिहरुको सूची हालै प्रकाशन गरेको छ । पत्रिकाले प्रकाशन गरेको सूचीमा यो वर्ष नेपाली उद्योगपति बिनोद चौधरीको नाम पनि समावेश गरिएको छ । फोब्र्स पत्रिकाले चौधरीलाई १ बिलियन अमेरिकी डलरको मालिक भन्दै १३४२ औं स्थानमा राखेका छन । उनी नेपालकै धनी व्यक्ति भएको पत्रिकाले जनाएको छ । पत्रिकाले सार्वजनिक गरेको सूची अनुसार बिश्वका सर्वाधिक धनी ५ जनाको विवरण यस्तो छ ।

१. काल्र्स स्लिम हेलु

फोब्र्स पत्रिकाले यो वर्ष सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पहिलो नम्वरमा राखिएका ब्यक्ति हुन काल्र्स स्लिम हेलु । ७३ बर्षीय यी व्यक्ति मेक्सिकोका नागरिक हुन । उनको सम्पत्ति ७३ बिलियन डलर रहेको पत्रिकाले जनाएको छ । ५ जना बालबच्चाका अभिभावक उनी सिभिल इन्जिनियरिङका विद्यार्थी हुन । पत्रिकाले नै सार्वजनिक गरेको ४ सय शक्तिशाली व्यक्तिहरुको सूचीमा पनि उनी ११ औं स्थान रहेको छ भने उनी मेक्सिकोको सबै भन्दा धनी व्यक्ति पनि हुन । अमेरिकन मोबाइल टेलिकमका मालिक उनले कम्युनिकेशन, टेक्नोलोजी, फाइनान्सीङ, रियलस्टेट, इन्फ्रास्ट्रकचर लगायतका क्षेत्रमा समेत लगानी गरेका छन । उनले अन्य विभिन्न मुलुकका प्राविधिक क्षेत्रमा समेत लगानी विस्तार गरेका छन । हाल उनी टेली कम्युनिकेशन कम्पनी टेल्मेक्स र अमेरिका मोभिलका अध्यक्ष र प्रबन्ध निर्देशक हुन । उनी सामसुङ मेक्सिको, ग्रुपो कार्साे लगायतका कम्पनीसग पनि संलग्न छन । अघिल्लो वर्ष नै उनको सम्पत्ति ६९ बिलियन डलर अनुमान गरिएको थियो ।



२. बिल गेट्स

सार्वाधिक धनी व्यक्तिहरुको सुची अन्तर्गत दोश्रो स्थानमा रहेका छन माइक्रोसफ्ट कम्पनीका बिल गेट्स । २८ अक्टुबर १९५५ मा जन्मेका उनले बिल एन्ड मेलिडा गेट्स फाउन्डेसन समेत स्थापना गरेर सामाजिक काममा हात हालेका छन । पत्रिकाले नै सार्वजनिक गरेको शक्तिशाली व्यक्तिहरुको सुचीमा उनको नाम चौथों स्थानमा रहेको छ भने अमेरिकी धनी व्यक्तिहरुको सूचीमा पहिलो नम्वरमा रहेको छन । सन २०१३ मार्च सम्म उनको सम्पत्ति ६७ बिलियन डलर पुगेको पत्रिकाले जनाएको छ । अमेरिकाको हार्वड बिश्व विद्यालयका ड्रपआउट विद्यार्थी बिल तीन सन्तानका अभिभावक हुन । उनी सामाजीक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन । मलेरिया र पोलियो जस्ता रोगहरु निर्मुल पार्नकालागि सक्रिय भएर लागि परेका छन । मातृशिशु मृत्युदर न्युनिकरण, कृषि अनुसन्धान र प्रविधि क्षेत्रको विकासकालागि उनले ठूलो सहयोग गरिरहेको छ । उनी सन १९९५ देखि २००९ सम्म सार्वधिक धनीको सूचीमा थिए । उनी क्यास्केड इन्भेस्टमेन्टका सिइओ र कर्विस कम्पनीका अध्यक्ष समेत हुन ।

३. एमेन्सिओ ओर्टेगा

फेब्र्सले सार्वजनिक गरेको सूची अनुसार तेश्रो स्थानमा रहेका छन स्पेन नागरिक एमेन्सिओ ओर्टेगा । ७६ बर्षिय यिनको सम्पत्ती ५७ बिलियन डलर रहेको जनाएको छ । तीन सन्तानका अभिभावक उनी स्पेनका सवै भन्दा धनी व्यक्ति हुन । उनलाई  धनी व्यक्तिहरुमा पनि एक वर्षमै अधिक कमाउने व्यक्तिको रुपमा लिइएको छ । म्याड्रिड, चिकागो, लण्डन, सन फ्रास्सिको र न्युयोकमा उनले लगानी गरेका छन । रेलवे स्टेशनमा काम गर्ने उनका बुबाले शुरुमा उनलाई सर्ट पसलमा काम गर्न राखेको वताइन्छ । हाल फेसन कम्पनी इन्डिटेक्स ग्रुपका सिइयो उनी ५ सन्तानका अभिभावक हुन । उत्तः कपनीले उत्पादन गर्ने जारा ब्राण्डका पोषाक निकै लोकप्रिय मानिन्छ । गत वर्ष उनको सम्पत्ती ३७ बिलियन डलर रहेको जनाएको थियो । ब्लुम्वर्ग बिलियनिर्यर इन्डेक्सले पनि उनलाई बिश्वका तेश्रो धनी व्यक्तिको रुपमा चिनाएको छ । उनका पत्नि पनि स्पेनका धनी महिलाहरुको सूचीमा अग्रस्थानका रहेकी छिन ।

४. वारेन बफेट्ट

सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा चौथों स्थानमा रहेका छन अमेरिकी नागरिक वोरन्ट बफेट्ट । फोब्र्स पत्रिकाले वारेनको सम्पत्ती ५३ दशमलव ५ बिलियन डलर रहेको जनाएको छ भने ब्लुमवर्ग डटकमको इन्डेक्स अनुसार उनको सम्पत्ती ५४ दशमलव ६ बिलियन डलर रहेको जनाएको छ । उनले कोकाकोला, अमेरिकन एक्सप्रेस, बेल्स फार्गाे, इन्सुरेन्स, ऊर्जा, सेवा लगायतका क्षेत्रमा लगानी गरेका छन । अमेरिकी स्वतन्त्रता २०११ को मेडल समेत प्राप्त यी व्यवसायीले ११ वर्षको उमेरमै शेयर खरिद गरेको विभिन्न वेबसाइटहरुले जनाएको छ । ८२ बर्षीय उनी बार्कसायर हाथवे कम्पनीका सिइओ हुन । कोलोम्बीया विश्वविद्यालयबाट विज्ञानमा स्नात्तकोत्तर र नेब्रास्का लिन्कनबाट विज्ञान र आर्टसमा स्नातक गरेका उनी बिश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा १५ औं स्थानमा रहेका छन भने अमेरिकी धनीहरुको सूचीमा दोश्रो स्थानमा रहेका छन । सामाजिक क्षेत्रमा पनि क्रियाशिल उनको गत वर्षको आम्दानी ४६ बिलियन डलर रहेको जनाएको छ ।

५. ल्यारी एल्लिसन

सार्वजनिक सूची अनुसार पाचौं स्थानमा रहेका छन अमेरिकी नागरिक ल्यारी एल्लिसन । ४३ बिलियन डलरका मालिक उनी चिकागो विश्वविद्यालयका ड्रपआउट विद्यार्थी हुन । दुइ सन्तानका अभिभावक उनले डिभोर्स समेत गरी सकेका छन । अमेरिकी धनीहरुको सूचीमा तेश्रो स्थानमा रहेका उनी बिश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा समेत तेश्रो स्थानमा रहेका छन । १७ अगष्ट १९४४ मा अमेरिकाको मन्हाटनमा जन्मेका उनी हाल क्यालिफोर्नियामा बस्छन । डाटाबेश कम्पनी ओराकल कर्पाेरेसनका सिइओ तथा सह संस्थापक उनको गत वर्षको सम्पत्ती ४१ बिलियन डलर पुगेको जनाएको थियो । उनको चौथों विवाहमा स्टेभ जब्सले फोटो खिचेको ब्लुम्वर्ग डटकमले जनाएको छ । टेनिस, गितार र प्लेन उडानमा विशेष रुची राख्ने उनले सप्mटवेयर लगायतका प्राविधिक क्षेत्रमा समेत लगानी गरेको विभिन्न वेबसाइटहरुले जनाएको छ ।

                                                                                                                                

Monday, April 29, 2013

नेपाली चलचित्रको रूप विचित्र

-रामजी बलामी

नेपाली चलचित्र जगतमा बेलाबखत विभिन्न खालका विचित्र रूपहरू देखा पर्ने गरेका छन् । केही समयअघि रंग पत्रकार विजय आवाजले लेखेको समाचारको विषयलाई लिएर नायिका सुमिना घिमिरेले दिएको अभिव्यक्तिले पुन: एकपटक नेपाली चलचित्र जगतमा एउटा विचित्र रूप देखा परेको छ । घिमिरेले ‘टाउको झोलामा र खुट्टा खोलामा’ पारिदिने भन्दै धम्की दिएसँगै यसले चलचित्रकर्मी र समग्र चलचित्र उद्योगमाथि लाग्दै गरेको बादलमा टेको दिने काम गरेको छ । कमि–कमजोरी मानव जीवनको नियमितता नै हुन् । लेखन अधिकारमाथि नै ढावासरी यस्तो अभिव्यक्ति दिनु भनेको घिमिरेले चलचित्र पर्दालाई व्यवहारमा उतार्नु हो । यसको अर्थ पत्रकार हुँ भन्दैमा जे मन लाग्यो त्यही लेख्न पाउनुपर्छ भन्न खोजिएको भने होइन । आवाजको विश्लेषणमा पनि केही कमजोरी होलान् तर त्यसवापत कारबाही गर्ने सम्बन्धित निकाय चहार्नुभन्दा फोनमार्फत वितण्डा मच्चाउनु नायिकाको चर्चामा आउने उट्पट्याङ शैली सिवाय केही पनि होइन । नेपाली चलचित्र उद्योगमा यस्ता उट्पट्याङ शैलीहरू बारम्बार दोहोरी रहन्छन । चर्चा र चलचित्र एकअर्कामा सामिप्यताको सम्बन्ध रहने भए पनि चर्चाका लागि तान्डव नृत्य देखाउने प्रवृति विगतदेखि नै कायम हुँदै आएको छ ।
लभ अफेयर, मिलन–विछोद, आरोप–प्रत्यारोप, सेक्स अपिल, एकअर्काको सम्बन्ध इत्यादि कारण चलचित्रकर्मीहरू चर्चाको शिखर चुमिरहेका हुन्छन् । बहानाबाजीमा होस् कि आपसीवादमा नै किन नहोस् पत्रकार र दर्शकको आँखामा छारो हाल्न कै लागि चर्चाको बाटो खन्न निकै सिपालु हुन्छन् भन्ने कुरा छर्लंगै देखिन्छ । चर्चाविना प्रगति असंभव ठान्नेहरूले हेक्का राख्नुपर्ने कुरो के हो भने आफ्नो खुबी, प्रतिभा, क्षमता र कला पनि तिखार्नुपर्छ । सीमा नाघेर गरिएको प्रचार र नकारात्मक प्रचारले उकालो चढ्नेभन्दा ओरालो झर्ने सम्भावना धेरै हुन्छ । मान्छे कि राम्रो काम गरेर चर्चामा आउँछ कि नराम्रो काम गरेर । बेइजतपूर्ण तबरले चर्चामा आउनुभन्दा गुमनाम बस्नु सर्वाेत्तम उपाय हो । चर्चामा आउनुभन्दा लागेको दाग मेट्न कैयाँै गुणा गाह्रो हुन्छ । तर, नेपाली चलचित्रमा थुप्रै त्यस्ता नायक/नायिका छन् जो सेक्सलाई आधार बनाएर र अरूको नक्कल गरेर चर्चामा आइरहेका छन् । आफ्नो प्रतिभाविना मरिहत्ते गरेर चर्चामा आउनेहरू केही समयपछि नै खोलामा डुबेको डुंगाभैँm बन्न थाल्छन् । जो कहिल्यै आपैँm तैरिन सक्दैनन् । यस्ता पात्रहरूका कारण प्रतिभावान कलाकारहरू समेत धमाधम यो क्षेत्रबाट बाहिरिन बाध्य भएका छन् । नायिकालाई नंग्याउँदैमा चलेका फिल्महरू पनि यस्तै हुन भन्दा फरक नपर्ला । चलचित्रलाई अर्थोआर्जन गर्ने माध्यमका रूपमा मात्रै नहेरी समग्र समाज सेवाका रूपमा पनि हेरिनुपर्छ । चलचित्र ‘पल’सँगै एक्कासी उदाएका यस्ता चलचित्रहरूले नेपाली दर्शकलाई हालसम्म त तानेका छन् तर गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड लिएर समेत जान नसक्ने अवस्था आएको दर्शकहरू स्वयंले बताउँदै आएका छन् ।
जे होस् विगतलाई ध्यानमा राखी वर्तमानलाई सकारात्मक मार्गतर्फ डोर्‍याउन सक्नु नै मानवीय गुण हो र सफलताको आधार पनि हो । त्यसैले ती चलचित्रलाई पछ्याउँदै सोही परिवेशलाई आधार बनाएर अझ यौन दृश्य खुकुलो पार्दैमा चलचित्रले उत्कृष्टता हासिल गर्छ भनेर सोच्नु मुर्खता हो । चलचित्र केवल मनोरञ्जन प्राप्त गर्ने साधन मात्रै होइन । यसले समाजलाई सही दिशातर्फ लैजान समेत पहलकदमी गर्न सक्नुपर्छ । विडम्बना चलचित्र नै विकृतीउन्मुख बनाइन्छन् भने त्यसको कथावस्तु हेरेर दर्शकले कस्तो शिक्षा पाउलान ? अनि आम समुदायमा कस्तो छाप पर्ला ? पछिल्लो समय नेपाली चलचित्र क्षेत्रले बाटो बिराउँदै गन्तब्यहीन दिशातर्फ ओरालो लागेको छ । विशेषत: यही वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सेक्सपन हावी हुँदै गएको छ । ‘लुट’ र ‘चपली हाइट’ फिल्मको आगमनसँगै फिल्मी क्षेत्रको हाइटमा ठेस लागेको छ ।
 यौन भन्ने कुरा चटनी हो नुन होइन । खानामा चटनी हुँदा स्वाद मात्रै थपिन्छ तर नुन नहुँदा खानाको अर्थ नै पूरा हँुदैन । यौन सबैका लागि आवश्यक छ तर खुल्न सकेको छैन । चलचित्र उद्योगले खुल्ने चेष्टा त गर्‍यो तर सीमा नाघेर । सञ्चार माध्यममा हुने यौन जिज्ञासा र जवाफले नै यौनलाई बुझ्न सजिलो पर्छ । नांगाबाबाको उत्ताउलोपन चलचित्रमा प्रदर्शन गर्दैमा यौन शिक्षा होइन यौनको भिक्षा माग्नेहरू बढ्ने संभावना हुन्छ । भर्खर टिनएजरमा प्रवेश गरेकाहरूले यस्ता चलचित्रबाट कस्तो शिक्षा प्राप्त गर्ला ?
‘चपली हाइट’ पछि बनेका चलचित्रहरूले आर्थिक रूपमा सम्पन्नताको पगरी पनि चुम्ला, निर्माताका लागि पनि सफल चलचित्र सावित बन्ला तर नेपाली चलचित्र उद्योगले त्यसलाई धिकार्न सिवाय स्वीकार्न सकिन्न । चलचित्र भनेको नायक/नायिकाको अंग प्रदर्शन गर्ने नभई सामाजिक यथार्थताको चित्र प्रस्तुत गर्ने माध्यम हो । सामाजिक विषयवस्तु उछिटेर बनाइएका चलचित्रलाई चलचित्रभन्दा पनि नीला फिल्मको लक्षणका रूपमा बुझ्दा अपच नहोला । यस्ता चलचित्रले न समाजलाई सकारात्मक प्रभाव पार्न सक्छ न त नायक/नायिकाको वास्तविक जीवनमै राम्रो छाप पर्छ । क्षणिक मनोरञ्जन र जोशलाई मस्तीमा रूपान्तरण गर्ने सिवाय यस्ता चलचित्रमा खेल्नुको कुनै औचित्य छैन भन्दा कसैको आपत्ति नहोला । जमानालाई पछ्याउने र समय अनुसार चल्ने बहानामा श्रीमान्/श्रीमतीसमेत सँगै बसेर हेर्न नमिल्ने चलचित्र बन्नु विडम्बना र दु:खद कुरो हो । यस्तो कुरा गर्दा विदेशी चलचित्रमा छाएको नांगोपनको कुरा उठ्न सक्छ । विकास र प्रगतिमा विकसित देशहरूको नक्कल गर्नु र उनीहरूको बाटो पछ्याउनु राम्रो कुरा हो तर नांगिने र होमिने जस्ता कार्यलाई नक्कल गर्नु कुनै हालतमा स्वभाविक मान्न सकिन्न । चलचित्र क्षेत्रमा कार्यरत चलचित्रकर्मीहरूको उद्देश्य पैसा कमाउनु मात्रै नभई समाजसेवा गर्नु पनि हो । समाज रूपान्तरणमा चलचित्रको ठूलो भूमिका रहन्छ । यदि, पैसा कमाउनकै लागि यो पेसामा होमिने हो भने भोलिका दिनमा सेक्सफिल्म सिवाय अरू चलचित्र बन्ने छैन । अनि कल्पना गरौँ नेपाली चलचित्र किन हेर्ने, कसरी हेर्ने ?
चलचित्रको भौतिक चित्रण अभिनय मात्रै भए पनि चलचित्रको सार यथार्थ नै हुनुपर्छ भन्ने मान्यता पनि छ । तर, नेपाली चलचित्रले यो मान्यतालाई कुल्चेको मात्रै छैन च्यातच्युत पारेर मिल्काउँदै छ । चलचित्र क्षेत्रको विकृतिलाई न्यूनीकरण गर्न कुनै आचारसंहिता नबनाउने र कसैले आवाज नउठाउने हो भने आगामी दिनमा नेपाली चलचित्र उद्योगबाट समाजले आस गर्न सकिने संभावना केवल सपनासावित नहोला भन्न सकिन्न ।

Thursday, April 11, 2013

नयाँ वर्षका लागि खुराक


अहिले हामी बर्ष २०६९ लाई बिदाई गर्दै वर्ष २०७० लाई स्वागत गर्न गइरहेका छौं । आइतवारसम्ममा हामी नयाँ वर्षमा प्रवेश गरि सकेका हुनेछौं । नयाँ जोश, नयाँ जाँगर र नयाँ उमँगसँगै हर्षाेलासका साथ नयाँ वर्ष मनाउँने सुरसारमा छौं । नयाँ वर्षसँग कतिपयले नयाँ योजना र नयाँ सपना संगालेका हुन्छन् । नयाँ वर्षमा संगालेका सपनालाई विपनामा रुपान्तरण गर्नका लागि उत्तिक्कै मिहेनत र परिश्रम गर्नु आवश्यक छ । नयाँ वर्षको पहिलो दिन जति रमाइलो र हर्षाेलासमय तरिकाले वित्यो बर्षभरी त्यसरी नै वित्ने छ भन्ने कथन रही आउको छ । त्यसैले नयाँ वर्षलाई जो कसैले पनि सक्दो उल्लासमय र रमाइलो बनाउँने प्रयत्न गर्नु पर्छ । यसका लागि विभिन्न उपायहरु अवलम्बन गर्न सकिन्छ । 


धार्मिक यात्रा
हिन्दु धर्मावलम्बीहरुका लागि नयाँ वर्ष एउटा चाड पनि हो । विभिन्न धार्मिक कथन र परम्परा अनुसार पनि यो दिनलाइ विशेष दिनको रुपमा लिइन्छ । त्यस कारण देवदेवताको पुजाआजा र तिर्थ जाने परम्परा रहि आएको छ । यो दिन मुलुकका विभिन्न क्षेत्रहरुमा रहेका मन्दिरहरुमा मेला लाग्ने गर्छ । काठमाडौं नजिकै पर्ने टोखामा समेत विशेष मेला लाग्ने गर्छ । मेला भर्न मुलुकका विभिन्न भागबाट समेत उल्लेखह भक्तजनहरु आउने गरेका छन । सपना तिर्थको नामले परिचित यो कुण्डमा नुहाउनँनाले घाउखटिरा नलाग्ने र रोगव्याधी निको हुने जन बिश्वास रही आएको छ ।
धार्मिक मात्रै होइन पछिल्लो समय पर्यटकीय दृष्टिकोणले समेत निकै चर्चामा रहेको यो क्षेत्रको भ्रमण पनि गर्न सकिन्छ । एकातिर धार्मिक यात्रा पनि हुने अर्काेतिर ग्रामीण परिवेश बु्झन र स्वच्छ पर्यावरणको अनुभूति संगाल्नका लागि  पनि टोखाको यात्रा रमाइलो हुन सक्छ । त्यहाँको मौलिकपनमा भिज्न र स्वस्थानी कथामा वर्णित विभिन्न क्षेत्रहरुको् अवलोकन गर्न पनि यो क्षेत्रको भ्रमण महत्वपूर्ण हुने गर्छ । यसका साथै अन्य विभिन्न धार्मिक तिर्थस्थल र मठमन्दिरहरुमा धुमफिर गरेर पनि नयाँ वर्ष मनाउँन सकिन्छ ।

पार्टीमा रमझम
समयले कोल्टे फेरेसँगै टिनएजहरु भ्रमणमा भन्दा पार्टीहरमा रमाउँन थालको छन । त्यसो नयाँ वर्ष मनाउँनका लागि विभिन्न संघसस्थाहरुको पहलमा साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना हुंदै आएका छन । विभिन्न क्लव र होटल रेष्टुरेन्टहरुले पनि न्यु इयर इभ मनाउनका लागि जोरजाम गरेका हुनछन् । यस्ता कार्यक्रमहरुमा सहभागि भएर पनि आफुलाई रिफ्रेस गराउँन सकिन्छ । यस्ता कार्यक्रमहरु विशेष गरी टिनएजलाई प्राथमिकता दिएर आयोजना गरिने हुनाले सवैका लागि उपयुक्त नहुन सक्छ । युवायुवतीहरुका लागि भने यस्तो कार्यक्रम सुन माथि सौन्दर्य सावित हुने गरेको छ । यस्तो कार्यक्रममा गएर रमाइलोको नाममा मद्यपानमा रमाउँनु कदापी हुंदैन । यस्ता कुराहरुमा भने विशेष ख्याल राख्नु पर्छ । मिलनसार साथीहरुकोसाथमा यसतो पार्टीहरुमा गएर पनि नयाँ वर्षलाई रोमाञ्चक बनाउँन सकिन्छ ।

घरायसी जमघट
बढ्दो ब्यस्तता र जीवनशैलीसँगै आफन्त, नातेदार र इष्टमित्रहरु सँगको भेटघाट समेत पातलिंदै गएको छ । प्रविधिको विकासले त झन आफन्तहरुबीचको भेटघाटको महत्व नै घटाइ दिएको छ । फोन, इमेल र फेसबुक जस्ता माध्यमले हामीहरुलाई सधै नजिक बनाइ दिउको छ । जसले गर्दा भेटिरहनु पर्ने आवश्यकताको महशुस नै हुन थालेको छ । तर यसले एउटा नयाँ संसकारको सुरुवात पनि गरि दिएको छ । खास विशेष दिन पारेर आफन्तहरुसँग घरमै बोलाई खानपिन र रमाइलो गर्ने चलनको विकास हुन थालेको छ ।
नयाँ बर्षमा पनि आफन्त, नातेदार र इष्टमित्रहरुलाई घरमा जमघट गरी रमाइलो गर्न सकिन्छ । यसले सुमधुर र निकत सम्वन्ध स्थापित मात्रै गराउँदैन सवैसँगको भेटघाटले सवैलाई आनन्दपनको आभास पनि दिलाउँछ । यसरी घरमै भेटघाट गर्दा हापँसी सम्वन्धमा निकतता छाउँनुको साथै भावना सातासात गर्ने मोका पनि मिल्छ ।

पिकनिक
यो पिकनिकको मौसम पनि हो । नयाँ वर्षको अवसर पारेर पिकनिक कार्यक्रम पनि आयोजना गर्न सकिन्छ । पिकनिक पनि रमाइलोका लागि एउटा उत्तम उपाय हो । नयाँ अनुभव र नौला अनुभूति संगाल्नका लागि पिकनिक कार्यक्रमले निकै सघाउ पु¥याउँछ । यस्तो कार्यक्रमले रमाइलो मात्रै नभएर आत्मीयपनमा समेत नजिकपन ल्याइ दिनछ । घरायसी, कार्यलय अथवा साथीभाईहरु मिलेर रमाइलो ठाउँहरुमा गएर पिकनिक गर्न सकिन्छ । पिकनिकका लागि धुलिखेल, गोदावरी, लामाटार, दामन, काभ्रे लगायत पहिले नगएका र जानै पर्ने रमाइलो ठाउँहरु छनौटमा राख्नु पर्छ । जसले तपाईलाई थप रमाइलो र रोमाञ्चक बनाइ दिन्छ ।

पर्यटकीय गन्तब्यको भ्रमण
नयाँ वर्षमा नयाँ अनुभूति संगाल्ने अर्काे तरिका हो नयाँ गन्तब्यहरुको घुमफिर । नयाँ वर्षमा लामो बिदा नहुने भएकाले नजिकका पर्यटकीय गन्तब्यहरुको घुमफिर गरेर रमाइलो गर्न सकिन्छ । यसबाट ब्यस्त दैनिकीलाई आराम दिन र नयाँ गनतब्यको वारेमा वुभ्mन पनि सघाउ पुग्नेछ । ब्यसत दैनिकीमा रेटेर थकित शरिरलाई शान्त र स्वच्छ पर्यावरणमा भुलाउँन पनि यस्ता गन्तब्यहरु निकै उत्तम हुने गर्छ । यो बर्ष नयाँ वषृको अवसरमा दुइ दिन बिदा भएकाले पनि यस्तो घुमफिरका लागि थप समय मिलेको छ । अहिले विद्यार्थीहरुको पनि फुर्सदको समय भएकाले स–परिवार घुमफिरका लागि जान सकिन्छ ।

अध्ययन
मान्छेहरुको सोख, इच्छा, चाहना र रमाइलो गर्ने तरिका थरिथरिका हुन्छन् । कतिपय लेखक, पाठक तथा विद्धान व्यक्तिहरु मन पर्ने पुस्तकको अध्ययन गरेर पनि चाडपर्व मनाउँने तथा रमाइलो गर्ने गर्दछन । अरुबेला खासै फुर्सद नहुनेका लागि यस्तो चाडपर्व अध्ययन गर्ने मौका पनि हो । लामो उपन्यास, जीवनी, कथा, विश्व घटना र तथा बिश्व प्रसिद्ध पुस्तकहरु पढेर ससर चहार्ने एउटा अवसर पनि हो नयाँ वर्ष । तसर्थ अध्ययन अनुसन्धानमा समय दिएर पनि नयाँ वर्षमा रमाइलोका साथ प्रवेश गर्न सकिन्छ । 

अन्त्यमा सम्पूर्ण पाठकहरुमा सुख, शान्ति र प्रगतीको हार्दिक मंगलमय शुभकामना  

Wednesday, April 10, 2013

चुनावी सरकारको लाचारी

रामजी बलामी

थोरै काम गरेर धेरै जश लिन सिपालु मान्छे एक दिन यस्तो नराम्रोसँग चिप्लिन्छ त्यतिखेर ऊ जीवनबाटै हारेको अनुभूति गर्न वाध्य हुन्छ । बिग्रेको कामको भारी अरूमाथि थोपर्ने र सप्रेको राम्रो कामको भारी आफूतिर पारेर जश कमाउने प्रवृत्ति यस्ता मानिसका लागि नैसर्गिक गुणभैँm बन्ने गर्छ । नेपाली राजनीतिक वृत्तमा पनि यो प्रवृत्ति हाबी मात्रै होइन पूर्णरूपमै लागू भइसकेको छ । काम बिग्रिँदा र काम गर्न नसक्दा त्यसको दोष अरूतर्फ देखाउने नियम नै बनेको छ । नेपाली राजनीतिका हरेक पल र हरेक पात्र यस्ता रोगबाट ग्रसित बन्दै आएका छन् । आधा प्रतिशतसम्मको यो नियतलाई अस्विकृत मानिए पनि योभन्दा अधिक नियतलाई विकृति मात्रै होइन वितण्डा नै भन्दा अत्युक्ति हुँदैन ।
पछिल्लो समय मध्यरातमा मुस्कान छर्दै सहमतिको रागसँगै हात उठाएर एकताको अभिनय गरेका दलहरू यतिखेर पुन: असमझदारी र
वितण्डाको मार्गमा लम्पट देखिएका छन् । नेपाली कांग्रेस महासमितिको बैठकमा केन्द्रित छ भने नेकपा (एमाले) आगामी निर्वाचनमा आफू ‘नम्बर वान’ पार्टी बन्ने उद्घोष गर्दै हिँडेको छ । उता एमाओवादी पनि आफ्नो हातको सत्ता प्रधानन्यायाधीश रेग्मीलाई सुम्पेर हाइसन्चो मानेर बसेको छ । आगामी निर्वाचनका लागि आन्तरिक तयारीमा जुटेका दलहरूलाई वैद्य माओवादी नेतृत्वका ३३ कोटी दलहरूले थोरबहुत झुलाउने र झुक्याउने चेष्टा मात्रै गरेका छैनन् निर्वाचनको म्याद तन्काउन अमूल्य भूमिका निभाउँदै छन् । वैद्य माओवादीलगायतका असन्तुष्ट दलहरू चार दलबीच भएको सहमतिको विरोध गर्दैछन् या आगामी निर्वाचनको ? राजनीतिक विश्लेषकहरू माझ राम्रै चर्चाको विषय बनिरहेको यो मुद्दाको रहस्य जे भए पनि नियत भने निर्वाचन गर्न नदिनु नै हो । तत्काल निर्वाचन हुँदा भर्खरै उदाएको पार्टीले सिट ल्याउन नसक्ला र जनतामाझ नाक छोपेर हिँड्नु पर्ला भन्ने त्रासले बन्द र तोडफोड शृंखलामा जुटेका छन् । केही समय अलप बनेको बन्द संस्कृति पुन: उदाउन थालेको छ । फेरि एकपटक बिरामी, पर्यटक, व्यवसायी र आम सर्वसाधारणले सराप्ने पात्र बनेका छन् आन्दोलनका अगुवा वैद्य माओवादी ।
असार पहिलो साता निर्वाचन गर्ने उद्घोष गरेका दलहरू यतिखेर मंसिरसम्मका लागि जुहारीमा रम्न तम्तयार देखिएका छन् । के कारणले असारमा निर्वाचन नहुने भो ? कारण स्पष्ट छैन । अल्झाउने र बल्झाउने खेलमै समयको नाश र देशको सत्यानाश गर्ने चाला कतिको सह्य होला त्यो आपैँm जानून् । असारबाट भ्यागुतासरी फुत्त उफ्रेर मंसिरसम्म पुगेको भाकाले मंसिरमा पूर्णरूप लेला भन्ने के ग्यारेन्टी ? मंसिरमा नव जोडीको लगन त जुर्छ तर निर्वाचनको लगन जुर्ने ग्यारेन्टीको कुरै छोडौँ वारेन्टी पनि छैन । दसँैलगत्तै दलहरूबीच मनमुटाव र दोहोरी चल्दाचल्दै पुन: अर्काे वर्षको असारसम्म भाकाको भ्यागुता नउफ्रिने कुनै संकेत छैन । विगतमा संविधानसभालाई सुटुक्क सुइ लगाए जस्तै निर्वाचन मितिलाई पनि सुइ लगाउँदै महिनावारी सार्ने तरखरमा छन् दलहरू । समयको महत्त्वभन्दा आफ्नो महत्त्वलाई बढी प्राथमिकतामा राखेर स्वार्थ लुट्न एकाकार नेताहरूको भित्री रहस्य कसैसामु लुकेको छैन । उनीहरूले जनतामाझ भ्रम छर्दै भित्रभित्रै सहमतिको लगन जुराएका छन् ।
मिडियालाई बन्देज लगाएर आरोपप्रत्यारोपको जुहारी खैल्दै छन् दलहरू । असारमा निर्वाचन नहुने थुप्रै लक्षणहरू दादुराको फोकाजस्तै देखापरेका छन् । पहिलो कुरा फोटोसहितको मतदाता नामावली संकलन अभियान स्थगन गर्नु, दोस्रो नेताहरू प्रत्यारोपको खेतीमा मस्त हुनु, तेस्रो दलका नेताहरू असारमा निर्वाचन नहुने उद्घोष गर्दै हिँड्नु, चौथो ड्यास माओवादीको बन्दलाई गुमनाम समर्थन जनाउनु आदि आदि । यस्ता आधार लक्षणहरूले आगामी असारमा निर्वाचन नहुने पक्कापक्की भइसकेको जनाउ दिएको छ । आखिर किन दलहरू असारमा निर्वाचनको मिति तोक्न किन सकिरहेका छैनन् ?
पहिलोपटकको संविधानसभा बेकार सावित भएकाले नेताहरू जनतासामु हात जोडेर मत माग्न थर्थरी बनेका छन् । दलका नेताहरूको अनुहारको संकेतले चोर पक्रे जस्तै नेताहरूको भाषण र बोली सुन्दा यो महागल्तीबाट क्षमा माग्न गाउँ जान सकेका छैनन् । बाध्य भएर गाउँको दैलो टेक्न गए पनि विश्वास पाउने सम्भावना झिनो मात्रै छ । त्यसकारण आगामी मंसिरसम्म गाउँजाने पूर्वाधार खडा गर्ने सुरसारमा छन् उनीहरू । गाउँमैत्री बजेट ल्याउने र निर्वाचनको माहोल तताउने सुरमा छन् यतिखेर दलहरू । बाहिर जे जस्तो हल्ला चले पनि यथार्थ योभन्दा सिन्को पनि फरक छैन । विगतमा बाँडेको भ्रमलाई बजेटमार्फत चोख्याउने र आफूभित्र रहेको त्रासलाई सम्याउने सुरसारमा लागेका छन् दलहरू । यस मामिलामा एमाओवादीलाई सबैभन्दा बढी त्रास रहेको छ किनभने उसले विगतमा नेवार, थारू, ताम्सालिङलगायतलाई थुप्रै आश्वासनको फोस्रो पोको वितरण गरेका छन् । पोको पाएर मख्ख परेका जनता पोको खाली भएको देखेपछि जुर्मुराउँदै आक्रोसित बनेका छन । हेर्दै जाउँ, आगामी निर्वाचनको घरदैलो अभियानमा जाँदा कति नेताले जनताको कुचो र चप्पलको सलाम पाउनेछन् । त्यो त समयले नै देखाउनेछ ।
संविधान सभाको म्याद थप्दा यति औँ पटक उति औँ पटक भनेर घोषणा गरे जस्तै संविधान सभाको निर्वाचन पनि गन्न नपरोस् । पहिलो पटकको निर्वाचनमार्फत ६ सय एक जनाले चार वर्ष ढुकुटी रित्याए । युद्धबाट ध्वस्त संरचना बनाउनुभन्दा बाँकी संरचना र अर्थतन्त्रलाई भत्काउन तल्लीन देखिए । विगतको पश्चात्ताप र भविष्यको चिन्तनभन्दा पनि वर्तमानलाई मनन गरेर अगाडि बढ्न सक्नुपर्छ । अहिलेको मुख्य मुद्दा भनेको निर्वाचनको मिति घोषणा नै हो । निर्वाचनकै लागि भनेर बनेको अन्तरिम चुनावी मन्त्रिपरिषद्ले बाटो बिराउँदै गएको अवस्था छ । दलहरूको पिछा लागेर आफ्नो स्वच्छ छविमाथि कालो दाग लगाउनु भनेको आफ्नो चिहान आपैँm खन्नु जस्तै हो । त्यसकारण आफ्नो दायित्व निर्धारित मितिमा पूरा गर्नु वर्तमान मन्त्रिपरिषद्को पनि पहिलो दायित्व हो । दायित्व भुलेर समय तन्काउँदै जागिरको ‘डबल अफर’ चुम्न खोज्दाको हालत पूर्व सभासदहरूको भन्दा के कम होला र ?
त्यसकारण चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराजले दलहरूको सहमतिमा मिति तोक्ने बताउनुभन्दा निर्वाचनका लागि ताकेता गर्नु र दायित्व अनुसार दलहरूलाई घच्घच्याउन सक्नुपर्छ । असारबाट मंसिरमा निर्वाचनको म्याद ‘ट्रान्सफर’ हुँदैमा निर्वाचन भइहाल्छ भन्ने के ग्यारेन्टी ? त्यसैले यदि मंसिरमा भाका
तन्काउने हो भने तिथिमिति र नैतिक दबाबसहित तन्काउनु पर्छ । अन्यथा यसरी मिति सार्ने काम जनतालाई झुलाउने र कार्यकर्तालाई भुलाउने खेल मात्रै हुनेछ । प्रधानन्यायाधीश जस्तो मान्छेले यस्तो कामलाई टुलुटुलु हेरेर बस्न कदापि सुहाउँदैन । सोझो औँलाले घ्यू नआउँदैमा सिसी फुटाउनुभन्दा औँला बंग्याउन जान्नुपर्छ । अन्त्यमा, चुनावी सरकार लाचारसावित नहोस् नयाँ वर्षको शुभकामना ।
 
सौर्य दैनिकमा प्रकाशित

Sunday, March 31, 2013

लालीगुँरासमय दामन–पालुङ



पुरानो बाटो त्रिभुवन राजपथ हुदैं करिव चार घण्टाको सवारी यात्रा पछि पुग्न सकिने दामन पालुङको भ्रमण गर्ने उपयुक्त मौसम हो यो । दामन–पालुङको जंगलहरु मात्रै होईन त्रिभुवन राजमार्ग नै लालीगुराँसमय बनेको हुन्छ वसन्त ऋतुसँगै । सुविधाको नाममा अभाव र प्रदुषित राजधानीमा हातमुख जोर्दै बसेकाहरुको पिरमर्का बिसाउँने थलो हो दामन–पालुङ । डेटिङस्पटको रुपमा समेत विकसित हुंदै आएको यो क्षेत्रमा अचेल दिनंहु पिकनिक आउँनेहरुको पनि चहलपहल निकै देखिन्छ ।


स्वर सम्रात नारायण गोपालले गाएका छन ‘म त लाली गुराँस भएछु, मनै भरि फुलिदिन्छु बनैभरि फुलिदिन्छु’ । हो बाइरोडको बाटोबाट यात्रा गर्नेहरुले यस्तै अनुभव वतुल्ने मौका मिल्छ यो मौसममा । गुराँस भन्ने वित्तिक्कै जो कोहीको मनमा पनि शान्ति र शितलताको अनुभूति हुने गर्छ । गुराँसमय बनमा एकछिन थकाई मार्न पाए थकित हाम्रो शरिरले कति आनन्द अनुभूति गर्लान ? प्रकृतीबाट निःशुल्क प्राप्त हुने त्यो अनुभूति किनेर सायद प्राप्त नहोला ।


जंगलमा फुलेका थरीथरीका लालीगुराँसलाई मनभरि फुलाउन चाहनेहरु हरेक वर्ष बाइरोडको वाटो यात्रा गर्ने गर्दछन् । यथेष्ठ प्रचार–प्रसार हुन नसक्दा प्रकृतिले दिएको यो अमुल्य वरदान समेत खेर गईरहेकोमा स्थानीय भने दुःख छन ।

गायक सविन राईले भनेझै ‘गुराँसको फेदमुनि, सम्झनाको छाँया ...निकै आनान्द अनुभूति हुने गर्छ गुराँसको छाँया पर्दा । शितलता मात्रै होईन स्वास्थ्यका दृष्तिकोणले पनि उपयुक्त मानिन्छ गुराँसलाई । पालुङ्गबाट दामनको उकालो पैदल जाने हो भने अझ बढी रमाईलो अनुभूति बतुल्न । लालीगुराँसले सिंगारिएको बाइरोडको बाटो यात्रा गर्दा निकै रोमाञ्चकता छाउँछ । साहित्यिक क्षेत्रमा कलम चलाउँनेहरुका लागि त प्रकृतीको यो देन अमुल्य ओखती नै हो भन्दा फरक नपर्ला ।

पर्यटकीय सिजनमा आन्तरिक र वाह्य पर्यटकहरुको भिड लाग्ने गरेको अनुभव सुनाउँछन स्थानीय पत्रकार राजेश श्रेष्ठ । ‘अरु वर्ष भन्दा यो वर्ष लालिगुराँस पनि धेरै फुलेका छन त्यसैले पनि होला पर्यटकहरु पहिले भन्दा निकै बढेका छन’– उनले भने ।

स्थानिय लोक गायक मुक्तीनाथ उप्रेतीले पनि ‘सिमभंज्याङको चिसो है बतास...’ भन्दै यहाँको पर्यावरणलाई माँयाप्रितीसँग तुलना गरेका थिए । हरियाली जंगल त्यसमा फुलेका राताम्मे गुराँस वरिपरिका स्वच्छ पर्यावरण र हराभरा दृश्यावलोकन कसलाई पो मन पर्दैन र ? काठमाडौबाट नजिक पर्ने यति खुराकपूर्ण स्थान रोज्नु पर्दा दामन नै पहिलो रोजाई बन्ला सायद ।
यो क्षेत्रको जंगलमा खैरो र सेता गुराँसहरु पनि पाईन्छ । अहिले त झन विभिन्न संस्थाहरुको पहलमा ‘गुराँस संरक्षण अभियान’ नै थालिएको छ जसले पर्यटकलाई थप टेवा पुगेको छ । डाँडापाखामा फुल्ने थरिथरिका लाली गुराँस र काफलको स्वादले तिर्खा र थकान मेटिने गर्दछ । यो क्षेत्रलाई नगरकोट पछिको दोश्रो पर्यटकीय स्थल भन्ने गरिए पनि नगरकोटको विकल्पको रुपमा विकास गर्न सकिन्छ ।

दामनको चर्चा र विकाससँगै त्यस क्षेत्रमा बाह्य पर्यटकको आगमनमा समेत केही वर्षयता ह्वाटै वृद्धि भएको स्थानीय पत्रकार सुरजकुमार भुजेल वताउँछन । ‘पहिलेको तुलनामा अहिले निकै पर्यटक आउँन थालेका छन’– भुजेलले भने । दामनबाट देखिने टिस्टुङ्ग, पालुङ्ग, चन्द्रागिरी, कुलेखानीको मनमोहक दृश्य र हिमश्रृंखलाको दृश्यावलोकनले सवैलाई चकित तुल्याउँछ । स्वच्छ पर्यावरणका अलावा यस क्षेत्रमा ऋषेश्वर महादेव लगायतका पौराणीक तथा ऐतिहासीक महत्व बोकेका क्षेत्रहरु अवलोकन गर्न सकिन्छ ।

हरेक वर्ष जस्तो दामन–सिम्भञ्ज्याङमा पर्ने हिउ होस वा वरिपरि ढक्कमक्क फुलीरहेका लालीगुँरास सवैले आगुन्तुकको मन जितेकै हुन्छ । त्यसो त पिकनिक सिजनमा त्यंहाका व्यापारीहरुको मुख उज्यालो देखिन्छ लालीगुराँस फुले झै । पहिले बाईरोडको बाटोमा धुलो उदाउदै..... भनिए पनि हाल त्यंहाको अवस्था त्यस्तो छैन । मोटरबाईक होस वा सार्वजनिक बस र माइक्रो वा चिल्ला कार सवै सरर गुड्छन । बाइरोडको बाटोमा बालवालिकाहरु लालीगुराँसमा भविष्य खोजिरहेका भेटिन्छन ।

यस क्षेत्रका दामन, पालुङ, टिष्टुङ, बज्रबाराही, चित्लाङ, मार्खु, आग्रा, कुलेखानी तथा आँसपासका ग्रामीण क्षेत्रहरु प्रमुख पर्यटकीय क्षेत्रहरु हुन । विभिन्न हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न दामनको भ्यू टावर, कुलेखानीको मानवनिर्मित ताल इन्द्र सरोवर, चित्लाङको अशोककालिन चैत्य, लघु उपत्यका बज्रवाराही, ऐतिहासिक शिलालेख, हिन्दु र बौद्धमार्गीहरुको एउटै आस्थाको केन्द्र ऋषेश्वर मन्दिर, ऐतिहासिक पाण्डुकेश्वर मन्दिर जस्ता स्थलहरु यथेष्ठ पर्यटन उद्योगका सम्भावनाका स्रोतहरु हुन ।
लालीगुराँले बनजंगल राताम्मे देखिने यो मौसम बाइरोडको वाटोमा यात्रा गर्दा बेग्लै संसारमा पुगेको अनुभूति हुने गर्छ । समय अभावका कारण टाढाको यात्रा गर्न नसक्नेहरुका लागि पनि यो एउटा गतिलो क्षेत्र हो ।


Thursday, March 21, 2013

चोली ताक्ने होली !


ब्यंग्य




होली रे होली
कपडा खोली
रमाइलो भन्दै 
ताक्छन है चोली





दश दिने दशैलाई कपडा झै छोट्याएर तीन दिन मनाउँन थालिसके तर एकदिने होलीलाई कोट्याई–कोट्याई हप्तौ दिन हान्न थालिसके । अरु संस्कृतिलाई स्मृतिमा सीमित राख्ने टिनएजहरु होलीलाई भने टोली बनाइ मनाउँछन । होलीका दिन मात्रै होइन हप्ता अघिदेखि होलीमा मस्त टोलीको नजरमा पर्नेहरुले चोली जोगाउँनै मुस्किल हुन्छ ।

चोली ताकेर होली खेल्नेहरुका कारण गर्लफ्रेन्डहरु नजरबन्दमा पर्छन । अरुको नजर पर्दा आँखा लाग्ने होइन ढलमतीको दाग लाग्छ । उस्तै परे रेस्टरुमको टेस्ट चखाउँन पनि पछि पर्दैनन् । डेटिङ, सेटिङ र हेटिङ हप्ता दिनदेखि नाकाबन्दी झै ठप्पै हुन्छ । भेट्न नपाइ गर्लम्म आँखा चिम्लिनेहरु होलीमा भोलि–भोलि भन्दै नारा लगाउँदै फेसबुके डेटिङमा मस्त हुन्छन् । 

चोक, गल्ली, कौसी, कुना–कन्दरा हिड्न थाले पोका पन्तुरा असिनासरी बर्सि हाल्छ । तरुनीलाई धुरुक्क रुनी बनाउन पाए गललल हाँस्नेहरु चोली भिजेको देख्ना साथ भाले झै बास्छन । हुन त भाले बासेको नराम्रो कसैले भनेको छैन । पोथी बाँसेको पो नराम्रो भन्छन क्यारे ! यसो भन्दैमा अधिकारलाई एकाधिकार बनाउँन कहाँ मिल्यो र भालेज्युहरु ? भाले पनि त दिउँसो बास्यो भने ज्यान मासिदिन्छन नि होइन ?

चोलीलाई ताकेर पोका बर्साउँदा घोका जत्रो फोका उठ्छ । होलीको गोलीले चोली ताक्दा अन्त परे त दुख्ला सुक्ला आँखा, नाक, कान, शिरमा परे के गती होला ? अरुलाई ताक्दा कहिलेकाँही आफैलाई पनि लाग्छ । आँखालाई तरुनीरुपी बनाइ रहंदा आफ्नो पाइला कहाँ पुगे भनेर पत्तो हुन्न । पत्तोबिनै अरुलाई अत्तो थाप्न खोज्दा आफै गर्लम्म ढल्न सक्छ । आफु ताक्छु मुढा वञ्चरो ताक्छ घुंडा भने झै आफु ताक्छु चोली गुडाँ ताक्छ सोली हुन सक्छ । 

लुक्दै भुक्दै थुक्नेहरुले नेपाली प्रहरीलाई हरिी–हरि पार्छन । हरिबिजोग भएर हिँड्नेहरुलाई समात्दा–समात्दा आफै कायल हुन्छन तर कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा हाले नि बाँगोको बांगै । दुइ जना चढ्ने बाइकमा चारजना टाँसिएर हुँइकिन्छन, हँुइकिएकै सुरमा कहिलेकाँही स्वर्गतिर सुँइकिन्छन पनि  । बाउबाजेले भूत यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर कल्पनामै चित्त वुझाउँनेहरुले होलीमा शहर डुल्दा हुन्छ । भूतरुपी मुहार नै भूतको अनुहार भनेर वुभ्mदा फरक पर्दैन ।

सजिने, रंगिने र जंगिनेहरुले राजधानीलाई स्वधानी ठान्छन । जतिसुकै ऐन कानुन बनाए नि के भो र, खाने र जानेलाई कस्को केही नलाग्दो रै’छ । धर्मले पाको कर्मले खाको भन्दै तान्नेहरुलाई हान्ने को ? नेवारहरुको समयवजीमा अयला अनिवार्य भए जस्तै शविरात्री र होलीमा तानतुन अनिवार्य नै मान्छन क्यारे । शिवरात्रीका दिन जंगलमा बाबाहरुको ब्यापार राम्रै हुन्छन् । यता दक्षिणा नि पाइने उता गतिला ब्यापार पनि हुने भए पछि साँधु बन्न के को लाज ?
शिवरात्रीको जात्रा गाँजाको ब्यापार भने पनि होलीका लागि जोरजाम शिवरात्रीमै हुने रै’छ । होलीको रंगमा जोश भर्न सहारा हो भन्दै झुम्म हुनेहरुलाई खै कसले छुने ? हुन पनि यो धर्मैले पाएको हो क्यारे ।

उहिले अबिरले होली खेल्थे । न कसैले कसैलाई ठेल्थे न कसैले कसैलाई पेल्थे । हुन त उहिलेको कुरा खुइले भन्ने जमानामा कुरो पनि अलि सुहाएन होला । बास्तबमा सुहाउनु परेको पनि छैन किनभने होली भनेको असुहाउँदो पर्व हो । विचित्र रंग र विचित्र भेषले झकिझकाउमा विकाउ हुने बेलाँ के पो सुहाउँछ र ?

चोली ताकेर होली खेल्दा मामाघरको डोली चढ्नेहरु पनि हुन्छन् । मस्तीको नाममा जबरजस्ती गरे पछि मामाघरमा पाइला नटेकी सुखै छैन । जे होस होली खेल्ने बहानामा डोली चढेर मामाघर र यमघर कसैले जानु नपरोस्– शुभकामना ।

कान्तिपुर साप्ताहिकमा प्रकाशित

Wednesday, March 20, 2013

अकुपाइ बालुवाटार अभियानमा एमाओवादी प्रवृत्ति



-रामजी बलामी
हिलोपटक मुलुकमा स्वतन्त्र नेपालीले मन्त्रिपरिषद्को अध्यक्षता गर्ने जिम्मेवारी पाएका छन् । यसलाई समयको माग भने पनि राजनीतिक दलहरूको असामथ्र्यको उपज भने पनि यो एउटा कायापल्ट भने अवश्य हो । प्रधानन्यायाधीशबाट मन्त्रिपरिषद्को अध्यक्षमा बढुवा पाएका भाग्यमानी खिलराज रेग्मीको बारेमा वादविवाद जुन मात्रामा चलिरहेका छन् त्योभन्दा कठिन र कष्टप्रद छ उनको आगामी यात्रा ।
राजनीतिक वृतमा स्वतन्त्र व्यक्तिको उदय र चुनावी सरगर्मी बढीरहँदा अकुपाइ बालुवाटार अभियानमा सरिक व्यक्तिहरू भने आफ्नो अभियानप्रति सरकारले वास्तै नगरेको आरोप लगाइरहेका छन् । हुन पनि महिनौ दिनदेखि जारी यो अभियानका बारेमा न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक शब्द बोल्न भ्याए न त कुनै राजनैतिक दलहरूको आश्वासन नै पाए । बरु भट्टराईले बेला न कुबेला द्वन्द्वकालको मुद्दा ब्युँझाउन र शान्ति प्रक्रिया भाँड्न यो नाटक मञ्चन गरिएको आरोप ह्वार्रह्वार्टी खन्याए ।
यो आरोपमा सत्यताभन्दा बचाउपनको अभास कम छ वा बढी दैव जानून् । ढुंगेल लक्षित तत्कालीन प्रधानमन्त्री भट्टराईको वाणले अभियानमा सरिक सबैको घाउमा नुन छर्ने काम मात्रै भएन अझै सशक्त आन्दोलन गर्न बल पुग्यो । त्यसो त त्यहाँ सहभागिहरूको जमात मात्रै बढेको छैन मुहारमा आक्रोशसमेत उत्तिकै बढेका छन् । प्रहरीको हस्तक्षेप होस् अथवा माओवादी हस्तक्षेप जे भए पनि उनीहरू न्यायको खोजी गर्दै भौँतारिरहेका छन् । ‘न्याय नपाए गोरखा जानु’ भन्ने उक्तिले उनीहरूलाई गिज्याइरहेको छ । गोरखाबाटै चुनाव जितेर प्रधानमन्त्री भएका डा. बाबुरामका पालमासमेत पीडितले न्याय पाउन सकेनन् । बरु न्याय पाउनुभन्दा बढी कष्ट पाएपछि सराप्नुको अर्काे विकल्प देखेनन् उनीहरूले ।
उनीहरूको अभियानलाई साथ दिएका मानव अधिकारीवादीहरूलाई डलरवादीको संज्ञा दिन थालिएको छ । आफूले भने जस्तो भए उनैलाई दाहिना राख्ने नभए यस्ता र उस्ता भनेर आरोप खन्याउने बानी नानीदेखिकै हो । नानीदेखिका बानी तत्काल एमाओवादीले पनि त्याग्न सकेन । डलरवादी सोच उनीहरूकै लागि एक हिसाबले ‘ठीकै’ पनि होला तर सत्यलाई साथ दिनु उनीहरूको पनि दायित्व हो । यसले उनीहरूमा आफ्नो घर पनि नबनाउने र अरूको घर पनि भत्काउादै हिंड्ने प्रवृत्ति अझै हट्न नसकेको पुष्टि गर्छ । विगतमा जस्तो तर्साएर तर्सिने खालका छैनन् अब नेपाली जनता ।
अभियानकर्ताहरूसाग वार्ता र छलफलभन्दा पनि खनिने र प्रतिकार गर्ने क्रम बढ्दै गएको छ । सिंगो पार्टी नै अदालतको आदेशविपरीत अपराधी जोगाउनमा तल्लीन देखिएको छ । सर्वोच्च अदालतबाट दोषी ठहर्‍याइएका बालकृष्ण ढुंगेललाई कााधमा बोकेर रमिता देखाउनसमेत पछि परेका छैनन् । विवादकै लागि विवाद गर्न तर्क अघि सार्नुको न अर्थ न व्यर्थ । औचित्यहीन तर्क र तथ्यमा आधारित यस्ता कुराले एमाओवादीमा साख गुम्ला कि भन्ने डर व्याप्त रहेको पुष्टि हुन्छ । अर्काे कुरा फरार सूचीमा रहेका व्यक्तिलाई सुरक्षा दिन तल्लीन प्रशासनले बेपत्ता नागरिक कसरी पत्ता लगाउँदा हुन र खै ?
‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने उक्तिले यो घटनालाई राम्रैसाग पुष्टि गरिदिएको छ । नेताका अगाडि न्याय र कानुन झुकाउने हो भने मुलुकमा गणतन्त्र र राणातन्त्रबीच के भिन्नता रह्यो र ? यस्तै नियत र प्रवृत्तिले नै आन्दोलनको सूत्रपात हुने हो । हेक्का रहोस् आन्दोलनको उद्घाटन झिनामसिना कुरोबाटै हुने हो । चुरोटको ठुटोले पनि ठूलै क्षति पुर्‍याउन सक्छ भन्ने बुझ्न जरुरी छ । त्यसकारण यसलाई बेवास्ता गर्न हुँदैन । समस्यालाई जसरी होस समाधान गर्नतिर लाग्नुपर्छ अन्यथा जब यसले ठूलो रूप लिन्छ तब समाधान असम्भव हुन्छ । कार्यकर्ताले पनि तबसम्म साथ दिन्छन् जबसम्म सहनुको सीमाभित्र हुन्छ । कुनै पनि दलका नेता कार्यकर्ताको आडमा होइन कि जनताको मतले चुनिन्छ । त्यसकारण जनता भनेकै कार्यकर्ता हुन भन्ने भ्रम पाल्नु ‘आफ्नै खुट्टामा बन्चरो हान्नु’ सरह हो ।
यहाा ढुंगेलप्रति विष खन्याउन लागेको होइन सर्वाेच्चको निर्णयमाथि एमाओवादी ढावाको बारेमा मात्रै शब्द खर्चेको हुँ । ढुंगेलको तर्क छ, व्यक्ति हत्या हुँदा उनी जेल जीवन बिताइरहेका थिए, त्यसमाथि यो जनयुद्धताकाको मुद्दा हो । विस्तृत शान्ति सम्झौताअनुसार युद्धकालीन मुद्दा फिर्ता लिने सर्त बमोजिम बालकृष्ण ढुंगेलले राहत पाउनुपर्छ । यसमा कसैको विमति नहोला । यति मात्रै होइन अकुपाइ अभियानले उनको इज्जतमा लागेको दागवापतको क्षतिपूर्तिसमेत पाउनुपर्छ ।
यो एउटा पक्ष भयो तर योभन्दा जटिल र गहिरो पक्ष हो सर्वाेच्चको फैसला । यदि अदालतले उनलाई दोषी ठहर नगरिदिएको भए सायद यो कुरालाई बितेका कुराको उपमा दिन तम्सिन्थे पनि होला । तर, कुरोको चुरो यतिले मात्रै पुगेन । फैसलासँगै ढुंगेल अपराधी हुन भन्ने कुरा घामसरि छर्लंग भएको छ । मुलुकको सर्वाेच्च न्यायिक निकाय नै न्यायको पक्षमा उभिएपछि गुन्डागर्दी र राजनीतिक दलहरूको आडमा संरक्षण गर्न खोज्नु कुनै हालतमा स्वीकार्य हुन्न । यसकारण पनि माओवादीले अकुपाइ अभियानलाई सलाम चढाउँदा पार्टीलाई बेफाइदा गर्दैन । बरु टिकाउने नीतिले पार्टीमा संकुचन र संक्रमण बढ्दै जान्छ ।
एमाओवादीले अभियानलाई लगाएको डलरवादी नारा आफ्नै लागि स्वीकार्य होला तर नेपाली जनताका लागि अपच हुने देखिन्छ । सीमा नाघेको यो भाषणले अभियानमा सरिक हुनेहरूलाई मात्रै होइन मृतात्मालाई समेत पोलिरहेको छ । हत्या स्विकारीसकेकालाई त जोगाउन सरकारी बल बित्तासरि उपयोग गर्न खोज्नेले हत्या स्विकारै नगरेका व्यक्तिलाई जोगाउनु कुनै आइतबारे कुरो होइन । निर्धक्क भएर चुनावका लागि तयार हुनुहोस् जनताले सबैको मूल्यांकन गरिदिनेछ तर चुनावमा जनताले निर्धक्क भोट हाल्ने वातावरण मात्रै सिर्जना हुनुपर्छ ।
ढुंगेल प्रकरणमा माओवादी रणनीति ठ्याक्कै यस्तै छ भनेर शब्द खर्चिहाल्न आवश्यक देख्दिन । महिला हिंसा र बलत्कारको तारन्तार समाचारसागै अकुपाइ बालुवाटार अभियान थालिएको हो । अभियानमा वर्तमान मात्रै नभएर तत्कालीन समयका न्यायका आशावादीहरूको पनि उत्तिकै सहभागिता रहेका् छ । छोरीमैयाँ महर्जन जो एक वर्ष अघिदेखि बेपत्ता छिन् । उनको खोजी र परिवारप्रति न सरकार तल्लीन देखिए र न आश्वासन नै पाए । न्यायको खोजीमा बारम्बार भाँैतारिरहेका उनका छोरीहरूको गहभरीको आासुले मुलुकमा शान्ति सुव्यवस्था काम नभएको र पावरवालाकै मात्र मुलुक बन्न पुगेको आभास हुन थालेको छ । माओवादीकै शब्दमा भन्नु पर्दा के छोरीमैयाँका छोरीहरू पनि डलर खानकै लागि अभियानमा गएका होलान् ?
आन्दोलन उक्साएको र शान्ति प्रक्रिया भाँड्न खोजेको अभियानमा माओवादी कार्यकर्ताले हस्तक्षेप गरेपछि यसलाई आ–आफ्नै कोणबाट व्याख्या र विश्लेषण गर्न थालेका छन् । हस्तक्षेपलाई स्वाभाविक ठान्नु अथवा जंगली प्रवृत्ति ठान्नु सबैले बुझेकै कुरा हुन् । हस्तक्षेपले समाधान होइन ज्वालामुखी विस्फोट गराउाछ भन्ने कुरा राजनीति पढेका हुन भने भनिरहनु पक्कै पर्दैन । त्यसकारण न्यायको खोजीमा बालुवाटार पुगेका जनतालाई चोट होइन राहत दिलाउनतिर लाग्नुपर्छ । यदि अकुपाइको नाममा डलरको खेती गर्न लागेको ‘साँच्चै’ हो भने यसको पनि विरोध गर्नुपर्छ ।
सौर्य दैनिकमा प्रकाशित् 
                                                                                                rbalami2008@gmail.com

Monday, March 18, 2013

मिस नेपाल २०१३ मा बलामी



मिस बलामी २०११ को उपाधि विजेता सुजता बलामीले मिस नेपाल २०१३ मा प्रतिस्पर्धा गर्दै छिन ।
 उनले बलामी जातिको मात्रै नभएर समग्र मकवानपुरकै प्रतिनिधित्व गर्दै छिन । प्रतियोगिताको सातौं प्रतिस्पर्धी सुजता बलामीको जित हुनु समग्र मकवानपुर वासी कै जित भएकाले उनलाई जिताउँन सहयोग गर्नु मकवानपुरवासीको दायित्व पनि हो । कुनै बेला अशिक्षित र पिछडिएका समुदाय भनेर समेत चिनाइएको बलामी जातिका लागि त सुजताको सहभागिता निकै गर्वको कुरा हो । उनको जितले बलामी जातिको पहिचान स्थापितका लागि महत्वपुर्ण योगदान रहने छ नै साथसाथै समग्र मकवानपुर जिल्लाकै लागि पनि गौरवको विषय बनेको छ ।

समग्र मकवानपुर जिल्लाको पहिचान स्थापित गर्नका लागि पनि उनको जितले थप ऊर्जा मिल्ने छ । सुजतालाई भोट गर्नका लागि राष्ट्रिय बलामी समाजले पनि टिष्टुङ, बज्रवाराही, चित्लाङ, नुवाकोट, हेटौडा लगायतका क्षेत्रहरुमा पर्चा तथा ब्यानर वितरण गरेको छ ।

फेसबुकमा पनि बलामी सोसाइटी ग्रुपमा गइ विस्तृत जानकारी प्राप्त गर्न सक्नु हुनेछ । भविष्यमा सामाजिक सेवामा सक्रिय रहने दृढ इच्छा व्यक्त गरेका छन सुजताले । उनलाई जिताउँन सक्दो प्रचार प्रसार र अमुल्य भोट गर्नु हामी सवैको दायित्व पनि हो ।

सुजतालाई भोट गर्नका लागि एफएमएन टाइप गरी एक स्पेश छोडेर ०७ टाइप गरी २७२२ मा पठाउँन सक्नु हुन्छ । एसएमएस गर्ने भोली अन्तिम दिन हो । यो वर्षको मिस नेपालमा पुर्व मेचीदेखि पश्चिम  महाकालीसम्मका गरी १८ जनाले प्रतिस्पर्धा गर्दै छिन । तपाईको एक मतले हामी सबै मकवानपुरकै गर्वको रुपमा स्थापित हुन सक्छ त्यसैले तपाईहरुको अमुल्य भोटका लागि हार्दिक अनुरोध गर्दछौ ।