हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Sunday, March 31, 2013

लालीगुँरासमय दामन–पालुङ



पुरानो बाटो त्रिभुवन राजपथ हुदैं करिव चार घण्टाको सवारी यात्रा पछि पुग्न सकिने दामन पालुङको भ्रमण गर्ने उपयुक्त मौसम हो यो । दामन–पालुङको जंगलहरु मात्रै होईन त्रिभुवन राजमार्ग नै लालीगुराँसमय बनेको हुन्छ वसन्त ऋतुसँगै । सुविधाको नाममा अभाव र प्रदुषित राजधानीमा हातमुख जोर्दै बसेकाहरुको पिरमर्का बिसाउँने थलो हो दामन–पालुङ । डेटिङस्पटको रुपमा समेत विकसित हुंदै आएको यो क्षेत्रमा अचेल दिनंहु पिकनिक आउँनेहरुको पनि चहलपहल निकै देखिन्छ ।


स्वर सम्रात नारायण गोपालले गाएका छन ‘म त लाली गुराँस भएछु, मनै भरि फुलिदिन्छु बनैभरि फुलिदिन्छु’ । हो बाइरोडको बाटोबाट यात्रा गर्नेहरुले यस्तै अनुभव वतुल्ने मौका मिल्छ यो मौसममा । गुराँस भन्ने वित्तिक्कै जो कोहीको मनमा पनि शान्ति र शितलताको अनुभूति हुने गर्छ । गुराँसमय बनमा एकछिन थकाई मार्न पाए थकित हाम्रो शरिरले कति आनन्द अनुभूति गर्लान ? प्रकृतीबाट निःशुल्क प्राप्त हुने त्यो अनुभूति किनेर सायद प्राप्त नहोला ।


जंगलमा फुलेका थरीथरीका लालीगुराँसलाई मनभरि फुलाउन चाहनेहरु हरेक वर्ष बाइरोडको वाटो यात्रा गर्ने गर्दछन् । यथेष्ठ प्रचार–प्रसार हुन नसक्दा प्रकृतिले दिएको यो अमुल्य वरदान समेत खेर गईरहेकोमा स्थानीय भने दुःख छन ।

गायक सविन राईले भनेझै ‘गुराँसको फेदमुनि, सम्झनाको छाँया ...निकै आनान्द अनुभूति हुने गर्छ गुराँसको छाँया पर्दा । शितलता मात्रै होईन स्वास्थ्यका दृष्तिकोणले पनि उपयुक्त मानिन्छ गुराँसलाई । पालुङ्गबाट दामनको उकालो पैदल जाने हो भने अझ बढी रमाईलो अनुभूति बतुल्न । लालीगुराँसले सिंगारिएको बाइरोडको बाटो यात्रा गर्दा निकै रोमाञ्चकता छाउँछ । साहित्यिक क्षेत्रमा कलम चलाउँनेहरुका लागि त प्रकृतीको यो देन अमुल्य ओखती नै हो भन्दा फरक नपर्ला ।

पर्यटकीय सिजनमा आन्तरिक र वाह्य पर्यटकहरुको भिड लाग्ने गरेको अनुभव सुनाउँछन स्थानीय पत्रकार राजेश श्रेष्ठ । ‘अरु वर्ष भन्दा यो वर्ष लालिगुराँस पनि धेरै फुलेका छन त्यसैले पनि होला पर्यटकहरु पहिले भन्दा निकै बढेका छन’– उनले भने ।

स्थानिय लोक गायक मुक्तीनाथ उप्रेतीले पनि ‘सिमभंज्याङको चिसो है बतास...’ भन्दै यहाँको पर्यावरणलाई माँयाप्रितीसँग तुलना गरेका थिए । हरियाली जंगल त्यसमा फुलेका राताम्मे गुराँस वरिपरिका स्वच्छ पर्यावरण र हराभरा दृश्यावलोकन कसलाई पो मन पर्दैन र ? काठमाडौबाट नजिक पर्ने यति खुराकपूर्ण स्थान रोज्नु पर्दा दामन नै पहिलो रोजाई बन्ला सायद ।
यो क्षेत्रको जंगलमा खैरो र सेता गुराँसहरु पनि पाईन्छ । अहिले त झन विभिन्न संस्थाहरुको पहलमा ‘गुराँस संरक्षण अभियान’ नै थालिएको छ जसले पर्यटकलाई थप टेवा पुगेको छ । डाँडापाखामा फुल्ने थरिथरिका लाली गुराँस र काफलको स्वादले तिर्खा र थकान मेटिने गर्दछ । यो क्षेत्रलाई नगरकोट पछिको दोश्रो पर्यटकीय स्थल भन्ने गरिए पनि नगरकोटको विकल्पको रुपमा विकास गर्न सकिन्छ ।

दामनको चर्चा र विकाससँगै त्यस क्षेत्रमा बाह्य पर्यटकको आगमनमा समेत केही वर्षयता ह्वाटै वृद्धि भएको स्थानीय पत्रकार सुरजकुमार भुजेल वताउँछन । ‘पहिलेको तुलनामा अहिले निकै पर्यटक आउँन थालेका छन’– भुजेलले भने । दामनबाट देखिने टिस्टुङ्ग, पालुङ्ग, चन्द्रागिरी, कुलेखानीको मनमोहक दृश्य र हिमश्रृंखलाको दृश्यावलोकनले सवैलाई चकित तुल्याउँछ । स्वच्छ पर्यावरणका अलावा यस क्षेत्रमा ऋषेश्वर महादेव लगायतका पौराणीक तथा ऐतिहासीक महत्व बोकेका क्षेत्रहरु अवलोकन गर्न सकिन्छ ।

हरेक वर्ष जस्तो दामन–सिम्भञ्ज्याङमा पर्ने हिउ होस वा वरिपरि ढक्कमक्क फुलीरहेका लालीगुँरास सवैले आगुन्तुकको मन जितेकै हुन्छ । त्यसो त पिकनिक सिजनमा त्यंहाका व्यापारीहरुको मुख उज्यालो देखिन्छ लालीगुराँस फुले झै । पहिले बाईरोडको बाटोमा धुलो उदाउदै..... भनिए पनि हाल त्यंहाको अवस्था त्यस्तो छैन । मोटरबाईक होस वा सार्वजनिक बस र माइक्रो वा चिल्ला कार सवै सरर गुड्छन । बाइरोडको बाटोमा बालवालिकाहरु लालीगुराँसमा भविष्य खोजिरहेका भेटिन्छन ।

यस क्षेत्रका दामन, पालुङ, टिष्टुङ, बज्रबाराही, चित्लाङ, मार्खु, आग्रा, कुलेखानी तथा आँसपासका ग्रामीण क्षेत्रहरु प्रमुख पर्यटकीय क्षेत्रहरु हुन । विभिन्न हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न दामनको भ्यू टावर, कुलेखानीको मानवनिर्मित ताल इन्द्र सरोवर, चित्लाङको अशोककालिन चैत्य, लघु उपत्यका बज्रवाराही, ऐतिहासिक शिलालेख, हिन्दु र बौद्धमार्गीहरुको एउटै आस्थाको केन्द्र ऋषेश्वर मन्दिर, ऐतिहासिक पाण्डुकेश्वर मन्दिर जस्ता स्थलहरु यथेष्ठ पर्यटन उद्योगका सम्भावनाका स्रोतहरु हुन ।
लालीगुराँले बनजंगल राताम्मे देखिने यो मौसम बाइरोडको वाटोमा यात्रा गर्दा बेग्लै संसारमा पुगेको अनुभूति हुने गर्छ । समय अभावका कारण टाढाको यात्रा गर्न नसक्नेहरुका लागि पनि यो एउटा गतिलो क्षेत्र हो ।


Thursday, March 21, 2013

चोली ताक्ने होली !


ब्यंग्य




होली रे होली
कपडा खोली
रमाइलो भन्दै 
ताक्छन है चोली





दश दिने दशैलाई कपडा झै छोट्याएर तीन दिन मनाउँन थालिसके तर एकदिने होलीलाई कोट्याई–कोट्याई हप्तौ दिन हान्न थालिसके । अरु संस्कृतिलाई स्मृतिमा सीमित राख्ने टिनएजहरु होलीलाई भने टोली बनाइ मनाउँछन । होलीका दिन मात्रै होइन हप्ता अघिदेखि होलीमा मस्त टोलीको नजरमा पर्नेहरुले चोली जोगाउँनै मुस्किल हुन्छ ।

चोली ताकेर होली खेल्नेहरुका कारण गर्लफ्रेन्डहरु नजरबन्दमा पर्छन । अरुको नजर पर्दा आँखा लाग्ने होइन ढलमतीको दाग लाग्छ । उस्तै परे रेस्टरुमको टेस्ट चखाउँन पनि पछि पर्दैनन् । डेटिङ, सेटिङ र हेटिङ हप्ता दिनदेखि नाकाबन्दी झै ठप्पै हुन्छ । भेट्न नपाइ गर्लम्म आँखा चिम्लिनेहरु होलीमा भोलि–भोलि भन्दै नारा लगाउँदै फेसबुके डेटिङमा मस्त हुन्छन् । 

चोक, गल्ली, कौसी, कुना–कन्दरा हिड्न थाले पोका पन्तुरा असिनासरी बर्सि हाल्छ । तरुनीलाई धुरुक्क रुनी बनाउन पाए गललल हाँस्नेहरु चोली भिजेको देख्ना साथ भाले झै बास्छन । हुन त भाले बासेको नराम्रो कसैले भनेको छैन । पोथी बाँसेको पो नराम्रो भन्छन क्यारे ! यसो भन्दैमा अधिकारलाई एकाधिकार बनाउँन कहाँ मिल्यो र भालेज्युहरु ? भाले पनि त दिउँसो बास्यो भने ज्यान मासिदिन्छन नि होइन ?

चोलीलाई ताकेर पोका बर्साउँदा घोका जत्रो फोका उठ्छ । होलीको गोलीले चोली ताक्दा अन्त परे त दुख्ला सुक्ला आँखा, नाक, कान, शिरमा परे के गती होला ? अरुलाई ताक्दा कहिलेकाँही आफैलाई पनि लाग्छ । आँखालाई तरुनीरुपी बनाइ रहंदा आफ्नो पाइला कहाँ पुगे भनेर पत्तो हुन्न । पत्तोबिनै अरुलाई अत्तो थाप्न खोज्दा आफै गर्लम्म ढल्न सक्छ । आफु ताक्छु मुढा वञ्चरो ताक्छ घुंडा भने झै आफु ताक्छु चोली गुडाँ ताक्छ सोली हुन सक्छ । 

लुक्दै भुक्दै थुक्नेहरुले नेपाली प्रहरीलाई हरिी–हरि पार्छन । हरिबिजोग भएर हिँड्नेहरुलाई समात्दा–समात्दा आफै कायल हुन्छन तर कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा हाले नि बाँगोको बांगै । दुइ जना चढ्ने बाइकमा चारजना टाँसिएर हुँइकिन्छन, हँुइकिएकै सुरमा कहिलेकाँही स्वर्गतिर सुँइकिन्छन पनि  । बाउबाजेले भूत यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर कल्पनामै चित्त वुझाउँनेहरुले होलीमा शहर डुल्दा हुन्छ । भूतरुपी मुहार नै भूतको अनुहार भनेर वुभ्mदा फरक पर्दैन ।

सजिने, रंगिने र जंगिनेहरुले राजधानीलाई स्वधानी ठान्छन । जतिसुकै ऐन कानुन बनाए नि के भो र, खाने र जानेलाई कस्को केही नलाग्दो रै’छ । धर्मले पाको कर्मले खाको भन्दै तान्नेहरुलाई हान्ने को ? नेवारहरुको समयवजीमा अयला अनिवार्य भए जस्तै शविरात्री र होलीमा तानतुन अनिवार्य नै मान्छन क्यारे । शिवरात्रीका दिन जंगलमा बाबाहरुको ब्यापार राम्रै हुन्छन् । यता दक्षिणा नि पाइने उता गतिला ब्यापार पनि हुने भए पछि साँधु बन्न के को लाज ?
शिवरात्रीको जात्रा गाँजाको ब्यापार भने पनि होलीका लागि जोरजाम शिवरात्रीमै हुने रै’छ । होलीको रंगमा जोश भर्न सहारा हो भन्दै झुम्म हुनेहरुलाई खै कसले छुने ? हुन पनि यो धर्मैले पाएको हो क्यारे ।

उहिले अबिरले होली खेल्थे । न कसैले कसैलाई ठेल्थे न कसैले कसैलाई पेल्थे । हुन त उहिलेको कुरा खुइले भन्ने जमानामा कुरो पनि अलि सुहाएन होला । बास्तबमा सुहाउनु परेको पनि छैन किनभने होली भनेको असुहाउँदो पर्व हो । विचित्र रंग र विचित्र भेषले झकिझकाउमा विकाउ हुने बेलाँ के पो सुहाउँछ र ?

चोली ताकेर होली खेल्दा मामाघरको डोली चढ्नेहरु पनि हुन्छन् । मस्तीको नाममा जबरजस्ती गरे पछि मामाघरमा पाइला नटेकी सुखै छैन । जे होस होली खेल्ने बहानामा डोली चढेर मामाघर र यमघर कसैले जानु नपरोस्– शुभकामना ।

कान्तिपुर साप्ताहिकमा प्रकाशित

Wednesday, March 20, 2013

अकुपाइ बालुवाटार अभियानमा एमाओवादी प्रवृत्ति



-रामजी बलामी
हिलोपटक मुलुकमा स्वतन्त्र नेपालीले मन्त्रिपरिषद्को अध्यक्षता गर्ने जिम्मेवारी पाएका छन् । यसलाई समयको माग भने पनि राजनीतिक दलहरूको असामथ्र्यको उपज भने पनि यो एउटा कायापल्ट भने अवश्य हो । प्रधानन्यायाधीशबाट मन्त्रिपरिषद्को अध्यक्षमा बढुवा पाएका भाग्यमानी खिलराज रेग्मीको बारेमा वादविवाद जुन मात्रामा चलिरहेका छन् त्योभन्दा कठिन र कष्टप्रद छ उनको आगामी यात्रा ।
राजनीतिक वृतमा स्वतन्त्र व्यक्तिको उदय र चुनावी सरगर्मी बढीरहँदा अकुपाइ बालुवाटार अभियानमा सरिक व्यक्तिहरू भने आफ्नो अभियानप्रति सरकारले वास्तै नगरेको आरोप लगाइरहेका छन् । हुन पनि महिनौ दिनदेखि जारी यो अभियानका बारेमा न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक शब्द बोल्न भ्याए न त कुनै राजनैतिक दलहरूको आश्वासन नै पाए । बरु भट्टराईले बेला न कुबेला द्वन्द्वकालको मुद्दा ब्युँझाउन र शान्ति प्रक्रिया भाँड्न यो नाटक मञ्चन गरिएको आरोप ह्वार्रह्वार्टी खन्याए ।
यो आरोपमा सत्यताभन्दा बचाउपनको अभास कम छ वा बढी दैव जानून् । ढुंगेल लक्षित तत्कालीन प्रधानमन्त्री भट्टराईको वाणले अभियानमा सरिक सबैको घाउमा नुन छर्ने काम मात्रै भएन अझै सशक्त आन्दोलन गर्न बल पुग्यो । त्यसो त त्यहाँ सहभागिहरूको जमात मात्रै बढेको छैन मुहारमा आक्रोशसमेत उत्तिकै बढेका छन् । प्रहरीको हस्तक्षेप होस् अथवा माओवादी हस्तक्षेप जे भए पनि उनीहरू न्यायको खोजी गर्दै भौँतारिरहेका छन् । ‘न्याय नपाए गोरखा जानु’ भन्ने उक्तिले उनीहरूलाई गिज्याइरहेको छ । गोरखाबाटै चुनाव जितेर प्रधानमन्त्री भएका डा. बाबुरामका पालमासमेत पीडितले न्याय पाउन सकेनन् । बरु न्याय पाउनुभन्दा बढी कष्ट पाएपछि सराप्नुको अर्काे विकल्प देखेनन् उनीहरूले ।
उनीहरूको अभियानलाई साथ दिएका मानव अधिकारीवादीहरूलाई डलरवादीको संज्ञा दिन थालिएको छ । आफूले भने जस्तो भए उनैलाई दाहिना राख्ने नभए यस्ता र उस्ता भनेर आरोप खन्याउने बानी नानीदेखिकै हो । नानीदेखिका बानी तत्काल एमाओवादीले पनि त्याग्न सकेन । डलरवादी सोच उनीहरूकै लागि एक हिसाबले ‘ठीकै’ पनि होला तर सत्यलाई साथ दिनु उनीहरूको पनि दायित्व हो । यसले उनीहरूमा आफ्नो घर पनि नबनाउने र अरूको घर पनि भत्काउादै हिंड्ने प्रवृत्ति अझै हट्न नसकेको पुष्टि गर्छ । विगतमा जस्तो तर्साएर तर्सिने खालका छैनन् अब नेपाली जनता ।
अभियानकर्ताहरूसाग वार्ता र छलफलभन्दा पनि खनिने र प्रतिकार गर्ने क्रम बढ्दै गएको छ । सिंगो पार्टी नै अदालतको आदेशविपरीत अपराधी जोगाउनमा तल्लीन देखिएको छ । सर्वोच्च अदालतबाट दोषी ठहर्‍याइएका बालकृष्ण ढुंगेललाई कााधमा बोकेर रमिता देखाउनसमेत पछि परेका छैनन् । विवादकै लागि विवाद गर्न तर्क अघि सार्नुको न अर्थ न व्यर्थ । औचित्यहीन तर्क र तथ्यमा आधारित यस्ता कुराले एमाओवादीमा साख गुम्ला कि भन्ने डर व्याप्त रहेको पुष्टि हुन्छ । अर्काे कुरा फरार सूचीमा रहेका व्यक्तिलाई सुरक्षा दिन तल्लीन प्रशासनले बेपत्ता नागरिक कसरी पत्ता लगाउँदा हुन र खै ?
‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने उक्तिले यो घटनालाई राम्रैसाग पुष्टि गरिदिएको छ । नेताका अगाडि न्याय र कानुन झुकाउने हो भने मुलुकमा गणतन्त्र र राणातन्त्रबीच के भिन्नता रह्यो र ? यस्तै नियत र प्रवृत्तिले नै आन्दोलनको सूत्रपात हुने हो । हेक्का रहोस् आन्दोलनको उद्घाटन झिनामसिना कुरोबाटै हुने हो । चुरोटको ठुटोले पनि ठूलै क्षति पुर्‍याउन सक्छ भन्ने बुझ्न जरुरी छ । त्यसकारण यसलाई बेवास्ता गर्न हुँदैन । समस्यालाई जसरी होस समाधान गर्नतिर लाग्नुपर्छ अन्यथा जब यसले ठूलो रूप लिन्छ तब समाधान असम्भव हुन्छ । कार्यकर्ताले पनि तबसम्म साथ दिन्छन् जबसम्म सहनुको सीमाभित्र हुन्छ । कुनै पनि दलका नेता कार्यकर्ताको आडमा होइन कि जनताको मतले चुनिन्छ । त्यसकारण जनता भनेकै कार्यकर्ता हुन भन्ने भ्रम पाल्नु ‘आफ्नै खुट्टामा बन्चरो हान्नु’ सरह हो ।
यहाा ढुंगेलप्रति विष खन्याउन लागेको होइन सर्वाेच्चको निर्णयमाथि एमाओवादी ढावाको बारेमा मात्रै शब्द खर्चेको हुँ । ढुंगेलको तर्क छ, व्यक्ति हत्या हुँदा उनी जेल जीवन बिताइरहेका थिए, त्यसमाथि यो जनयुद्धताकाको मुद्दा हो । विस्तृत शान्ति सम्झौताअनुसार युद्धकालीन मुद्दा फिर्ता लिने सर्त बमोजिम बालकृष्ण ढुंगेलले राहत पाउनुपर्छ । यसमा कसैको विमति नहोला । यति मात्रै होइन अकुपाइ अभियानले उनको इज्जतमा लागेको दागवापतको क्षतिपूर्तिसमेत पाउनुपर्छ ।
यो एउटा पक्ष भयो तर योभन्दा जटिल र गहिरो पक्ष हो सर्वाेच्चको फैसला । यदि अदालतले उनलाई दोषी ठहर नगरिदिएको भए सायद यो कुरालाई बितेका कुराको उपमा दिन तम्सिन्थे पनि होला । तर, कुरोको चुरो यतिले मात्रै पुगेन । फैसलासँगै ढुंगेल अपराधी हुन भन्ने कुरा घामसरि छर्लंग भएको छ । मुलुकको सर्वाेच्च न्यायिक निकाय नै न्यायको पक्षमा उभिएपछि गुन्डागर्दी र राजनीतिक दलहरूको आडमा संरक्षण गर्न खोज्नु कुनै हालतमा स्वीकार्य हुन्न । यसकारण पनि माओवादीले अकुपाइ अभियानलाई सलाम चढाउँदा पार्टीलाई बेफाइदा गर्दैन । बरु टिकाउने नीतिले पार्टीमा संकुचन र संक्रमण बढ्दै जान्छ ।
एमाओवादीले अभियानलाई लगाएको डलरवादी नारा आफ्नै लागि स्वीकार्य होला तर नेपाली जनताका लागि अपच हुने देखिन्छ । सीमा नाघेको यो भाषणले अभियानमा सरिक हुनेहरूलाई मात्रै होइन मृतात्मालाई समेत पोलिरहेको छ । हत्या स्विकारीसकेकालाई त जोगाउन सरकारी बल बित्तासरि उपयोग गर्न खोज्नेले हत्या स्विकारै नगरेका व्यक्तिलाई जोगाउनु कुनै आइतबारे कुरो होइन । निर्धक्क भएर चुनावका लागि तयार हुनुहोस् जनताले सबैको मूल्यांकन गरिदिनेछ तर चुनावमा जनताले निर्धक्क भोट हाल्ने वातावरण मात्रै सिर्जना हुनुपर्छ ।
ढुंगेल प्रकरणमा माओवादी रणनीति ठ्याक्कै यस्तै छ भनेर शब्द खर्चिहाल्न आवश्यक देख्दिन । महिला हिंसा र बलत्कारको तारन्तार समाचारसागै अकुपाइ बालुवाटार अभियान थालिएको हो । अभियानमा वर्तमान मात्रै नभएर तत्कालीन समयका न्यायका आशावादीहरूको पनि उत्तिकै सहभागिता रहेका् छ । छोरीमैयाँ महर्जन जो एक वर्ष अघिदेखि बेपत्ता छिन् । उनको खोजी र परिवारप्रति न सरकार तल्लीन देखिए र न आश्वासन नै पाए । न्यायको खोजीमा बारम्बार भाँैतारिरहेका उनका छोरीहरूको गहभरीको आासुले मुलुकमा शान्ति सुव्यवस्था काम नभएको र पावरवालाकै मात्र मुलुक बन्न पुगेको आभास हुन थालेको छ । माओवादीकै शब्दमा भन्नु पर्दा के छोरीमैयाँका छोरीहरू पनि डलर खानकै लागि अभियानमा गएका होलान् ?
आन्दोलन उक्साएको र शान्ति प्रक्रिया भाँड्न खोजेको अभियानमा माओवादी कार्यकर्ताले हस्तक्षेप गरेपछि यसलाई आ–आफ्नै कोणबाट व्याख्या र विश्लेषण गर्न थालेका छन् । हस्तक्षेपलाई स्वाभाविक ठान्नु अथवा जंगली प्रवृत्ति ठान्नु सबैले बुझेकै कुरा हुन् । हस्तक्षेपले समाधान होइन ज्वालामुखी विस्फोट गराउाछ भन्ने कुरा राजनीति पढेका हुन भने भनिरहनु पक्कै पर्दैन । त्यसकारण न्यायको खोजीमा बालुवाटार पुगेका जनतालाई चोट होइन राहत दिलाउनतिर लाग्नुपर्छ । यदि अकुपाइको नाममा डलरको खेती गर्न लागेको ‘साँच्चै’ हो भने यसको पनि विरोध गर्नुपर्छ ।
सौर्य दैनिकमा प्रकाशित् 
                                                                                                rbalami2008@gmail.com

Monday, March 18, 2013

मिस नेपाल २०१३ मा बलामी



मिस बलामी २०११ को उपाधि विजेता सुजता बलामीले मिस नेपाल २०१३ मा प्रतिस्पर्धा गर्दै छिन ।
 उनले बलामी जातिको मात्रै नभएर समग्र मकवानपुरकै प्रतिनिधित्व गर्दै छिन । प्रतियोगिताको सातौं प्रतिस्पर्धी सुजता बलामीको जित हुनु समग्र मकवानपुर वासी कै जित भएकाले उनलाई जिताउँन सहयोग गर्नु मकवानपुरवासीको दायित्व पनि हो । कुनै बेला अशिक्षित र पिछडिएका समुदाय भनेर समेत चिनाइएको बलामी जातिका लागि त सुजताको सहभागिता निकै गर्वको कुरा हो । उनको जितले बलामी जातिको पहिचान स्थापितका लागि महत्वपुर्ण योगदान रहने छ नै साथसाथै समग्र मकवानपुर जिल्लाकै लागि पनि गौरवको विषय बनेको छ ।

समग्र मकवानपुर जिल्लाको पहिचान स्थापित गर्नका लागि पनि उनको जितले थप ऊर्जा मिल्ने छ । सुजतालाई भोट गर्नका लागि राष्ट्रिय बलामी समाजले पनि टिष्टुङ, बज्रवाराही, चित्लाङ, नुवाकोट, हेटौडा लगायतका क्षेत्रहरुमा पर्चा तथा ब्यानर वितरण गरेको छ ।

फेसबुकमा पनि बलामी सोसाइटी ग्रुपमा गइ विस्तृत जानकारी प्राप्त गर्न सक्नु हुनेछ । भविष्यमा सामाजिक सेवामा सक्रिय रहने दृढ इच्छा व्यक्त गरेका छन सुजताले । उनलाई जिताउँन सक्दो प्रचार प्रसार र अमुल्य भोट गर्नु हामी सवैको दायित्व पनि हो ।

सुजतालाई भोट गर्नका लागि एफएमएन टाइप गरी एक स्पेश छोडेर ०७ टाइप गरी २७२२ मा पठाउँन सक्नु हुन्छ । एसएमएस गर्ने भोली अन्तिम दिन हो । यो वर्षको मिस नेपालमा पुर्व मेचीदेखि पश्चिम  महाकालीसम्मका गरी १८ जनाले प्रतिस्पर्धा गर्दै छिन । तपाईको एक मतले हामी सबै मकवानपुरकै गर्वको रुपमा स्थापित हुन सक्छ त्यसैले तपाईहरुको अमुल्य भोटका लागि हार्दिक अनुरोध गर्दछौ । 


Monday, February 25, 2013

सफल प्रेमको रहस्य





सफल प्रेमले समस्याको समाधान पहिल्याउँछ, शान्ति र सन्तुष्टि दिन्छ भने असफल प्रेमले दुर्घटना निम्त्याउँछ जुन हामी सबैले देखेका, सुनेका र भोगेका  कुरा हुन्। प्रेममा द्विपक्षीय विश्वासको जग बलियो भयो भने अमृततुल्य हुन्छ तर बेमतलब र अविश्वासले कहिलेकाहीं त्यो विष पनि बन्छ।

'जहाँ प्रेम छ त्यहा जीवन छ' भन्ने महात्मा गान्धीको भनाइले पनि प्रेमको महत्त्वलाई उजागर गरेको छ। प्रेमको न कुनै सीमा हुन्छ न कुनै मूल्य र  मान्यता नै। प्रेमलाई जात, धर्म, परिवेश, उमेर केहीले प्रभाव पार्न सक्दैन। कसैको दबाब र हेल्चेक्य्राइँले गर्दा मात्र यी कारण प्रेमका बाधकझैं लाग्न  सक्छन्, तर ती वास्तविक बाधक भने होइनन्। 

'वैरीलाई मित्र बनाउन सक्ने एउटै शक्ति प्रेम हो' भनेका छन् मार्टिन लुथरले। प्रेमले सफल जीवन जिउन मद्दत गर्छ भने यसले जीवनशैली परिवर्तन गर्न समेत उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। नेपालीमा पनि एउटा भनाइ प्रचलित छ- प्रेममै सबै समस्याको समाधान छ। 

'प्रेम गर्नुबाहेक प्रेमको कुनै उपचार छैन,' हेनेरी डेभिड थोरोको यो भनाइले प्रेमको आवश्यकता र यसको महत्त्वलाई इंगित गर्छ। प्रेम जो-कसैसँग पनि  गर्न सकिन्छ तर यहाँ विपरीत लिङ्गीबीचको प्रेम सम्बन्धका बारेमा मात्रै चर्चा हुँदैछ। सञ्चार र प्रविधिमा आएको क्रान्तिसँगै प्रेम गर्ने शैली र प्रेमको  परिभाषाको भित्रि पाटोसमेत परिवर्तन भैसकेको छ। पश्चिमेली शैलीलाई पछ्याउँदै आजका जोडीहरू आफूलाई प्रेममय बनाइरहेका छन्। 

माया र प्रेमबिना न शान्ति मिल्छ न सन्तुष्टि। त्यसैले समय र परिस्थितिअनुकूल प्रेम गर्नु आवश्यक छ। सञ्चारमाध्यमको सर्वव्यापकता, यौन शिक्षा र  खुला प्रेम अभिव्यक्तिले नेपाली समाज पनि बिस्तारै खुल्दै गएको छ। यौन जस्तो मामिलामा खुलापन आउनु पनि सान्दर्भिक छ जुन कुरा लुकाएर राखिन्छ  त्यसप्रति आममानवको चासो स्वाभाविक रूपले बढ्छ। यो मानवीय व्यवहार पनि हो। 

'सत्यका लागि संसार सबैभन्दा डरलाग्दो छ र प्रेमका लागि सबैभन्दा सानो' शेक्यपियरको यो भनाइले पनि प्रेमको महत्त्व उजागर गरेको छ। वास्तवमै  प्रेम नहुँदो हो त यो संसारमा न कोही बाँच्न सक्थ्यो न कसैको आवश्यकता नै हुने थियो।

यतिधेरै महत्त्व बोकेको प्रेममा पनि कैयौं फेल हुन्छन्। प्रेममा निरन्तरको असफलताले जीवनलाई नै पछाडि धेकेलिदिन्छ। बढ्दो उमेर र चढ्दो बैंससँगै  विपरीत लिङ्गीबीच प्रेमको टुसा उमि्रन थाल्छ। त्यो टुसा उचित वातावरण मिले मात्र हुर्कने बढ्ने फूल फुल्ने र फल दिने हुन्छ। यदि त्यसलाई समयमै  गोडमेल वा राम्रो हेरविचार गरिएन भने बीचमै तहसनहस भएर मृत्यु  पनि हुनसक्छ।

जब प्रेमको मृत्यु हुन्छ तब त्यहाँ दुवैको मनमा एउटा तरङ्ग उत्पन्न हुन्छ। असफल प्रेमलाई जित्न नसकेकाहरू जीवन यात्राबाटै हार खान्छन् र आफ्नो  जीवनयात्रालाई नै पूर्णविराम लगाउनसम्म पछि पर्दैनन्। यस्ता कैयौं घटना हाम्रो मानसपटलमा सल्बलाइरहेका छन्। अर्काे पक्ष अर्थात् असफल प्रेमलाई  जित्ने पक्ष पुनः नयाँ प्रेम सम्बन्ध अघि बढाउन लालायित हुन्छ। खेलमा झैं प्रेममा पनि हारजित हुन्छ तर खेलको हारजित सँग प्रेमसम्बन्धको तुलना  गर्नुहुँदैन। खेलमा हारजित स्वाभाविक हो भने प्रेममा हार हुनु कुनै एक पक्षको अविश्वास हो।

हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ५३ प्रतिशत युवा र ३८ प्रतिशत युवतले आफूले रोजेको साथीसँग विवाह गछर् न्। उक्त अध्ययनअनुसार युवायुवतीको प्रेम अवधि औसतमा १४ महिनाको हुन्छ। प्रेम असफल हुनुको प्रमुख कारण एक-अर्कामा विश्वासको कमी हो।  यसका अतिरिक्त अन्य कारणले पनि प्रेम असफल हुन्छ। ती कुरामा बेलैमा ध्यान पुर्‍याउने हो भने आफ्नो प्रेमसम्बन्धलाई सफलताको शिखरमा पुर्‍याउन  सकिन्छ।

प्रेमसम्बन्ध सुधार्ने केही उपाय
- अनावश्यक शंका गर्नुहुँदैन, जसले आफ्नो प्रेमी/प्रेमिकाको मनमा अनावश्यक शंका उब्जिन सक्छ र विवाद उत्पन्न हुन्छ। 

-एक-अर्काको गल्ती देखिनेबित्तिक्कै खुलस्त भन्नुपर्छ र कमजोरीलाई सुधार्नतर्फ लाग्नु बेस हुन्छ। गल्ती गरेकोमा सजाय दिनु र एउटै गल्तीलाई पटक- पटक भनेर होच्याउने काम गर्नुहुँदैन। किनभने गल्ती मानवीय स्वभाव हो। सोही प्रकृतिको गल्ती भने दोहोरिन दिनु हुँदैन।

-गल्ती गर्ने, काम बिगार्ने जस्ता अपि्रय काम भए माफी माग्ने र दिने वानीको विकास गर्नु राम्रो मानिन्छ।

-गल्ती गर्ने, काम बिगार्ने जस्ता अपि्रय काम भए माफी माग्ने र माफी दिने बानीको विकास गर्नुपर्छ।

-आफ्ना प्रेमी/प्रेमिकाको जन्मदिन, विशेष अवसर, चाडपर्व जस्ता अवसरमा गिफ्ट तथा शुभकामना दिन बिर्सन हुँदैन।

-एक-अर्काको दुःखमा सहानुभूति दिनुका साथै सहयोगका लागि तत्पर रहनुपर्छ, जसले प्रेमसम्बन्धलाई अझ प्रगाढ बनाउँछ।

-चकलेट पनि धेरै खाँदा तीतो हुन्छ त्यसैले पलपल भेट्ने बानी राम्रो होइन। अनावश्यक शंका वा कुनै पनि निहुँमा झगडा हुन सक्छ। त्यसैले विशेष  समयमा मात्र भेटघाट गर्नु राम्रो हुन्छ।

-दुवैको प्रेम स्वार्थहीन हुनुपर्छ। अचेल यौनआनन्द प्राप्तिका लागि प्रेमको नाटक गर्ने युवा-युवतीहरू पनि उत्तिकै छन्। यस्तो प्रेम यौन आनन्द प्राप्ति पछि  टुङ्गनि सक्छ।

-यदि कसैले एकोहोरो माया गर्न थालेको छ तर आफूलाई मन पर्दैन भने सुरुमै चटक्क छाड्नुपर्छ। यस्तो मायामा फसेपछिको नतिजा राम्रो हुँदैन।

-कसैको सम्पत्ति, शरीर र पारिवारीक अवस्था हेरेर प्रेम गर्नु राम्रो होइन। जसको नतिजा घातक हुने सम्भावना रहन्छ। यसका साथै पैसा असुल्ने किसिमले  प्रेम गर्नेहरूबाट पनि सावधान रहनुपर्छ।

-अचेल डेटिङ संस्कार फस्टाएको छ। डेटिङमा जाँदा दुवैले खर्च गर्ने बानीको विकास गर्नुपर्छ नत्र नकारात्मक भावनाको विकास हुन सक्छ।

-बोलचालका हरेक शब्दमा माया झल्कने शब्दहरू प्रयोग गर्नुपर्छ, साथै सुरुमा भेट हुँदा र छुट्न लाग्दा मायालु सम्बोधन गर्नुपर्छ। 

-जीवनशैली र व्यक्तित्वमा एक-अर्काको चाहना बुझ्न सक्नुपर्छ।


कान्तिपुर साप्ताहिकमा प्रकाशित

भिम

ram ji yastai yastai aru pani thuprai lekhunuhola tapailai hamro pani saath rahane 6 ra nepal ma vaerakheko ghatana ko ani cheli beti ko bare ma pani hai

रामजी - धन्यबाद, हामी सबै मिलेर अघि बढौ . 

तुलशा घिमिरे

बेरोजगार दलको सदस्यता सबैलाई खुला छ, शिक्षित, अशिक्षित, पूर्ण, अद्र्ध, युवा, अधबैंसे र बूढा सबै खालका बेरोजगारले यसको सदस्यता लिन सक्नेछन् । तर, यो दलको सदस्यता लिनेले राजनीतिक दलका अरौटे–भरौटे भएर बन्द, हड्ताल, चक्काजाम आदि–इत्यादिमा ढुंगा हान्न, रेलिङ भाँच्न, तोडफोड गर्न भने जान पाउनेछैनन् ।नेपाल को सन्दर्भमा तपाई को दलले निकै फस्टाउने मौका पाउने छ ,यो दल सबै बेरोजगारहरूको मनमा बस्न सफल हुने छ भन्ने मलाई लाग्दछ | मलाई नी सदस्यता दिन हुन आनुरोध गर्दछु 

रामजी - धन्यबाद, यो केवल  व्यंग्य लेख हो . 

सनम गोले

बलामी सर तपाईको लेख निकै सानदर्भिक laग्य़ो तर कुनैपनि बिषय़ चाहे त्य़ो राजनिती बिषय़ होस चाहे भ्रष्टचारको बिषय़माहोsh जुनै पनि बिषय़मा कलम चलाउदा 100% निस्पझ हुन जरूरी छ जस्तो लाग्छ पत्रकार भनेका देशको एक अभिन्न अंग हुन उनीहरूको सुरक्षाको ज्ञारेन्टी सरकारले लिनुपर्छ ।

रामजी - धन्यबाद सर 

सनम गोले : दामन हाल मलेशिया

रामजी सरलाई धेरैधेरै धन्यबाद यस्तै राम्रराम्र लेखहरू लेख्दै जानुहोस 

रामजी - धन्यबाद सर स्वागत छ यहालाई मेरो खुल्दुली ब्लगमा 

शम्भु दंगाल

शम्भु दंगाल 

तपाईको यो लेख पढें...ठीक छ, एक ठांउको वाक्यमा– ...तर यसको सुइँको करिब ७५ प्रतिशत महिलालाई छैन...लेखिएको रहेछ । यसमा अंक गडबडी भएको हो की ? 

रामजी - धन्यबाद दंगाल सर कमजोरी केलाई दिनु भएकोमा . आगामी दिनमा पनि यस्तै कमि कमजोरी औल्याइदिनु  भन्ने अपेक्षा राखेको छु . 

बजारमा नयाँ मोबाइल


रामजी बलामी  


 नोकिया लुमिया ५१०
नेपाली बजारमा नोकिया कम्पनीको अर्को स्मार्टफोन नोकिया लुमिया ५१० भित्रिएको छ। विन्डोज ७.५ अपरेटिङ सिस्टमसहितको यो फोन  लुमिया सेरिजकै ६१०, ७१०, ८०० तथा ९०० सँग सम्बन्धित छ। २५६ एमबी र्‍याम सुविधा भएको यो सेटमा ५ मेगापिक्सेलको क्यामेरा छ।  ४८० बाइ ८०० रिसोलुसनसहितको यो सेटको स्टोरेज क्षमता ४ जिबी छ। दक्षिण एसिया र अमेरिकी बजारलाई लक्षित गरी निर्माया भएको  यो सेट गत नोभेम्बरमा मात्र सार्वजनिक गरिएको थियो। ४ इन्च स्क्रिनसहितको यो सेटमा इन्टरनेट चलाउँन सजिलो हुने बताइन्छ। विभिन्न  ५ रङमा उपलब्ध यो सेटमा ७ जिबी अनलाइन स्टोरेजको सुविधा छ जसले फाइल डाउनलोड, एडिट र सेयर गर्न सजिलो बनाउँछ। एलसिडि  प्रविधिको यो सेट १ सय २९ ग्रामको छ।
यो सेटमा फ्रन्ट क्यामेरा र क्यामेरा फ्लास भने छैन। हालै नेपाली बजारमा भित्रिएको यो सेट ग्राहकहरूको रोजाइमा परेको इजोन मोबाइलका  विक्रेता निशा ढुंगेलले बताइन्। 'भर्खर भित्रिएको भए पनि यसले राम्रो बजार लिने संकेत देखिएको छ,' उनले भनिन्।
सामसङ ग्यालेक्सी म्युजिक ड्युज
सामसुङले हालै नेपाली बजारमा प्रवेश गराएको म्युजिक ड्युज स्मार्टफोन एन्ड्रोइड ४ भर्सनमा उपलब्ध छ। ३ मेगापिक्सेल क्यामेरा भएको यो  सेटमा डबल सिम, फ्रन्ट स्पिकर आदि सुविधा पनि छ। ३ इन्च टचस्क्रिनको डिस्प्लेसहितको यो फोनमा जिपिएस, वाइफाइ तथा ३ जिबी मे मोरी कार्ड छ। १ सय ६ ग्रामको यो सेट विभिन्न चार रङमा बजारमा आएको छ। यसमा २०४८ बाइ १५३६ पिक्सेल रिसोलुसन तथा ४  गिगाहर्जको प्रोसेसर छ। वाइफाइ र जिपिएससहितको यो सेटमा जिपिआएसको पनि सुविधा छ। यसमा इन्टरनेट ब्राउजिङसमेत सरल हुने  बताइन्छ। ४ जिवी मेमोरीको यो सेट नेपाली बजारमा १७ हजार रुपैंयामा पाईन्छ। २ साताअघि मात्र नेपालमा भित्रिएको यो सेटले राम्रो मार्केट लिन सक्ने ताम्राकार कम्प्लेक्स, न्युरोडस्थित सामसुङ मोबाइलकी सुनिता श्रेष्ठले बताइन्।
सोनी एक्सपेरिया भी
सोनी कम्पनीको पछिल्लो उत्पादन सोनी एक्सपेरिया भी नेपाली बजारमा पनि उपलब्ध हुन थालेको छ। १२८० बाइ ७२० पिक्सेल रिसो लुसनमा निर्मित यो सेटमा १३ मेगापिक्सेलको क्यामेरा छ। वाइफाइ लगायत विभिन्न सामाजिक सञ्जाल तथा इन्टरनेट चलाउन सुविधाजनक  मानिएको यो सेट सोनीको एक्स्पेरिया सेरिजअन्तर्गत एक्सपेरिया एक्रोस र एक्सपेरिया गोसँग सम्बन्धित छ। टचस्क्रिनसहितको यो फोनमा  एन्ड्रोइड ४ आइसस्क्रिम स्यान्डबीचको सुविधा छ। जम्मा १ सय २० ग्राम तौल भएको यो फोनमा १५०० मेगाहर्जको सिपियु छ भने जिपियु  एड्रेनो २२५ को छ। १ जिबी र्‍यामसहितको यो सेटमा ८ जिबीसम्मको स्टोरेज सुविधा उपलब्ध हुन्छ। यसमा क्यामेरा अन्तर्गत विविध सुविधा  उपयोग गर्न सकिन्छ। जस्तै- एलइडि फ्लास, अटो फोकस, स्माइल डिटेक्सन, हाइ डाइनामिक रेन्ज मोड, प्यानोरमा आदि। यो सेटमा ०.३  मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि छ।
सोनी एक्सपेरिया टी
सोनी कम्पनीले नै एक्सेपेरिया सेरिजअन्तर्गत उत्पादन गरेको एक्सपेरिया टी सेट पनि नेपाली बजारमा आएको छ। सोनी एक्सपेरिया  जिएक्सएसओ ०४ डि (जापान) सँग सम्वन्धित यो स्मार्टफोन जम्मा १ सय ३९ ग्रामको छ। एन्ड्रोइड ४.०.४ भर्सन सहितको यो फोनमा  सिपियु १.५ गिगाहर्ज र जिपीयु एन्ड्रेनो २२५ को छ। १०२४ एमबि र्‍यामसहितको यो सेटमा १६ जिबी सम्म स्टोरेजको क्षमता छ भने रिमो भेबल स्टोरेज ६४ जिबी माइक्रोएसडी छ। मल्टिटच स्क्रिनसहितको यो फोनमा ४.५५ इन्चको डिस्प्ले उपलब्ध हुन्छ। १३ एमबीको क्यामेरा  जडित यो फोनमा सेन्सर, ट्यागिङ, स्टाब्लाइजर, अटोफोकस, भिडियोलाइट, स्माइल डिटेक्सन आदि सुविधा पनि राखिएको छ। १.३ मे गापिक्सेलको फ्रन्ट क्यामेरासमेत भएको यो सेटमा ३.१ को ब्लुटुथ छ। यसमा वाइफाइ चलाउँन समेत सहज र सरल हुने बताइन्छ। बहुसुविधा  भएकाले नेपालमा यसले राम्रो बजार लिन सक्ने सिटिभि मोबाइलका संजिब उप्रेतीले वताए।
कर्लस एक्स फ्याक्टर बोल्ड
कर्लस कम्पनीले नेपाली बजारमा भित्र्याएको एक्स फ्याक्टर बोल्ड ब्रान्डको यो सेट एन्ड्रोइड ४ सहितको सेट हो। १ गिगाहर्ज प्रोसेसर, डबल  सिम, एइडी फ्लास समेतको यो फोनमा ५ मेगा पिक्सेलको क्यामेरा जडित छ। यो सेटमा जिपिएस, लाइट सेक्सर, प्रोक्सिमिटी सेन्सरको पनि  व्यवस्था छ। मोबाइलमा ८ जिबी मेमोरी कार्ड निःशुल्क प्रदान गरिने इजोन मोबाइल, ताम्राकार कम्प्लेक्सकी सुनिता श्रेष्ठले बताइन्।
लाभाको IRIS N 320
लाभा कम्पनीको अधिकृत विक्रेता चौधरी ग्रुपले हालै बजारमा ल्याएको यो सेट पनि निकै आकर्षक छ। १.५ इन्च डिस्प्लेसहितको यो सेटमा  डबल सिमको सुविधा छ। २.३.६ भर्सन एन्ड्रोइड सुविधाको यो फोनमा २५६ एमबीको र्‍याम छ। २ मेगा पिक्सेलको क्यामेरा सहितको यो से टमा १ गिगाहर्ज प्रोसेसर उपलब्ध हुन्छ। वाइफाइ, जिपिआरएस आदि सुविधा भएको यो सेटमा १०० एमबीको इन्टरनल मेमोरी छ। ३२० बाइ  ४८० पिक्सेल टचस्क्रिनसमेतको यो स्मार्ट फोनमा एक्पान्डेबल मेमोरी ३२ जिबीको छ। अन्य विविध सुविधाका कारण यो फोनलाई आकर्षण  मानिए पनि यसमा फ्रन्ट क्यामेरा भने छैन। यो फोनप्रति पनि नेपालीहरू आकषिर्त देखिएको टु फोर सिक्स इम्पेक्सका सुरज बाँस्कोटाले  बताए।

कान्तिपुर साप्ताहिकमा प्रकाशित

फेसबुकमा फेक आइडी


रामजी बलामी 

 मार्क जुकरबर्गले सन् २००४ फेब्रुअरी ४ देखि सञ्चालनमा ल्याएको सामाजिक संजाल (फेसबुक) अहिले विश्वभरका २ सय १३ मुलुकमा  पुगेको छ। हावर्ड विश्वविद्यालयका विद्यार्थी जुकरबर्गले आफ्ना साथीहरू एकबोर्डो साभरिन, डस्टिन मोस, रक्रिस ह्युसजेसका साथ सञ्चालन  गरेको यो सञ्जालमा अहिले विश्वभरका करिब ८४ करोड भन्दा बढी सक्रिय सदस्य आबद्ध रहेको फेसबुकले जनाएको छ।
कसरी चिन्ने फेक आइडी ?
फेक आइडी बनाउनु भनेकै अरूको चरित्रमाथि खेलवाड गरी आफ्नो स्वार्थ पूरा गर्नु हो, तसर्थ त्यस्ता व्यक्तिले पोष्ट गर्ने स्टाटसहरू सान्दर्भिक र विश्वसनीय नभएर शंकालु प्रकृतिको हुन्छ। यसबाट पनि फेक आइडी पत्ता लगाउन सकिन्छ।
आफूलाई रिक्वेस्ट आउनेबित्तिकै उसको प्रोफाइल भिजिट गरेर चित्त बुझ्दो लागे मात्र एसेप्ट गर्नुपर्छ। यदि पहिले नै एसेप्ट गरिसकेको भए  त्यसलाई आफ्नो फ्रेन्ड लिष्टबाट हटाउनुपर्छ।
प्रोफाइलमा राखिएका तस्बिर वा अन्य जानकारी हेरेर पनि फेक आइडी पत्ता लगाउन सकिन्छ।
आफूसँग नजिकिन अनेक प्रलोभन दिई गोप्य कुराको पछि लाग्न थाले भने सचेत हुनुपर्छ।
व्यक्तिको सामाजिक प्रतिष्ठा मात्र नभएर गोप्य व्यावसायिक योजनाहरू चोर्नसमेत फेक आइडीको प्रयोग भएको पाइन्छ, त्यसैले फेसबुकका  साथी बन्नासाथ विश्वास गर्न हुँदैन।
के छ कानुनमा ?
विद्युत् कारोबार ऐन २०६३ अनुसार नेपालमा इन्टरनेटबाट हुने हिंसामा अधिकतम २ लाख जरिवानासहित पाँच वर्ष कैद हुने व्यवस्थ्ाा छ।  वि.सं.२०६६ मंसिरमा प्रहरी अपराध महाशाखामा 'साइबर क्राइम अनुसन्धान सेल' स्थापना गरिएपछि फेसबुक दुरुपयोगको अनुसन्धान हुन  थालेको हो। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अहिले नेपाललमा पनि इन्टरनेट क्राइमसम्बन्धीइ उजुरी दैनिक तीन-चारवटाको  हिसाबले पर्न थालेको छ। यो क्रम निरन्तरता वृद्धि भैरहेको छ। फेसबुकको माध्यमबाट ठग्ने र ठग्न खोज्ने तथा अश्लील तस्बिर पोष्ट गर्नेह रूलाई उजुरीका आधारमा पक्राउ गरिन्छ।

राजनीतिले भत्काएको अर्थतन्त्र


रामजी बलामी

नेपालीलाई यस वर्षको बडादसैँले बिदाइ गरे पनि राजनीतिक दशाले कहिल्यै बिदा गर्ने संकेत देखिएन । गाउँघरमा यतिखेर धान काट्ने कामको चटारो छ भने राजनीतिमा चियापानको नाममा झटारो हान्ने चटारो छ राजनीतिक खेलाडीहरूबीच । घरका सदस्यहरूबीच राम्रो सम्वन्ध भएन भने न छिमेकीहरूसँग राम्रो समन्वय हुन सक्छ न त समाजसँग नै । त्यसो त छरछिमेक र समाजसँग समन्वयका लागि पहिले घर परिवार नै मिल्नु पर्छ अन्यथा लथालिंग घरको भत्ताभुंग चाला मात्रै होइन छिमेकीले समेत मौकाको फाइदा उठाउन पछि पर्दैनन् ।
अहिले नेपालको अवस्था पनि लथालिंग र भताभुंगको अवस्थामा पुगेको छ । देश निर्माताहरूबीचको कुर्सीकपले गर्दा मुलुक अध्याँरोतर्फको गन्तब्यहीन यात्रा गरिरहेको छ । दस वर्षको युद्धले क्षत–विक्षत अवस्थामा पुगेको नेपाली अर्थतन्त्रलाई सुधार्न विभिन्न राजनीतिक दल तथा सरकारले पटक–पटक अनेकाँै प्रतिवद्धता जाहेर गरे पनि व्यवहारमा आउन सकेको छैन । विभिन्न राष्ट्रिय तथा केही अन्तर्राष्ट्रिय संघसंस्था र विशेषगरी सरकारले सार्वजनिक गर्ने प्रतिवेदनमा बाहेक नेपालको विकास र समृद्धि आकाशको फल जस्तै बन्न पुगेको छ ।
बर्सेनि करिब चार लाख श्रमशक्ति उत्पादन हुने नेपालमा बेरोजगारकै कारण दैनिक पन्ध्रसय भन्दा बढी श्रमशक्ति विदेश पलायन भइरहेका छन् । श्रमशक्तिको निर्यात मात्रै होइन बेरोजगारकै कारण सामाजिक संरचना समेत खल्बलिन थालेका छन् । कैयौँ सामाजिक विकृति र विसंगति मौलाउनुमा बेरोजगारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । गरिबीकै कारण कैयाँै परिवारले त्रिशुली नदीमा ज्यान फालेका छन् भने कैयाँैले विष सेवन गरेका छन् ।
सिटामोल र जीवनजलको अभावमा छटपटिनु पर्ने नेपालीले सिंह दरवारसँग दयाको भिख मागिरहँदा राष्ट्रनिर्माताहरू भने सिंहको गर्जन निकाल्दै निरन्तर नेपालीे जनताको नाममा गर्जिरहन्छन् । गाउँघरका दर्दनाक कथा–ब्यथा सुन्दा/देख्दा सरकारले सार्वजनिक गर्ने प्रगति प्रतिवेदनले नेपालीलाई नै गिज्याएको भान हुन्छ । एकातिर गरिवीकै कारण नेपालीले यमलोकको यात्रा गरिरहेका छन् भने अर्काेतिर सरकारी तथा गैरसरकारी संघ संस्थाले सार्वजनिक गरेका प्रतिवेदनमा नेपालका समग्र अवस्था सकारात्मक भएको लक्षण देखाइरहेका छन् ।
सन् २००० मा विश्वभरका नेताले १५ वर्ष भित्रमा आफ्नो देशका जनतालाई चरम गरिबीबाट मुक्ति दिलाई अन्य सुविधा समेत उपलब्ध गराउने घोषणा गरेका थिए । तर, यो घोषणा नेपालकालागि काँडाघारी यात्रा मात्रै होइन असंभवप्राय: बन्न पुगेको छ । अर्थतन्त्रको सुधारबिना जनताको जीवनस्तर सुधार असम्भव छ । सन २००९ मा संयुक्त राष्ट्र संघका अधिकारीले दिएको जानकारी अनुसार नेपालका करिब ३४ लाख जनता हरेक रात भोकै सुत्ने गर्छन् । मुलुकमा अहिले बेरोजगार ३३ प्रतिशत मात्रै छन् भनेर सार्वजनिक गरिए पनि दिनहँु बिदेशिने नेपालीको संख्या हेर्दा यसलाई स्वीकार्न सक्ने अवस्था छैन । अहिले पनि करिब २५ लाख नेपाली विदेशीभूमिमा कार्यरत रहेको तथ्यांकले देखाउँछ । यसमा गैरकानूनी र भारतीयभूमि भएर जाने नेपालीको संख्या समावेश गरिएको छैन ।
यसरी विदेशिएका नेपालीबाट प्राप्त हुने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको अवस्था छ । नेपाल राष्ट्र बैंकका अनुसार ०६६/६७ मा दुई खर्ब ३१ अर्ब ७२ करोड ५३ लाख रेमिट्यान्स प्राप्त भएको थियो भने ०६७/६८ मा दुई खर्ब ५३ अर्ब ५५ करोड १६ लाख रुपियाँ आर्जन भएको जनाएको छ । हालको रेमिट्यान्स कूल ग्राहस्थ उत्पादनको करिब २० प्रतिशत हो । पहिलो नेपाल जीवनस्तर सर्वेक्षण ०५२/५३ मा रेमिट्यान्स प्राप्त गर्ने घर परिवारको संख्या २३.४ प्रतिशत थियो । दोस्रो सर्वेक्षण ०६०/६१ मा यो संख्या बढेर ३१.९ प्रतिशत पुग्यो । हालै केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तेस्रो नेपाल जीवनस्तर सर्वेक्षण ०६६/६७ को नतिजा अनुसार ५५.८ प्रतिशत नेपालीले रेमिट्यान्स प्राप्त गरेका छन् । यस अनुसार करिब २३ लाख २९ हजार घर परिवारले रेमिट्यान्स प्राप्त गरिरहेका छन् ।
पहिलो जीवनस्तर सर्वेक्षणमा कूल रेमिट्यान्स १३ अर्ब बरावरको मात्रै थियो भने तेस्रो सर्वेक्षण ०६६/६७ मा वृद्धि भएर २ खर्ब ५९ अर्ब पुगेको तथ्यांक सार्वजनिक भएको छ । मुलुकको अर्थतन्त्रको खम्बा नै बन्न पुगेको छ रेमिट्यान्स । बार्षिक रूपमा प्राप्त रेमिट्यान्स मध्ये उपभोगमा ७९.९ प्रतिशत, ऋण तथा सरसापटी तिर्नमा ७.१ प्रतिशत, घरायसी सरसामान जोरजाममा ४.५ प्रतिशत, शिक्षाकालागि ३.५ प्रतिशत, र उत्पादनमूलक क्षेत्रमा जम्मा २.४ प्रतिशत मात्रै खर्च हुने तथ्यांक सार्वजनिक हुनु मुलुकको अर्थतन्त्रमाथि प्रश्न चिन्ह खडा हुनु हो । रेमिट्यान्सको गुलियोमा भुलिरहेको नेपालले दीर्घकालमा यसले पार्ने नकारात्मक असरको बारेमा सोच्ने कोसिससम्म पनि गरेको देखिँदैन ।
वाणिज्य मन्त्रालयले राष्ट्रिय खाद्य सुरक्षा भण्डारण १५ हजार मेट्कि टन रहेको जनाए पनि हरेक वर्ष मुलुकमा खाद्यान्न संकट पर्ने गर्दछ । हरेक वर्ष भोकमरी र अनिकालले नेपालीलाई पिरोलिरहेको अवस्था छ । ५० प्रतिशत जनतामा स्वच्छ खानेपानीको पहुँच पुगेको घोषणा गर्ने सरकारले राजधानीमा समेत पानीको हाहाकार मच्चिने गरेको देख्न सकेको छैन । गाउँघरमा खोला र इनारको पानी खान परिरहेको समाचार सार्वजनिक भइरहनुले यो तथ्यांकलाई विश्वास गर्न सक्ने अवस्था छैन ।
उज्यालो मार्गको आधार शिक्षा र स्वास्थ्य क्षेत्र पनि उत्तिकै लथालिंग बन्न पुगेको छ । हरेक वर्षको बजेटमा सबैभन्दा बढी भाग पर्ने शिक्षा क्षेत्रको गुणस्तरले पनि सार्वजनिक प्रतिवेदनहरूलाई ब्यंग्य गरिरहेको छ । राष्ट्रिय योजना आयोगले नेपालमा गरिबी जनसंख्याको मात्रा २५.२ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरे पनि एडिबीले भने ५० प्रतिशत भन्दा बढी जनता गरिबी रहेको तथ्यांक सार्वजनिक गर्ने गरेको छ । सयुंक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी)ले पनि केही समयअघि ६५ प्रतिशत जनता गरिबी रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।
सरकारले गत वर्ष सम्म मूल्यवृद्धि १३ प्रतिशत रहेकोमा यस वर्ष ९ प्रतिशतमा झरेको तथ्यांक सार्वजनिक गरेको छ । जनता महँगीको मार खेप्न नसकी महँगी विरुद्ध आन्दोलन गरिरहेका बखत सरकारले एक्कासी चार प्रतिशत घटाएर सार्वजनिक गरिएको यो तथ्यांकलाई कसरी विश्वास गर्ने ? अंकटाडको प्रतिवेदन अनुसार सन् २००५ देखि २०११ सम्ममा सबै खालका खाद्यान्नको मूल्य १२१ प्रतिशतले वृद्धि भएको जनाएको थियो ।
मुलुकको अर्काे डरलाग्दो सरुवा रोग हो भ्रष्टाचार । गत वर्ष ट्रान्स्परेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचक अनुसार १८५ देशको सूचिमा नेपाल १ सय ५४ औँ स्थानमा परेको छ । यस अघि नेपाल १ सय ४६ आँै स्थानमा थियो । १० पूर्णांकमा २.२ अंक मात्रै पाएर यस्तो नतिजा आएको हो नेपालको । यो सर्वेक्षणले मुलुकमा भ्रष्टाचारको जालो फैलिएको प्रष्ट हुन्छ । भ्रष्टाचारी पत्ता लाग्दासम्म पनि हरसम्भव जोगाउन खोज्ने राजनीतिक दलको प्रवृत्तीका कारण पनि भ्रष्टाचारीले आश्रय पाएको र यो संस्कृति मौलाउँदै गएको हो । भ्रष्टाचारको उन्मुलनबिना मुलुकको अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउन सक्दैन ।
यति मात्र होइन मुलुकको सर्वाङ्गीण विकास, शान्ति स्थापना, गरिबी निवारण तथा आर्थिक विकासका निम्ति प्राप्त हुँदै आएको वैदेशिक सहयोग तथा ऋणको समेत उचित सदुपयोग हुन सकेको छैन जसले मुलुकको अर्थतन्त्रमा झन् नकारात्मक प्रभाव पर्दै गइरहेको अवस्था छ । विस्तारै विदेशी लगानीकर्ताहरूले हात झिक्नु, प्रमुख सहयोगीको रूपमा रहेको एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकले समेत सहायताकालागि विभिन्न सर्तहरू अघि सार्नु नेपालकालागि दु:खद कुरा हो । एसियाली विकास बैंकले सन् ०१२–१४ का लागि मात्रै ४८ करोड ५० लाख अमेरिकी डलर करिब ३५ अर्ब ८९ करोड सहायता घोषणा गरेको छ । उसले यो सहायता रकम कार्यक्षमता प्रदर्शन गरेको आधारमा दिने सर्त अघि सारेको हो ।
केही समय अघि लगानीमैत्री वातावरण नभएको र सुरक्षामा चुनौती बढेको भन्दै विश्व बैंकले समेत हात झिक्ने चेतावनी दिएको थियो ।

सौर्य दैनिकमा प्रकाशित

राष्ट्रपतिको म्याद थप र दलहरूको “सहमति” जप


रामजी बलामी

नेपाली समाजमा खाना थप्ने एउटा गजबको चलन छ । कहिले दाल तरकारी त कहिले खानालाई दोष दिँदै आफ्नो पेट पूज्ने महामानवहरूको चाला यस्तो छ । कहिले अलिकति दाल बढी भयो भन्छ, राखिदिन्छ, फेरि अलिकति खाना बढी भयो भन्छ, राखिदिन्छ, अनि फेरि खाना सकाउँछ दाल तरकारी पुगेन थोरै राख्नु भन्छ । एवं रितले उसले नाटकीय ढंगले पेट पूजा गर्छ । उसले जतिसुकै भलाद्मीपन देखाएर मान्छेलाई भ्रममा पार्न खोजे पनि मान्छेले उसको भित्री चाला बुझिसकेको हुन्छ । यस्ता मान्छेहरू मान्छेलाई भ्रम पार्न खोज्दा खोज्दै आपैँm भ्रममा फसिसकेका हुन्छन् । बांगाटिंगा नाटक रच्नु भन्दा सिधँै भनेको भए कमसेकम उसको बाँकी इज्जत त सुरक्षित हुन्थ्यो नि †

खाना थप्ने यो तरिका र राजनीतिक दलहरूको म्याद थप्ने तरिका उस्तै–उस्तै छ । कहिले सहमतिको अन्तिम विन्दुमा पुगेको, कहिले भोली नै सहमति हुने, कहिले यति दिनभित्र सहमति हुने, कहिले बेलुकासम्म सहमति हुनेलगायत नानाभाँती अभिनय गरेर शीतलनिवास र जनतालाई यतिखेर एक प्रकारले भन्नु पर्दा बिरालोले मुसा खेलाएजस्तै खेलाइरहेको छ । यो भन्दा पहिले संविधान जन्माउने निहँुमा पनि यस्तै खेलाँची गरेर थप दुई वर्षको समय ग्वाम्मै पचाएका थिए । कहिले तीन महिना त कहिले ६ महिना गर्दै म्याद थपेका थिए । कुनै पनि कुराको निश्चित सीमा हुन्छ सीमा नाघेपछि अरूको त कुरै छाडौँ अभिभावकले समेत विश्वास गर्दैनन् । यो कुरा नेपाली राजनीतिक दलहरूले बुझ पचाएर बसेका छन ।

बारम्बार सहमतिकालागि मात्रै सहमति गर्ने दलहरूले ‘जब राती अनि…’ भने जस्तो मात्रै गरिरहेका छन् । कैयौँ पटक राष्ट्रपतिलाई सहमति गर्छाै भनेर हारगुहार गरेका दलहरू म्याद थपसँगै मस्तले निदाउँछन् अनि जब अन्तिम दिन आइपुग्छ तब एकअर्कामा आरोप–प्रत्यारोपको वाण हानाहान् गर्छन् र बिरालोको सिकारमा परेको मुसा भैँm निन्याउरो पर्छन् । चर्पी पहिले नै बनाई राखेको भए पो बिहानको नित्य कर्म सजिलै हुन्छ नत्र बिहान उठेर कुटो कोदालो बोकी चर्पी खन्न थाले भने के हुन्छ ? यस्तै प्रवृत्ति देखिएको छ यतिखेर ।

मीठो पाए तीन थाल खाने तीतो भए भागमै नबस्ने लोभी चाला जस्तै आफूले भने जस्तो भए सहमति हुने नत्र नहुने नियम लागू गरिरहेका छन् दलहरू । सहमतिको बाधक भन्दै चोर औँला अरूलाई देखाउँदा बाँकी चारऔँला आफूप्रति ठडिएको हेक्कासम्म पनि गर्न सकेका छैनन् उनीहरूले । ‘सहमति’ नामक नाटक मञ्चन गर्दै भाले लडाइँमा होमिरहेका दलहरू सहमति खोज्नतिर भन्दा सत्ता हुत्याउँनतिर तल्लीन छन् । दुई पटक सत्तामा रमाएका माओवादी फेरि पनि सहमतीय सरकारको दाबी गर्दै नाम ठिक्क पारेर बसेका छन् भने विपक्षी दलहरू उम्मेदवारको नामसम्म पनि दिन सकिरहेका छैनन् । उनीहरूले उम्मेदवार दिन नसक्नु माओवादीलाई भाषण गर्ने निहुँ बनेको छ ।

राष्ट्रपतिको यति नम्रता, सहमतिप्रतिको झुकाव, गणतन्त्र र मुलुकप्रतिको इमान्दारी दलहरूमा भइदिएको भए शायद अवस्था कल्पनाभन्दा पनि बाहिर पुगिसक्थ्यो होला । अर्काेकुरा यदि डा. रामवरण यादव राष्ट्रपति नभएर कुनै माओवादी या अन्यदलका प्रतिनिधि राष्ट्रपति भइदिएको भए नेपाली राजनीतिमा भूकम्पको छाल उठिसकेको हुन्थ्यो । क्रान्तिकारीको नायक भन्दै मपाइँत्वमा रमाउने माओवादीको हातमा यस्तो अधिकार भएको भए शायद के हुन्थ्यो सबैले सहजै अनुमान गर्न सकिन्छ । तर, विगतमा माओवादीले शान्तिको लागि भन्दै पालना गरेको केही लचकता भने भुल्न पनि मिल्दैन ।
सहमतिकालागि कैयौँ पटक मौखिक आदेश दिँदा पनि दलहरूको निद्रा नखुलेपछि अन्तत: राष्ट्रपतिले लिखित आदेशसमेत दिए । हलो अड्काएर गोरु चुट्न सिपालु दलहरूले ललिपप देखाउँदै अन्तत: फेरि पनि राष्ट्रपतिबाट ७ दिनको समयसीमा थप्न सफल भए । राजनीति भन्नासाथ नाक खुम्च्याउनु पर्ने अवस्था सिर्जना गरेर दलहरूले स्वार्थता मात्रै प्रदर्शन गरेका छैनन् जनविश्वास समेत गुमाउन पुगेका छन् । दलीय स्वार्थभन्दा एक कदम अगाडि उठ्ने र वास्तवमै सहमतिका लागि दौडधुप गर्ने हो भने अहिले त्यति साह्रो मान्नु पर्ने अवस्थै छैन । हलो कहाँनेर अड्क्यो भनेर खोज्नुभन्दा सकभर गोरु चुटेरै हलो फुकाउ भन्नेतिर दलहरू लागेका छन् । तर, केचाहिँ कुरा सत्य हो भने गोरुको बलले बरु हलो भाँचिएला तर हलो फुस्किन्न ।

मुलुकमा स्थायी शान्ति, सहज वातावरणको सिर्जना, गणतन्त्रको मलजल र सरकारले घोषणा गरेको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नका लागि पनि माओवादीले एक पटक अरू दललाई साथ दिनु अनिवार्य छ । अर्काे कुरा, प्रधानमन्त्रीको राजीनामा नै सबथोक ठान्नु विपक्षी दलहरूको भ्रम हो भन्दा अत्युक्ति हुँदैन, किनभने राजीनामा नै सबथोक होइन भन्ने कुरा विगतमा माधव नेपालको राजीनामापछिको अवस्था हेर्दा स्पष्ट हुन्छ । राजीनामाभन्दा सहमति अग्रिम हुनुपर्छ भन्ने कुरा नकार्न मिल्दैन तर सहमतिको बाधक राजीनामा नै हो भने प्रम डा.बाबुराम भट्टराईले राजीनामा ठम्याएर मार्ग दर्साउनु उनकैलागि पनि राम्रो कुरा हो ।

यतिखेर बौद्धिक वर्गहरूबीच पनि शीतलनिवास र दलहरूबीच बढ्दै गएको गाँठोको बारेमा ठूलो मतभेद चलिरहेको छ । उनीहरू पनि यथार्थलाई भुलेर गाँठो फुकाउने सुझाव दिनुभन्दा नुनको सोझो गर्दै तर्कवितर्कमा रमाइरहेका छन् । एउटै कुरा आफ्नो पार्टीको पालामा भए हुने अरूको पालामा नहुने जस्तो मिथ्याजनक तर्क अघि सारेर विश्लेषण गरिरहेका छन् । बढेको दुरी घटाउन राष्ट्रपति लचकताको सिद्धान्त चालिरहेका छन् भने दलहरू राष्ट्रपतिको लचकतालाई अटेरको पासो थामिरहेका छन् । यही कारण यतिखेर नेपालको राजनीति दिशाविहीन बन्न पुगेको छ । विवादकै लागि विवाद निम्त्याउने र विवादको बिउ रोप्ने अभ्यासमा तल्लीन दलहरूले निकास देला भनेर बस्नु र आकाशको तारा झर्ला भनेर कुर्नु उस्तै हो ।

sourya daily, 6 dec 12

भारतमा आन्दोलन, नेपालमा सुनसान



रामजी बलामी

छिमेकी मुलुक भारत यतिखेर बलात्कारविरुद्धको आन्दोलनमा जलिरहेको छ । एक युवतीलाई सवारी साधनमै सामूहिक बलात्कार गरेको विषयलाई लिएर जारी आन्दोलनको रूप झन्–झन् आक्रामक बन्दै गएको छ ।
आन्दोलनका क्रममा झडप हुँदा घाइते एक प्रहरीको ज्यान गइसकेको छ भने बलात्कृत युवतीको अवस्था पनि निकै नाजुक भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । अधिक बलात्कार हुने मुलुकहरूको सूचीमा भारत अग्रस्थानमा रहेको छ । दैनिक बलात्कारको घटना हुने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाइरहेका छन् । विगतमा गुमनाम नै रहेको यो आवाज अब भने कानुन परिवर्तनसम्मको माग गर्दै आन्दोलन भइरहेको छ । भारतमा जारी आन्दोलनबाट नेपालले पनि पाठ सिक्न जरुरी छ । नेपालमा पनि बलात्कारको तथ्यांक निकै उच्च रहेको छ तर डर, त्रास र भयका कारण सार्वजनिक हुन नसकेको मात्रै हो । केही साताअघि एउटा दर्दनाक बलात्कारको घटना सार्वजनिक भएको थियो ।
वैदेशिक रोजगारबाट फर्केकी एक युवतीलाई अध्यागमन विभागका कर्मचारी र प्रहरीकै मिलोमतोमा एक प्रहरी जवानले बलात्कार गरे । ड्युटी बिर्सेर युवतीसँग रातभर बलत्कारमा राष्ट्रसेवक प्रहरी नै होमिए । धम्की र त्रासका कारण पीडित युवती घटना चुपचाप राख्ने अवस्थामा समेत पुगेकी थिइन् । अरूको इज्जतमा खेलाँची गर्नेहरूले आफ्नो इज्जतमा दाग लाग्ने देखेपछि घटनालाई गुपचुप मै फासफुस पार्न आर्थिक प्रलोभनको आश्वासन र भौतिक चेतावनीसमेत दिन भ्याए । यस्तै, केही समयअघि मात्रै विवाहको विषयलाई लिएर एक नेपाली चेलीलाई जिउँदै जलाइए । यस्ता घटनाहरू नेपाली गाउँघरमा थुप्रै भएका छन्, जुन सार्वजनिक हुन सकेका छैनन् ।
सार्वजनिक भएका घटनाहरूमा पारदर्शी छानबिन र उचित राहत दिलाउन नसकेका कारण पनि पीडितहरू पीडा बोकेर जिउन बाध्य छन् । आपराधिक मानसिकताहरू सल्बलाउने अवसर मिलिरहेका छन् । नारी अधिकार र महिलावादी संगठनका नाममा अर्बांै डलर भिœयाउने एनजीओ तथा आईएनजीओहरूले हालैको यी दुवै घटनाको खण्डन गर्न सम्म पनि सकेनन् । यसैले उनीहरूको कार्यप्रगति प्रतिवेदनमा सीमित छ भन्न बाध्य तुल्याउँछ । नारी हिंसा र महिला अधिकारका लागि सप्ताहव्यापी कार्यक्रम आयोजना गरियो । पर्चा, भाषण, तारे होटलको गोष्ठी र चिकेन चिल्लीमा यस्ता कयौं दिवस र अभियान बिते तर यसको सुइँको करिब ७५ प्रतिशत महिलालाई छैन । घटना हुँदा आन्दोलन त परेको कुरा एउटा खेद व्यक्त गर्ने साहससमेत उनीहरूमा देखिएन । यसमा सीमित अपवाद संस्था पनि होलान् तर अधिकांश संस्थाको वास्तविकता यो घटनासँगै पोखिएको छ ।
बलात्कार जस्तो घटनामा त उचित न्याय मिल्दैन भने अन्य सामान्य हिंसा र यौन प्रकृतिको हिंसाको त कुरै छाडौं । गत वर्ष एक महिला सञ्चारकर्मीले महिला सञ्चारकर्मीहरूमाथि हुने गरेको हिंसाबारे एउटा लेख छाप्दा ज्यान लिनेसम्मको धम्की खान प¥यो । अन्ततः उनले मिडिया छाड्नुपर्ने सम्मको अवस्था आयो । उनी त एउटा उदाहरण मात्रै हुन्, यस्ता थुप्रै घटना हाम्रासामु जीवित छन् । बलात्कारजस्तो हिंसा प्रमाणित हुँदासम्म पनि पीडितलाई उचित न्याय दिलाउन नसक्नु र महिलावादी संस्थाहरू गुमनाम भएर साइन बोर्डमा झुन्डिनु विडम्बनाको कुरा हो । सन् १९४५ मा संयुक्त राष्ट्रसंघ स्थापना हुँदा तयार भएको बडापत्रमा अन्तर्राष्ट्रिय समुदायबाट महिला र पुरूषबीच समानता एवं मानव अधिकारप्रति सम्मान कायम हुनुपर्दछ भन्ने उल्लेख छ । यसलाई सन् १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणापत्रले अझ सशक्त बनाएको छ ।
महिलाहरूकोे सामाजिक, आर्थिक एवं राजनीतिक स्थितिमा सुधार गर्ने उद्देश्यले सन् १९४६ मा संयुक्त राष्ट्रसंघले महिलाको स्थितिसम्बन्धी आयोगसमेत गठन गरेको थियो । नेपालमा पनि महिलामाथि हुने लैंगिक, घरेलु हिंसा तथा यौनिक हिंसा नियन्त्रणका लागि विभिन्न ऐन तथा कानुनहरू बनेका छन् । तर, व्यवहारमा खासै प्रयोगमा आउन सकेको छैन, यसका पछाडि पीडित र कानुन पालनकर्ताको ठूलो कमजोरी देखिएको छ । नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९ र नेपाल अधिराज्यको संविधान २०४७, संविधान २०६३ द्वारा महिला अधिकार र हकको बारेमा स्पष्ट व्याख्या गरिएको छ । महिला र पुरुष कामदारबीचको असमानता र हिंसा न्यूनीकरणका लागि शिक्षित महिलाहरूले समेत प्रयोगमा ल्याउन सकिरहेका छैनन् । महिलामाथि हुने सबै प्रकारको भेद्भाव उन्मूलन गर्ने सम्बन्धमा सन् १९६७ मा अन्तर्राष्ट्रिय सहमति कायम भएको थियो ।
महिलाको उत्थान र विकास सम्बन्धमा जोड दिँदै सन् १९७५ मा संयुक्त राष्ट्रसंघले सन् १९७५ लाई अन्तर्राष्ट्रिय महिला वर्षको रूपमा मनाउने घोषणासमेत ग¥यो । महिलाविरूद्धको भेद्भाव उन्मूलन समितिले सन् १९९२ मा पारित गरेको सामान्य सिफारिले ‘लिंगमा आधारित महिलाविरूद्धको हिंसालाई राष्ट्रसेवक वा सामान्य नागरिक जोसुकैको गल्तीबाट सार्वजनिक अथवा व्यक्तिगत जुनसुकै जीवनमा भएको भएता पनि त्यसलाई अन्तर्राष्ट्रिय स्तरबाट प्रत्याभूत अधिकारको हनन हो’ भनी परिभाषितसमेत गरेको छ । नेपाल सरकारको ०६६ भदौ २६ को बैठकले सन् २०१० लाई लैंगिक हिंसाविरुद्धको वर्षका रूपमा घोषणा गरिएको थियो । बलत्कारजस्तो अपराधमा संलग्न जोकोहीलाई पनि कडाभन्दा कडा कारबाही गरी पीडितलाई उचित क्षतिपूर्तिसहितको न्याय दिलाउन सके मात्रै यस्ता घटनाहरू दोहोरिँदैन अन्यथा नारा, जुलुस, सभा, गोष्ठी र दिवसले केही हुने वाला छैन ।

राजधनी दैनिकमा प्रकाशित