हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, June 10, 2013

डेटिङमा च्वाइस



तपाईं डेटिङ जानुहुन्छ कि जानुहुन्न ? कुन खालको डेटिङमा रमाउँदै हुनुहन्छ ? कतै डेटिङको अर्थ नै नबुझी डेटिङमा होमिरहनुभएको त छैन ? प्रेमलाई मलजल गर्ने, हुर्काउने अवसर हो-डेटिङ। पश्चिमा मुलुकहरूमा यसलाई विभिन्न कोण र प्रकारले विभाजन गरिएको पाइन्छ। नेपालको सन्दर्भमा पनि समयसँगै यसका प्रवृत्ति र प्रकृतिले अनेक रूप लिन थालेका छन्। 

इन्गेजमेन्ट डेटिङ

एरेन्ज म्यारिज गर्नेहरूले इन्गेजमेन्टलगत्तै चिनापर्ची र एकअर्कालाई बुभmन गरिने डेटिङ हो- इन्गेजमेन्ट डेटिङ। हुन त अहिले युवायुवती आफंैले रोजेेर मात्र परिवारको साथमा इन्गेजमेन्ट गर्ने चलन बढ्दै गएको पाइन्छ। यस्तो अवस्थामा बाहेक परिवारले नै मन पराएर विवाह गराइदिन लागेका जोडीहरूका लागि यो डेटिङ अविस्मरणीय हुन्छ। यस्तो डेटिङले विवाहको दिन, सुहागरात आदिमा पर्ने केही अप्ठेरोपन हटाउनमा सघाउ पुर्‍याउँछ। इन्गेजमेन्टसँगै दुवै जना मिलेर अन्त कतै डेटिङस्पटमा रमाउने र भावी जीवनको खाका कोर्न पनि यस्तो डेटिङले सहायता गर्छ। 

सिरियस डेटिङ

प्लस टु पुस्ता माझ लोकपि्रय डेटिङ हो यो। अझ भनौं युवावस्थामा प्रवेश गरेलगत्तै डेटिङमा होमिने जोडीहरू यस्तो डेटिङमा रमाउँछन्। एक अध्ययनले विश्वमा यस्तो डेटिङमा रम्नेहरू ६० प्रतिशत भन्दा बढी हुने देखाएको छ। भर्खर युवा उमेरमा टेक्दै विपरीत लिंगीप्रतिको झुकावका कारण डेटमा जाने र त्यसैमा फसी मस्त हुने हुनाले यो लामो समयको डेटिङ मानिन्छ। यसलाई लङ टाइम डेट पनि भनिन्छ। यस्तो डेटिङमा हिंसा पनि हुने गरेको कतिपय अध्ययनमा उल्लेख छ। यस्तो डेटिङमा एक-अर्कालाई बुभmने भन्दा पनि जवानीमा मस्त हुने मनसाय देखिनु तथा उम्लिंदो जवानीको जोश थाम्न नसक्नु जस्ता कारणले शारीरिक सम्पर्क समेत हुने पाइएको छ। यसका साथै यौन हिंसा र संक्रमणको संभावना समेत यस्तो प्रकृत्तिको डेटमा हुने गरेको छ। 

यसका नकारात्मक मात्र होइन, सकारात्मक पाटाहरू पनि उत्तिकै छन्। यो उमेरमा एक-अर्कालाई बुझेर अघि बढ्नेहरूको दाम्पत्य जीवनमा समेत प्रगति भएको पाइन्छ। मायामा फस्ने र फसाउने यो उमेरलाई सदुपयोग गर्न सके जीवनको लक्ष्यमा पुग्न ठूलो सहयोग पुग्छ।

अनलाइन डेटिङ

युवापुस्ता माझ लोकपि्रय डेटिङ हो- अनलाइन डेटिङ। स्काइप, याहु, फेसबुक, ट्विटरजस्ता विभिन्न ब्लग तथा वेबसाइटहरूमा उपलब्ध च्याट सुविधाबाट आजको पुस्ता घर र अफिसमा काम गर्दागर्दै डेटिङको मज्जा लुटिरहेका हुन्छन्। भेटघाटका लागि समय कुर्नुपर्नेहरूका लागि पनि अनलाइन सहज माध्यम भएको छ। शब्दको च्याट मात्र होइन, फेस टु फेस च्याट गर्ने र भ्वाइस कल गर्ने सुविधाले प्रेमी/प्रेमिकाहरू मात्र होइनन् विदेशमा रहेका आफन्त तथा इष्टमित्रहरूसम्मले ठूलो फाइदा पाएका छन्।

अनलाइनले नै दाम्पत्य जीवनसम्म पुर्‍याइदिएको घटना पनि बढ्दै गएको छ। अचेल फेसबुकलगायतका सामाजिक सञ्जालहरूको लोकपि्रयतासँगै यसमा होमिने नेपालीहरूको जमात पनि बाक्लिँदै गएको छ। हालसम्म करिब १७ लाख नेपाली यसमा आबद्ध छन् भने फेसबुक प्रयोगकर्ताको विश्वसूचीमा नेपालको स्थान ६५ औं छ। विशेषगरी युवापुस्ता १८ देखि २४ वर्ष समूहको प्रयोगकर्ता मात्र कुल प्रयोगकर्ताको ४७ प्रतिशत छ। त्यसो त फेसबुक पनि डेटिङको एउटा अभिन्न पाटो बन्न पुगेको छ।

अनलाइन डेटिङको एउटा दोष के छ भने यसबाट भेट भएका सबै मान्छे राम्रा हुन्छन् भन्न सकिँदैन। कैयौंले नक्कली युवती र नक्कली युवा बनेर छलछाम गरिरहेका हुन्छन्। यति मात्र होइन, कैयांैले त व्यक्तिगत स्वार्थका लागि विभिन्न नाटक रचिरहेका हुन्छन। अनलाइन डेटमा किचकिच बढी हुनेे सम्भावना भएकाले जोडीहरूबीच शंका उत्पन्न हुने गरेको छ। यसका साथै अनलाइन डेटले कार्य क्षमता र समय बर्बाद गर्ने हुँदा व्यक्तिगत करियरमै चोट पुग्न सक्छ। 

मोबाइल डेटिङ

अनलाइन प्रविधिको विकास पूर्व मोबाइल डेट निकै लोकपि्रय थियो। हुन त अझै पनि अनलाइन डेटभन्दा मोबाइल डेटलाई विश्वासिलो मानिन्छ। प्रेमीजोडीहरू राति १० बजेपछि र बिहान ६ बजेअघि सस्तो रेटको सदुपयोग गर्दै डेट गर्छन्। यसका साथै आफन्त र कोही नभएको मौका छोप्दै पलपल मोबाइल डेटमा रमाउनेहरूको पनि कुनै कमी छैन। जोडीहरूलाई आफ्नो प्रेम प्रकट गर्न र प्रेमीको मन चोर्न यसले ठूलो सहयोग गरेको छ। जुनसुकै प्रकारको डेटपूर्व पनि मोबाइल नभै हँुदैन। डेटिङको सामान्य परिभाषाअनुसार भन्नुपर्दा मोबाइल संवाद नै डेट हो जुन लामो वा छोटो दुवै हुन सक्छ। मोबाइलमार्फत नै भिडियो कल गर्नेहरूको जमात पनि उत्तिकै छ। केही समयअघि मोबाइल सेक्सको कुरा पनि सार्वजनिक भएको थियो। सुनसान, गोप्य र न्यानो सम्बन्धका लागि मोबाइल डेट उत्तम मानिन्छ।

सेक्स डेटिङ

हुन त आजका युवापुस्तामाझ डेटिङ र सेक्स पर्यायझै बन्न थालेको छ। डेटिङ भन्नेबित्तिकै सेक्स अपिल र सेक्स स्याटिस्फ्याक्सन भन्ने बुभmन थालेका छन् कतिपयले। त्यसो त विभिन्न सार्वजनिक स्थलमै यस्ता जोडी भेटिने गरेका छन्। अनियन्त्रित डेटिङको एउटा रूप हो यो। सेक्स डेटिङले सेक्सकै लागि दुई जना भेटघाट गर्ने र यसकै लागि मात्र डेटमा जाने भन्ने बुझिन्छ। अन्तर्राष्ट्रि्रय रूपमा यो निकै फस्टाएको डेट हो भने नेपालमा पनि यसको सुरुवात भैसकेको छ। सेक्सबिनाको डेटिङलाई नुनबिनाको तरकारी भन्नेहरू नभएका होइनन्। आपसी समझदारीमा यो डेटिङलाई केही हदसम्म स्वीकार्य मान्न सकिन्छ तर बाध्यता, त्रास र मायाजालमा हुने यस्तो डेटले दीर्घकालीन चोट पुर्‍याउँछ। त्यसकारण यसप्रति आम युवा सचेत भएकै बेस।

परिवेश, मुलुक, आवश्यकता, चाहना र परिस्थतिअनुसार डेटिङलाई विभिन्न प्रकारले पनि चर्चा गर्न सकिन्छ, तर माथिका डेट प्रेमसँग सम्बन्धित र चलनचल्तीमा आएका मात्र हुन्। ग्यादरिङ डेटिङ, सामूहिक डेटिङ, रेगुलर डेटिङ, प्रारम्भिक डेटिङ आदि अन्य विभिन्न किसिमका डेटिङ पनि चलनचल्तीमा पाइन्छ। सामान्यतः डेटिङ शब्द प्रेमी/प्रेमिकाबीचको रसरङका रूपमा मात्र लिने गरिए पनि यसको सिमा यति मात्र होइन। सामान्य भेटघाट र चिनापर्ची पनि डेटिङको एउटा रूप हो। 

फेसबुक डेटमा ध्यान दिनुपर्ने कुरा

अनलाइन डेटिङमध्ये अति लोकपि्रय डेट हो- फेसबुक डेटिङ। यसमा डेटिङ गर्ने जोडीहरूले विशेष ख्याल भने राख्नुपर्छ। आफ्नो डेट साथीलाई उसको स्वीकृतिबिना कुनै पनि फोटो ट्याग गर्न हुँदैन जसले उसमा नकारात्मक भावना उब्जन सक्छ। फेसबुकको आफ्नो प्रोफायलमा वैवाहिक सम्बन्धलगायतका कुरा पोस्ट गर्नुपर्दा ध्यान पुर्‍याउनुपर्छ। डेट पार्टनरलाई थाहा नदिइएका वा बोलेका कुराभन्दा झूटा विवरण पाइए आफूप्रति विश्वास घट्ने हुँदा यसतर्फ पनि ध्यान दिनुपर्छ। अर्काे महत्वपूर्ण कुरा, फेसबुकमा पोस्ट गर्ने स्टाटस विशेष ख्याल गरेर मात्र पोस्ट गर्नुपर्छ, अन्यथा आफ्नो रहस्य खुल्ने मात्र होइन, भित्री व्यवहार समेत अरूले चाल पाउने सम्भावना हुन्छ। त्यसकारण यस्तो व्यवहार नियन्त्रण गर्नतिर लाग्नुपर्छ। 

फेसबुक च्याट गर्दा प्रयोग गरिने शब्दमा अनुशासन र धैर्यता गुमाउनु हुँदैन। च्याट गर्नुपूर्व साथीको साथमा अरू पनि छन कि भन्ने विचार गर्नुपर्छ। आफ्नो चलाखी वा प्रतिभा देखाउने नाममा भद्दा, अस्पष्ट र छोटो शब्दको अधिक प्रयोग गर्नु राम्रो मानिँदैन। यस्ता कुरामा ध्यान दिन सके आफ्नो प्रेमी/प्रेमिकाको आफूप्रतिको हेराइमा चोट पुग्दैन। 

साप्ताहिकमा प्रकाशित

Tuesday, June 4, 2013

स्ववियु चुनाव स्थगन किन भयो ?


 रामजी बलामी 



 
लामो समयपछि हुन लागेको स्ववियु चुनाव पुनः अन्यौलमा परेको छ ।
विद्यार्थी संगठनहरू धमाधम तालाबन्दी र आरोप–प्रत्यारोपमा उत्रेपछि भाँडभैलो हुने भन्दै निर्वाचन स्थगन गरिएको हो। चुनाव स्थगनसँगै नक्कली भर्ना र यसको सेरोफेरो परिक्रमा गरिरहेका तत्त्वहरूले बल्ड्याङ मात्रै खाएका छैनन्, उतानो परेका छन्। अरुलाई पछार्न राखेको गोबरमा आफैं चिप्लेका छन् विद्यार्थी संगठनहरू यतिखेर। निर्वाचन स्थगन हुनुको प्रमुख कारण भनेको विद्यार्थी संगठनहरूले रातारात नक्कली विद्यार्थी भर्ना गर्नु र आफ्नो गल्ती स्वीकार्न नचाहनु हो। एकले अर्काेलाई नक्कली विद्यार्थी भर्ना फिर्ता लिनुपर्ने प्रत्यारोपको जुहारी खेलिरहेका विद्यार्थी यतिखेर कुम्भकर्णे निन्द्रामा मस्त छन्। निर्वाचन स्थगनले उनीहरूमा पीर होइन हाइसन्चो छाएको देखिन्छ। जसरी पनि निर्वाचन जित्ने हेतुका साथ राजनीतिमा होमिएका विद्यार्थी संगठनहरूले आफ्नो मूल मर्मसमेत भुल्दै गएका छन्। 



राजनीतिक दलहरूको मिनी निर्वाचनको रूपमा समेत लिइने यो निर्वाचनलाई दलहरूले आफ्नो हैसियत मापन गर्ने माध्यमको रूपमा समेत लिने गरेका छन्। विद्यार्थीको हकहित र समग्र शैक्षिक जगतलाई माथि उकास्ने नाराका साथ उदाएका विद्यार्थी संगठनहरू पछिल्लो समय राजनीतिक झन्डामुनि बसेर लक्ष्यभन्दा पनि राजनीतिक रंग दल्न थालेका छन्। त्यसो त स्ववियु निर्वाचनमा पनि विभिन्न खाले राजनीतिक तरंगहरू उत्पन्न हुन थालेका छन्। राजधानीका विभिन्न क्याम्पस आसपासका क्षेत्रहरू नियाल्दा यो चुनाव विद्यार्थीको नभई माउ पार्टीहरूको संसदीय चुनावको झ–झल्को दिन्थ्यो। भित्ते लेखन, पोस्टर, रंगरोगन र प्रचार शैली हेर्दा विद्यार्थी संगठनहरूको आयस्रोत निकै गहकिलो भएको भान हुन्छ। तर सञ्चारमाध्यममा अन्तरवार्ता सुन्दा अचम्म लाग्छ। आफन्त, नातेदार, मित्र र विद्यार्थी संगठनलाई माया गर्नेहरूबाट सहयोग प्राप्त गरी प्रचार–प्रसार गरिएको टुक्के सन्दर्भ बताउन हिच्किचाउँदैनन् उनीहरू। एक कोणबाट नियाल्दा यो विद्यार्थी संगठनहरूको निजी मामिला हो, वादविवाद र विरोध गर्नु खासै आवश्यक होइन कि जस्तो पनि लाग्छ तर विचारणीय र रहस्यमय कुरा के छ भने, स्ववियु निर्वाचनको यो प्रवृत्तिले मुलुकको अर्थतन्त्रमै धक्का लाग्ने स्वाभाविक देखिन्छ। 


विशेष गरी ठूला तीन पार्टीका विद्यार्थी संगठनहरू अनेरास्ववियु, क्रान्तिकारी र नेविसंघले निकै ताम्झामका साथ प्रचारप्रसारलाई जोड दिएका थिए। विगतमा पनि निर्वाचन जित्नका लागि लाखौं रकम खर्चेर भएभरको शक्ति लगाएको आरोप नलागेको होइन। प्रचारप्रसारको शैली, प्रवृत्ति र बेथिती हेर्दा विद्यार्थी संगठनहरूले ठूलै दानवीर पाएको अनुभूति हुन्छ। तर यो कुरा उनीहरू स्वीकार्न तयार छैनन्। विद्यार्थी संगठनहरू यति पनि स्वीकार्दैनन् कि माउ पार्टीबाट प्राप्त चुनावी खर्चसमेत ‘हो’ भन्न चाहँदैनन्। आखिर यो ध्रुवसत्य हो भन्ने कुरा सबै सामु छर्ल·ै छ। एउटा अभिभावकले आफ्नो बालबच्चालाई स्याहार गर्दैन भन्नुजस्तो मूर्खता अरु के होला ? माउ पार्टीबाट जोहो नहुने भए यत्रो खर्च विद्यार्थी संगठनहरूले कहाँबाट जुटाए होलान् ? यो महत्त्वपूर्ण प्रश्न हो। विद्यार्थी संठनका लागि भनेर स्वेच्छाले यति धेरै रकम दान गर्ने मनुवा पनि नेपालमा छन् र ? चन्दा असुलेको प्रसंग कोट्याउँदा नमिल्दो होला, त्यसकारण चुनावी खर्चको जोहोदार माउ पार्टी नै हो भन्ने कुरामा कुनै शंका छैन। कुन पार्टी कतिको धनवादी छन् भन्ने कुरा सबैले बुझेका छन् भने आखिर किन लुक्न पर्यो ? चुनाव जित्नैका लागि लाखौं रकम नक्कली विद्यार्थीको नाममा खर्चिने र राजनीतिक छत्रछायामा पार्दै मते (मतका लागि मात्रै) विद्यार्थी भर्ना गर्नुजस्तो जालझेललाई के भन्नु? विशेषतः एमाले निकट विद्यार्थी संगठनका माधव ढुंगेल र एमाओवादी निकट संगठनका हिमाल शर्मा नक्कली विद्यार्थी भर्ना फिर्ता गर्ने कि नगर्ने भन्ने विषयमा चर्काे बहसमा उत्रेका थिए। त्रिवि कर्मचारीलाई रातभर जाग्राम राखेर तोकिएको समयसीमा मिचेर भर्ना गरेको आरोप एक–अर्कालाई लगाइरहेका छन्। यही प्रत्यारोपको राजनीतिले अन्ततः चुनाव स्थगन हुन पुगेको हो।

यहाँ महत्त्वपूर्ण कुरा के हो भने, विद्यार्थी संगठनहरूको यो चुनावमा खर्चेको रकम कमाउने बखत आमनेपालीको शिरमा भारी पर्नेछ। माउ पार्टीबाट जुरे पनि, चन्दाबाट जुरे पनि साहू–महाजन मात्रै होइन कर प्रणालीमै असर पर्नेछ। जब राष्ट्रिय करमा असर पुग्छ भने त्यो भनेको हामीले खाइ–नखाइ तिरेको करमाथि अत्याचार मच्चाउनु हो। यो जस्तो घृणित र अन्याय सायदै होलान्। विद्यार्थी संगठनहरूभन्दा पनि माउ पार्टीबाट आर्थिक अनियमितता र चलखेल अधिक हुने गरेका छन्। यसैको कमाइ अंश विद्यार्थी आन्दोलन र विद्यार्थी निर्वाचनमा खर्चिंदै आएका छन्। त्यसो त राजनीति सेवामुखीभन्दा पनि कमाउमुखी बनिरहेको परिप्रेक्ष्यमा राजनीतिबाट आश गर्नु बेकार साबित बनेको छ। अहिलेका विद्यार्थी संगठनका नेताहरू माउ पार्टीका भावी नेताहरू हुन्। अहिलेका अधिकांश नेताहरू पनि विद्यार्थी आन्दोलनबाटै आएका हुन्। 

स्ववियु निर्वाचनमा जीत हासिल भए ठूलै कमाइ हुने भएकाले पनि अहिले रकम खर्चिन खासै कन्जुस्याइँ नगरेको बताइन्छ। विद्यार्थी र सर्वसाधारणको हितको लक्ष्य बोकेका विद्यार्थी संगठनहरूले कमाउने–जमाउने राजनीति गर्न थालेपछिको अवस्था कसरी तुलना गर्ने ? वास्तवमा स्ववियु निर्वाचन विद्यार्थी राजनीति र विद्यार्थी हितको पक्षमा हुनुपर्ने थियो तर अहिले संसदीय राजनीति भइरहेको छ। प्रचारप्रसार र प्रशिक्षणमा समेत केन्द्रीय तहका नेताहरू सामेल भएका छन्, नेतृत्वमा रहेका नेताहरूसमेत हाकाहाकी स्ववियु चुनाव आफ्नो पक्षमा पार्न जस्तोसुकै शक्ति पनि अवलम्बन गर्ने भाषण गर्दै हिँडेका देखिन्छन्। विद्यार्थीको हकहितको नाराभन्दा पनि माउ पार्टीको नारा घन्काएर हिँडेका छन् विद्यार्थी संगठनहरू। बौद्धिक हिसाबले भन्दा पनि पाखुरे प्रवृत्ति हाबी देखिन्छ विद्यार्थी संगठनहरूमा। विद्यार्थी संगठनहरूबीच न समन्वय देखिन्छ, न त विद्यार्थी हितका पक्षमा वकालत नै। विद्यार्थीहरूको पक्षमा लड्नका लागि समेत एकजुट हुने लक्षण देखिएको छैन। विद्यार्थीको आँखामा छारो हाल्ने नियतले कार्यकर्ताको पगरी गुथ्नु सायद राम्रो होइन होला कि ? 

विद्यार्थी संगठनहरूले विद्यार्थीका लागि राजनीति गर्नुपर्छ, केन्द्रीय राजनीतिका लागि होइन। विद्यार्थी संगठनहरू जबसम्म विद्यार्थी हित र विद्यार्थीमुखी राजनीतिमा अग्रसर हुन सक्दैनन् र माउ पार्टीको पुच्छर बन्दै दलीय राजनीति गरेर हिँड्छन् तबसम्म विद्यार्थी संगठनहरू विद्यार्थीका लागि नभई राजनीतिका लागि हुन्छन्। विद्यार्थी संगठनका कार्यकर्ताहरूभन्दा राजनीतिक भ्रातृ संगठनका कार्यकर्ताहरूको भविष्य राम्रो देखिन थालेको छ। नेता बन्नका लागि होइन, मूल मर्मअनुरूप विद्यार्थी हितको मुद्दालाई समेटेर अघि बढ्नुपर्छ, ताकि विपक्षी भनिएका विद्यार्थीले पनि सुटुक्क प्रवेश गर्ने इच्छा व्यक्त गरुन्। शैक्षिक क्षेत्रमा राजनीतीकरण भएको अहिले मात्रै होइन, तर सीमा नाघेर जुन खालको विकृति पैदा भएको छ त्यो भने स्वीकार्न सकिन्न। विद्यार्थीहरू विद्यार्थी संगठनमा आबद्ध हुनुका पछाडिसमेत रहर नभएर कर र बाध्यात्मक कारणहरू रहेका छन्। यो हुनुको एउटै कारण संगठनले विद्यार्थीको मर्कामा मलम लगाउनेभन्दा नूनचुक छर्ने र माउ पार्टीको फेर आवश्यकभन्दा बढी समाउनु नै हो। जसले विद्यार्थी संगठनहरू पछिल्लो समय राजनीतिक दलसँग पर्यायवाची साबित बन्न पुगेका छन्। 

अतः स्ववियु निर्वाचन स्थगन हुनुको एउटै कारण विद्यार्थी संगठनहरूबीच देखिएको मतभेद र अपारदर्शी ढंगले गरिएको नक्कली विद्यार्थी भर्ना प्रकरण नै हुन्। अरुलाई भनेर हानेको गुलेलीको ढुंगाले कहिलेकाहीँ उछिट्टिएर आफैंलाई पनि लाग्न सक्छ। यतिखेर विद्यार्थी संगठनहरू पनि यही नियत भोग्न विवश छन्। विपक्षीलाई लडाउन खोज्दा सबै जना उत्तानो पर्ने गरी पछारिन पुगेका छन्।

नेपाल समाचारपत्रमा प्रकाशित

Thursday, May 23, 2013

वैद्यको आन्दोलन बेमौसमी बाजा

रामजी बलामी


बाघ आएको चाल पाउनासाथ उसलाई भगाउन थाल ठटाउँनु भनेको ‘म यता छु है’ भनेर सुचना दिनु हो । त्यस्तै चुनाव आउँना साथ तोडफोड र आन्दोलनमा उत्रनु चुनावदेखि डराउँनु हो । राजनीतिज्ञहरू जहिल्यै पनि निर्वाचनकै प्रतिक्षामा हुन्छन भन्ने विश्वव्यापी मान्यता छ तर विडम्वना निर्वाचनदेखि डराउनेहरू पनि हुन्छन । निर्वाचनदेखि डराउनु भनेको राजनीतिदेखि नै डराउनु हो । जसरी डराइ–डराइ गरेको काम विग्रिन्छ त्यसरी नै डरत्रास मिश्रित राजनीतिले सकारात्मक नतिजा दिंदैन ।  
लामो समयको कसरतपछि अन्ततः मुलुक चुनावी प्रक्रियामा पुगेको छ । ठूला÷साना दलहरू मात्रै होइन जनताहरू पनि चुनावका लागि एक किसिमले तम्तयार नै देखिएका छन । चोक चौतारीदेखि मेलापातमा समेत आगामी संविधान सभाको निर्वाचन र यसको नतिजाका विषयमा बहस हुन थालेका छन । एक किसिमले आम नेपाली समुदायमा चुनावी माहोल सिर्जना भइसकेको छ तर विडम्वना चुनावी सरकार गठन भएको यतिका दिन सम्म पनि निर्वाचनको मिति घोषणा हुन सकेको छैन । यसले असारमा निर्वाचन हुने संभावनामा बादल मात्रै लागेको छैन निर्वाचन नै अनिश्चित हुने पो हो कि भन्ने शंका घेरा बढ्दै गएको छ । पछिल्लो समय लोकमान प्रकरणले त झन आगोको झिल्कामा पेट्रोल छर्कने काम भएको छ  ।
मनलाई गाँठो पारेरै भए पनि अन्ततः सत्ताको पोका पन्तुरा प्रधानन्याधीशको हातमा सुम्पेर दलहरू चुनावी माहोलमा होमिएका छन । राप्रपा नेपाल लगायतका ठूला दलहरू दोश्रो पटकको संविधान सभाको निर्वाचनका लागि माहोल सिर्जना गरिरहंदा नेकपा–माओवादी लगायतका अन्य केही साना दलहरू भने आन्दोलनको माहोल सिर्जना गरिरहेका छन । उनीहरू थाल ठटाएर बाघ तर्साउँने खेलमा लागेका छन । दलहरूबीच भएको ११ बुदे सहमति लगायतका विषयमा आपत्ती जनाउँदै सरकारविरुद्ध निरन्तर खबरदारी आन्दोलन गरिरहेका छन । दश वर्ष संगै जुठो खाएका बैद्य माओवादीहरू निर्वाचन भाड्न जस्तोसुकै संयन्त्र लागु गर्न पनि पछि परेका छैनन् ।
विगतमा एनेकपा माओवादीको छाप अंगाल्दैछ अहिले नेकपा–माओवादी । मुलुकको सम्मुनत विकास र आर्थिक राजनीतिक क्रान्ति गर्ने उसको उद्घोष अनुसार हिड्ने हो भने निर्वाचनमा होमिनु सर्वश्रेष्ठ कुरो हो । अहिलेको परिप्रेक्षलाई आधार मानेर भन्नु पर्दा निर्वाचन देखि डराउने नभइ भिड्ने आँट गर्नु पर्छ । निर्वाचनले नै दलहरूको स्तरीयता र जनताहरूको चाहना वुभ्mने र लोकप्रियताको शिखर चुम्ने अवसर मिल्ने भएकाले ड्यास माओवादीको अहिलेको गतिविधिलाई कुनै हालतमा स्विकार्य मान्न सकिन्न । आफ्नो क्षमता र सामथ्र्य छ भने परीक्षामा जस्तोसुकै कडाई गरे पनि उक्त विद्यार्थी अवष्यै उतिर्ण हुन्छ । परीक्षादेखि डराउने विद्यार्थी र निर्वाचनदेखि डराउने राजनीति पार्टी र नेता उस्तै हुन ।
आखिर किन निर्वाचन भाड्न संयन्त्र परिचालन गर्दैछन त नेकपा–माओवादी ? यो कुरो बुभ्mन कुनै विश्लेषकको खाँचो पर्दैन । मत परिणाम आफ्नो पक्षमा नहोला कि भन्ने त्रासले राजनीतिक दलहरू जहिल्यै पनि जेलिएका हुन्छन् । यही त्राहीमाम रनभुल्लमा यतिखेर भुलिरहेका छन नेकपा–माओवादी । हुन त पहिलो निर्वाचनमा पनि केही दलले यस्तो नीति नलिएका होइनन् । संविधान सभाको ठूलो दलका रुपमा चिनिएका एमाओवादी समेत कब्जा र मतपत्र खोसखास गर्ने सुरमा थिए त्यतिखेर । अब विगतका कुरालाई कोट्याएर भन्दा वर्तमानलाई मध्यनजर गर्दै अगाडि बढ्नु वुद्दिमानी हुन्छ । नेकपा–माओवादीले वुभ्mनु पर्ने अर्काे कुरा के हो भने अहिले पनि पाखुरे प्रवृति अंगालेर मत आफ्नो हातमा पार्ने र पाखुरे चुनावी माहोल सिर्जना गर्ने कुरा सोच्नु कल्पना सिवाय केही पनि होइन । राजनीतिमा पाखुरे प्रवृति उनीहरूका लागि नियम होला तर जनताका लागि नियत बनेको छ । त्यस कारण निर्वाचनदेखि तर्सिनु भन्दा सकारात्मक ढंगबाट जनविश्वास जित्ने र जनप्रेमी बन्ने उपाय अंगाल्नु पर्छ । यसैमा भलो हुने देखिन्छ ।
नेकपा–माओवादीको पुच्छर समाउँदै हिडेका दलहरूले पनि अब चोखो मनले सोच्ने बेला आएको छ । केही मधेसी नेताले सत्ताका लागि समर्थन गर्ने गरे जस्तो अहिलेको परिवेश छैन । जता गुलियो उतै भुलियो बनेर राष्ट्र र राष्ट्रियताको नाममा स्वार्थ केन्द्रित राजनीति गर्ने हो भने आगामी निर्वाचनमा जनताले तीन बल्डयाङ ख्वाइ दिने पक्कापक्की छ । यस कारण पनि साना दलहरूले आन्दोलनका लागि होइन निर्वाचनका लागि समर्थन गर्नु पर्छ । आन्दोलनका लागि तयार हुने समय निर्वाचनको माहोल सिर्जना गर्नतिर लाग्नु पर्छ । मिति समेत घोषणा नभएको अवस्था भएकाले अहिले देखि नै प्रभावकारी कोसिस थाल्ने हो भने केही सिट पक्कै सुरक्षित होला । 

विरोध, विवाद, प्रत्यारोप र संघर्ष राजनीतिका नियम नै हुन । हरेक निर्णयका पछाडि वादविवाद अवष्यै हुन्छ । यो अनिवार्यताको सिद्धान्त जस्तै पनि हो । निर्वाचनको सन्दर्भमा कुरा गर्नु पर्दा पनि विरोध हुनु कुनै आइतवारे कुरो होइन । विगतमा पनि यस्ता थुप्रै विवाद भएका थिए । कतिपय निर्णयहरू विवाद लत्याएरै पनि गर्नु पर्ने हुन्छ र भएका पनि छन । आगामी निर्वाचनमा पनि यो सिद्धान्त लागु हुने पक्का छन त्यस कारण विरोधका लागि पाखुरा सुर्काउँनु भन्दा लोकप्रिय बन्ने र जनताबाट वाहवाही कमाउने तर्फ लाग्नु सवैको हितमा हुनेछ ।
निर्वाचनको विरोध गर्ने दलहरूले हृदयदेखि सोच्नु पर्ने कुरा के हो भने अबको निर्वाचनको विकल्प के ? यदि निर्वाचनको विकल्प छैन भने निर्वाचनलाई किन धकेल्ने ? निर्वाचन ढिलो हुंदा केही मत आफ्नो पक्षमा आउँला भन्ने सोच भ्रम सिवाय केही होइन । किनभने जति निर्वाचन सर्दै गयो त्यति नै राजनीतिक संक्रमण र मुलुकको अवस्था नाजुक बन्दै जान्छ । लहरो तान्दा पहरो थकिर्ने संभावना बढ्दै जान्छ । आगोको झिल्कामा पेट्रोल छर्कने दलहरूलाई एउटा निंहु भए तीन महिना काफी हुन्छ । विगतमा संविधान निर्माणका बखत देखिएको चालाले पनि यो कुरा पुष्टी हुन्छ । यदि अहिले निर्वाचन नगर्ने हो भने प्रधानन्यायधीशको नेतृत्वमा सरकार गठन गर्नुको कुनै औचित्य रहेन ।
असारको पहिलो साता भित्र निर्वाचन गर्ने वताएका दलहरूले आफ्नो बोलीको भेउ विगारेरै भए पनि मंसिर भित्र निर्वाचन गरिसक्नु पर्छ । किनकी असारमा निर्वाचन गर्न आवश्यक पुर्व तयारी पनि पुगेको छैन । फोटोसहितको मतदाता नामावली संकलन अभियानले पनि पुर्णता पाउन सकेको छैन । विगतमा वेवास्ता गरेका नागरिकहरूले समेत पछिल्लो पटक यसप्रति उत्साह जगाएका छन । यतिखेर राजनीतिक दल र जनताले मात्रै होइन मुलुकले नै निर्वाचन चाहिरहेका छन । त्यसैले साच्चिकै मुलुकको काँचुली फेर्न लालयित बनेका हुन भने सवै दलहरू निर्वाचनको माहोल सिर्जना गर्ने तर्फ लाग्नु पर्छ । सरकारले पनि तत्काल निर्वाचनको मिति घोषणा गर्नु पर्छ । हुन त निर्वाचन हुंदैमा संविधान बन्ने कुनै ग्यारैन्टी छैन तर पनि आजको आवश्यकता निर्वाचन नै हो । यसको कुनै विकल्प छैन । 

Wednesday, May 15, 2013

Ncell को फेसबूक पेजमा यस्तो लाजमर्दो प्रतिकृया

आफ्नो ग्राहक एक करोड पुगेको भन्दै खुशीयाली मनाइ रहेको Ncell लाई ग्राहकहरुले दिएको सुझाब कतिको मनन गर्लान त्यो हेर्न बाँकी नै छ । Ncell को फेसबूक पेजमा ग्राहकहरुले दिएको प्रतिकृयाले आश्चर्य चकित बनाइ दिएको छ ।  दुई घण्टा अघि पोस्ट गरेको फोटोमा प्राप्त १ सय ७० भन्दा बढी (यो सामाग्री तयार पर्दा सम्म) प्रतिकृया मध्ये औंलामा गन्न सकिने मात्रामा मात्र सकारात्मक् प्रतिकृया आएको देखिन्छ । Ncell को पेज बाट लिएको यो सामाग्री जस्ताको त्यस्तै हेर्नुस्

Photo: Ek Karodma Ek Ma!

Today, Ncell is the biggest and happiest family in Nepal with One Crore members. And within that One Crore family are you and I.

Ncell, Here for Nepal