पर्वतमा अपहरणमा परेको भनिएका दुई स्कुले बालिकालाई उनकै पिता कृष्णप्रसाद तिवारीले जिउँदै मोदी खोलामा फ्याँकेर हत्या गरेको खुलासा प्रहरीले गरेको छ। प्रहरीले आज पत्रकार सम्मेलन गर्दै घटनाको प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गरेको हो।
बालिकाकी आमा रोजगारीको सिलसिलामा इजरायल छन्। बाबु पनि गत जेठमा मात्रै इराकबाट आएका थिए। मध्यमवर्गीय परिवारका कृष्णप्रसादका तीन छोरी भए पनि अर्की छोरी नम्रता काकाको घरमा भएकाले जोगिएको बालिकाकी फुपू पार्वती लामिछानेले बताइन्।
घटनाको छानबिन गर्न काठमाडौँबाट प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतको टोली आएको थियो। तिवारी चार दिनदेखि प्रहरी हिरासतमा थिए।
४-५ जनाको मुकुन्डोधारी समूहले पर्वत जिल्लाको पिपलटारी-९ स्थित घरबाटै छोरीहरुलाई अपहरण गरेको पिता कृष्णप्रसाद तिवारीले बताउँदै आएका थिए। उनकी दुई छोरी मध्ये ८ वर्षकी नमूना राष्ट्रिय बाल शिक्षा सदन कुश्मामा कक्षा २ मा र छ वर्षकी नवीना कक्षा १ मा पढ्थिन्।
यस क्षेत्रमा कुनै भूमिगत सशस्त्र समूहको गतिविधि नभएकोले प्रहरीले घटनालाई रहस्यमय भएको बताएको थियो। घटनास्थल बाग्लुङ-पोखरा राजमार्गको दोबिल्लादेखि एक किलोमिटर पूर्व पर्छ। छोरीलाई स्कुल पठाउन सजिलो हुने भएपछि केही महिनादेखि उनी खेतबीच घर बनाएर बस्दै आएका थिए।
अपहरणमा थोरै रकम मागेकाले पेसेवर अपहरणकारी नभएको प्रहरीले शंका गरेको थियो। 'पेसेवर भएको भए दुई बालिकाको लागि लाखमात्र माग्ने थिएनन्,' अनुसन्धानमा संलग्न प्रहरी अधिकृत विजयराज पण्डितले भनेका थिए।
साभार : नागरिक दैनिक
No comments:
Post a Comment
तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।