हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Thursday, March 15, 2012

परीक्षामा समय व्यवस्थापन



रामजी बलामी


परीक्षामा समयको उपयोग गर्न जान्ने विद्यार्थीले नै सफलता हासिल गर्छ। निर्धारित समयभित्र सोधिएका प्रश्नहरूको जवाफ सही तरिकाले  नियमसंगत ढंगले हल गर्नुनै सफल विद्यार्थीको गुण हो। कुनै पनि परीक्षामा प्रश्नअनुसार समय छुट्याइएको हुन्छ त्यसैले प्रश्नको अंक हेरेर  त्यसको हल गर्न थाल्नुपर्छ।




परीक्षा र समयबीच घनिष्ठ सम्बन्ध छ। कुनै पनि परीक्षाचाहे शैक्षिक होस् चाहे रोजगारीका लागि नै किन नहोस् समयको महत्व उत्तिकै हुन्छ।  परीक्षामा निर्धारित समायभित्र सोधिएका प्रश्नको हल गरिसक्नुपर्छ। परीक्षामा समयको महत्व कति हुन्छ भन्ने कुरा नबुझ्ने विद्यार्थी सायद  कमै होलान तर समयको सदुपयोग गर्न नजान्दा पछुताउने विद्यार्थीहरूको पनि कुनै कमी छैन।

शैक्षिक प्रणालीमा आएको आधुनिक अवधारणासागै नेपालमा पनि महिनैपिच्छे आन्तरिक परीक्षा सञ्चालन गर्ने परिपाटीको विकास भएको छ।  अझ कयौं निजी स्कुलमा त हप्तैपिच्छे कक्षागत परीक्षा सञ्चालन गरिएको पाइन्छ।

विद्यार्थीको अध्ययनशीलता जाँच्ने एउटा औजार पनि हो— परीक्षा। परीक्षाले नै विद्यार्थीको मूल्यांकन र भावी जीवनको मार्गदर्शन गर्छ तर पनि  परीक्षा भनेपछि विद्यार्थीहरू आतङकित बन्ने गरेका छन्। यसो हुनुको कारण विद्यार्थीवर्गमा परीक्षाप्रतिको धारणामा सकारात्मक परिवर्तन  आउन नसक्नु र परीक्षा प्रणालीमा सुधार नआउनु हो। वर्ष दिनभरिको पढाइलाई निर्धारित तीन घन्टाभित्र हल गर्नुपर्ने  बाध्यता नै विद्यार्थीहरू  परीक्षाबाट डराउने एउटा प्रमुख कारण हो।

परीक्षामा समयको उपयोग गर्न जान्ने विद्यार्थीले नै सफलता हासिल गर्छ। निर्धारित समयभित्र सोधिएका प्रश्नहरूको जवाफ सही तरिकाले  नियमसंगत ढंगले हल गर्नुनै सफल विद्यार्थीको गुण हो। कुनै पनि परीक्षामा प्रश्नअनुसार समय छुट्याइएको हुन्छ त्यसैले प्रश्नको अंक हेरेर  त्यसको हल गर्न थाल्नुपर्छ। अधिकांश विद्यार्थी, बढी अंकको प्रश्नलाई आवश्यकभन्दा बढी समय लगाएर आवश्यकताभन्दा बढी उत्तर लेख्ने  खालका हुन्छन् जसले गर्दा अरू प्रश्नलाई समय अभाव हुन्छ। त्यसैले कुनै पनि प्रश्नको हल गर्नु पूर्व त्यसको नम्बर (अंक भार) हेरेर समय  छुट्याउनुपर्छ।

समयको सदुपयोग गर्न नजान्दा आफूले जानेको प्रश्नको हल गर्नसमेत समय अपुग हुन्छ। सोही समय (निर्धारित समय) कसैका लागि अपुग  हुन्छ भने कसैका लागि बढी। अहिले त झन् लोडसेडिङ समस्याले विद्यार्थीवर्ग अध्ययनसम्बन्धी थप मारमा परेको छ।


परीक्षार्थीले ध्यान दिनुपर्ने कुराः


परीक्षाको तयारी गर्ने बेलादेखि नै कुन पाठ (च्याप्टर) बाट कति नम्बरको, कस्तो र कति वटा प्रश्न सोधिने हो पत्ता लगाएर अध्ययन गर्नुपर्छ।  यसको अर्थ परीक्षामा मात्र अध्ययन गर्ने भन्ने होइन। अध्ययन भनेको परीक्षामा उत्तीर्ण हुनु मात्र होइन भविष्य निर्माण पनि हो त्यसैले सकभर  हरेक पाठ गहनतापूर्वक अध्ययन गर्नुपर्छ।

अधिकांश विद्यार्थी परीक्षा हलभित्र छिर्नासाथ निराश र हतोत्साही हुन्छन् जसले गर्दा उनीहरूले पढेको कुरा बिर्सन्छन्। यस्तो समस्या  नियन्त्रणकालागि परीक्षाप्रतिको धारणा सकारात्मक हुनुपर्ने तथा परीक्षालाई सामान्य रूपमा लिइनुपर्ने विज्ञहरू बताउाछन्। परीक्षालाई सामान्य  रूपमा लिने भन्नुको अर्थ परीक्षाप्रति फैलिएको नकारात्मक धारणा हटाउनु  हो।

कतिपय विद्यार्थीमा प्रश्नपत्र हात पर्नासाथ प्रश्नपत्र नियाल्दै उत्तर सोच्ने बानी हुन्छ जसले गर्दा समय खेर गैरहेको हुन्छ। त्यसैले सरसर्ती मात्र  प्रश्न हेरेर आफूलाई कन्फ्युज नलाग्ने प्रश्नबाट उत्तर लेख्न थाल्नु पर्ने जानकारहरू बताउँछन्।

आफूलाई कन्फ्युज लागेको प्रश्न पहिले हल गर्नु हुँदैन अंकभारभन्दा पनि प्रश्नको उत्तरप्रति आफू कतिसम्म निर्धक्क छु त्यसको ख्याल गर्नुपर्छ।  

कतिपय विद्यार्थी आफूले जानेको कुरा पनि साथीहरूसँग सोधिरहेका हुन्छन्। एकातिर यो परीक्षाको नियमविपरित कार्य हो भने अर्कातिर त्यसबाट समय खेर गैरहेको हुन्छ। अझ महत्वपूर्ण कुरा त साथीको हेर्ने, चोर्ने बानीले आफूले जानेको कुरामा समेत कन्फ्युज हुन्छ त्यसैले  यस्तो बानी त्याग्नुपर्छ।

पहिलो घण्टी बज्ना साथ चर्पी जाने र चिट चोर्ने दाउमा हुन्छन् विद्यार्थीहरू। जसले सबैभन्दा बढी समय खान्छ। चिट चोरी हाले पनि कपीमा  उतार्न उत्तिक्कै गाह्रो हुन्छ तसर्थ सुरुमै यस्ता कुरा तिर ध्यान दिनु हुँदैन।

प्रत्येक प्रश्नको अंकभार हेरेर मात्र समय छुट्याउनुपर्छ ताकि कुनै पनि प्रश्नलाई आवश्यकभन्दा बढी समय नलागोस्। अरू महत्वपूर्ण प्रश्न  नछुटोस्।

परीक्षामा आफूलाई चाहिने सामग्रीहरू आफैंले  बोक्नुपर्छ किनभने साथीसाग माग्दा एकातिर साथीलाई डिस्टर्व हुन्छ भने अर्कातिर समय खेर  जान्छ।

समयको सदुपयोग गर्नेहरू कुनै पनि परीक्षामा असफल हुँदैनन्। समयको महत्व सबैभन्दा बढी विद्यार्थीवर्गलाई थाहा हुनुपर्छ र हुन्छ । त्यसो त  परीक्षा हल बाहिर निस्कना साथ 'अझ पााच मिनेट समय भएको भए यति-उति गर्थे' भनेर विद्यार्थीहरूको मुखबाट निस्कने वाक्यले नै  समयको महत्व उजागर गर्छ। समयलाई न तन्काउन मिल्छ न घटाउन मिल्छ त्यसैले समयको सदुपयोग गर्न सक्नु विद्यार्थी वर्गका लागि मात्र  नभएर सबैका लागि उत्तिकै आवश्यक कुरा हो।


कान्तिपुरको सह-प्रकाशन साप्ताहिकमा प्रकाशित