रामजी बलामी
गतसाता नेपाली संचारमाध्यममा प्रविधिसँग
सम्वन्धित दुईवटा घटनाले स्थान पायो । एउटा अनलाइन समाचारसँग सम्वन्धित
थियो, अर्को सामाजिक सञ्जाल फेसबुकसँग । दुईवटै घटना प्रविधिसँग गाँसिएको
भएता पनि भिन्न प्रकारका थिए । फेसबुकसँग सम्वन्धित घटनाका पात्रलाई
विद्युतीय कारोवार ऐन अन्तर्गत कारवाही हुने बताइएको छ भने अनलाइन समाचार
सम्वन्धित घटनाका पात्रलाई प्रहरीको रिहाइपछि प्रेस काउन्सिलले कारवाही
गर्ने बताइएको छ ।
काभ्रेका भवनाथ सापकोटालाई कुनै एक
व्यक्तिले नेतृ पम्फा भुषालविरुद्ध लेखेको स्टाटस शेयर गरेका कारण पक्राउ
गरिएको छ । विगतमा पनि फेसबुकसँग सम्वन्धित धेरै कारवाहीहरु भएका छन् । तर,
यो अलि नौलो र अनौठो प्रकरणका रुपमा देखिएको छ । र, साथसाथै थुप्रै
जिज्ञासा र प्रश्नहरु पनि ओइरिएका छन् ।यसैबीच पत्रकार अनन्त वाग्लेले
फेसबुक स्टाटसमा लखेका छन- ‘हामी पक्राउ नपर्नुको कारण हामी विरुद्ध उजुरी
नपरेर मात्र हो, तपाई हामीले लेखेको टिवट र फेसबुक स्टाटसले सापकोटालाई
जस्तै हामीलाई जेल पुर्याउन काफी छ’ । यो आखिर वास्तविकता निकट कुरो हो ।
स्टाटस शेयर गरेर सापकोटा पक्राउ परेसँगै
धेरै जिज्ञासाहरु पैदा भएका छन् । जसलाई कतिपयले हास्यास्पद मानिरहेका छन्
भने कतिपयले मनन् पनि गरेका छन । यस घटनाले सामाजिक सञ्जाल
प्रयोगकर्ताहरुलाई सजक पनि बनाइदिएको छ भने झिनो मात्रामा भए पनि डरत्रास
पनि उत्पन्न गराइदिएको छ । निर्धक्क साथ मनको वह पोख्दा पनि पक्राउ परिने
हो कि भन्ने शंका उब्जिन थालेका छन् । विश्व नै सामाजिक सञ्जालमा बाँधिएको
परिवेशमा आˆनो विचार प्रस्तुत गर्न पनि त्राहीमाम हुनुपर्ने अवस्था
आउनुभनेको विडम्वनाको कुरा हो ।
सामाजिक सञ्जालको सर्वत्र फाइदा वर्णन
गरिरहनु खासै आवश्यक छैन । सामाजिक सञ्जाल सबैभन्दा छिटो सामाचार प्राप्त
गर्ने माध्यम बन्न पुगेको छ । व्यक्तित्व विकासदेखि मुलुकको विकाससम्म
भूमिका निभाइरहेको सामाजिक सञ्जाल पछिल्लो समय विकृतमय पनि बन्दै गएको छ ।
प्रविधिको सही सदुपयोगले जति फाइदा पुग्छ, यसको दुरुपयोगले यो भन्दा कयौं
गुणा क्षति पुग्छ । विश्वका १ अर्बभन्दा बढी र नेपालमा मात्रै २० लाख भन्दा
बढीले प्रयोग गर्दै आएको फेसबुक ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खूर्पाको
बिँड’ बन्न पुगेको छ । यो कुरा नबुझ्दा धेरै फेसबुक प्रयोगकर्ताहरु जेलमा
बास बस्न विवश भएका छन् ।
फेसबुक जुहारी खेल्ने चौतारी नभएर प्रतिभा
प्रस्फुटन गर्ने र सिक्ने सिकाउने चौतारी हो । तर, यसको सदुपयोगभन्दा
दुरुपयोग बढिरहेको छ । कतिपय प्रयोगकर्ताहरु स्वार्थ र मजाकका लागि यसको
प्रयोग गरिरहेका छन् । अरुको खोइरो खन्न र ङच्चि दाँत देखाएर हाँस्नका लागि
फेसबुक चलाउनु भन्दा नचलाएकै बेस ।
शेयर गर्नेलाई पक्रने कि स्टाटस लेख्नेलाई ?
यतिखेर जल्दोबल्दो जिज्ञासा र समस्या के
हो भने कुनै व्यक्तिले स्वतन्त्र विचार फेसबुकमा राख्न पाउने कि नपाउने ?
के-कस्तो भावना व्यक्त गर्दा चरित्रहत्या हुने ? कसैले राखेको स्टाटस एक
हजार जनाले शेयर गर्छन् भने एक हजारजनालाई नै पक्राउ गर्ने कि स्टाटस
लेख्नेलाई पक्राउ गर्ने ? कसैले एकाउण्ट हृयाक गरेर जेपिटी लेखे भने हृयाक
भएको जानकारी कहाँ दर्ता गर्ने ? जानकारी दर्ता गर्ने ठाउँ नभए पछि हृयाक
गरेर स्टाट्स लेख्नेलाई कारवाही गर्ने कि एकाउण्ट होल्डरलाई ? इत्यादि
प्रश्नहरु उब्जिएका छन् । अश्लीलतालाई स्वतन्त्र विचार भन्न मिल्दैन
त्यसकारण यस्तो कुरा पोष्ट गर्नेलाई ससक्त कारवाही गर्नु पर्छ । तर,
अत्याचार र आपत्तिको सीमा कति भन्ने एकिन छैन । त्यसैले कारवाहीका क्रममा
झमेला सिर्जना भएका छन् ।
सडकमा कट्टु खोलेर हिँड्यो भने त्यही
सडकमा हिँड्नेले मात्रै थुक्छ । तर सामाजिक सञ्जालमा जेपिटी गर्नेलाई सबैले
थुक्छ । जसले जेपिटी गर्छ, उसैको चरित्रमा दाग लाग्छ । सञ्जालका
सदस्यहरुबाटै बदनामीको कारवाही हुन्छ । कारवाहीको एउटा डरलाग्दो रुप हो
बदनामी । सत्यलाई झुट कसैले भन्छ भने त्यो क्षणिकका लागि हुन्छ । त्यस्तो
स्टाटसलाई शेयर होइन, स्टाटस होल्डरलाई नै ‘रिमुभ’ गर्नुपर्छ । जब सत्यलाई
सत्य भनेर पोष्ट हुन्छ, तब सबैले वाहवाहीका साथ शेयर गर्छ । के अब सत्यलाई
पनि झुठ भनी टोपल्नु पर्यो ? हरेक कुराको सीमा हुन्छ, अत्याचारी ढंगले
टाउको-पुच्छर जोडेर अश्लीलताका साथ नेताहरुलाई चरित्र हत्या गर्न खोज्नु
भनेको कारवाहीको भागिदार हुनु हो । सापकोटासँग जोडिएको स्टाटस पनि
कारवाहीका लागि योग्य थिए । तर, कारवाहीको भागिदार सापकोटा थिएन ।
सोर्सफोर्स नचल्दा उनी थुनिन वाध्य भए भन्दा सायद अनर्थ नलाग्ला । किनभने
उक्त स्टाटस हजार जनाले शेयर गरे भने सापकोटासँगै हजार जनालाई थुनिनु पर्छ,
होइन भने स्टाटस लेख्नेलाई थुन्नुपर्छ ।
फेसबुकमा गुट/उपगुट सहितका छुट्टै संसार
छन । अहिले नै ख्याल नगर्ने हो भने भोलिका दिनमा विवादका चाङ थुपि्रने
संभावना देखिन्छ । सहजै पत्ता नलाग्ने हुनाले फेक आइडीबाट पनि फसाउने
संभावना उत्तिकै देखिन्छ । राजावादीले कम्युनिष्टलाई गाली गर्ने,
कम्युनिष्टले राजावादीलाई गाली गर्ने यस्ता काण्डहरु नमच्चिएलान् भन्न
सकिन्न । भावानात्मक र सोचमा आधारित कुराहरुलाई लिएर कारवाही गर्दै जाने हो
भने फेसबुकधारीहरु कोही पनि बच्नेवाला छैन । कसैका लागि सामान्य र सही
लाग्ने कुरा पनि कसैका लागि आपत्तिजनक लाग्छन् । एक व्यक्तिलाई भनेर पोष्ट
गरेका कुरामा अर्कैले झूठा आरोप लगाइदिन्छन् । यस्तो परिवेशमा कसलाई
कारवाही गर्ने कतिलाई कारवाही गर्ने ? यो लेखको उद्देश्य अपराधीलाई जोगाउनु
र विकृति फैलाउनु पटक्कै होइन ।
व्यक्तिगत जीवनमाथि धावा बोल्ने र मजाकका
नाममा अनावश्यक वितण्डा मच्चाउनेहरुलाई कारवाही गर्नुपर्छ भन्ने
पंक्तिकारको धारणा छ । प्रविधिको विकाससँगै यसले विकृतिलाई पनि स-सम्मान
भित्र्याएको छ । अतः सामाजिक सञ्जाल भनेको एउटा छुट्टुै खुल्ला संग्रहालय
हो । कि यसलाई चीन, पाकिस्तान लगायतका मुलुकहरुमा जस्तै पूर्णरुपमा बन्द
गर्नुपर्यो कि खुल्ला छाड्नुपर्यो कि त निश्चित आचारसंहिता बनाएर
कारवाहीको दायरामा ल्याउनुपर्यो ।
अन्लाईनखबर डटकममा प्रकाशित
http://www.onlinekhabar.com/2013/06/86872/