हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, April 29, 2013

नेपाली चलचित्रको रूप विचित्र

-रामजी बलामी

नेपाली चलचित्र जगतमा बेलाबखत विभिन्न खालका विचित्र रूपहरू देखा पर्ने गरेका छन् । केही समयअघि रंग पत्रकार विजय आवाजले लेखेको समाचारको विषयलाई लिएर नायिका सुमिना घिमिरेले दिएको अभिव्यक्तिले पुन: एकपटक नेपाली चलचित्र जगतमा एउटा विचित्र रूप देखा परेको छ । घिमिरेले ‘टाउको झोलामा र खुट्टा खोलामा’ पारिदिने भन्दै धम्की दिएसँगै यसले चलचित्रकर्मी र समग्र चलचित्र उद्योगमाथि लाग्दै गरेको बादलमा टेको दिने काम गरेको छ । कमि–कमजोरी मानव जीवनको नियमितता नै हुन् । लेखन अधिकारमाथि नै ढावासरी यस्तो अभिव्यक्ति दिनु भनेको घिमिरेले चलचित्र पर्दालाई व्यवहारमा उतार्नु हो । यसको अर्थ पत्रकार हुँ भन्दैमा जे मन लाग्यो त्यही लेख्न पाउनुपर्छ भन्न खोजिएको भने होइन । आवाजको विश्लेषणमा पनि केही कमजोरी होलान् तर त्यसवापत कारबाही गर्ने सम्बन्धित निकाय चहार्नुभन्दा फोनमार्फत वितण्डा मच्चाउनु नायिकाको चर्चामा आउने उट्पट्याङ शैली सिवाय केही पनि होइन । नेपाली चलचित्र उद्योगमा यस्ता उट्पट्याङ शैलीहरू बारम्बार दोहोरी रहन्छन । चर्चा र चलचित्र एकअर्कामा सामिप्यताको सम्बन्ध रहने भए पनि चर्चाका लागि तान्डव नृत्य देखाउने प्रवृति विगतदेखि नै कायम हुँदै आएको छ ।
लभ अफेयर, मिलन–विछोद, आरोप–प्रत्यारोप, सेक्स अपिल, एकअर्काको सम्बन्ध इत्यादि कारण चलचित्रकर्मीहरू चर्चाको शिखर चुमिरहेका हुन्छन् । बहानाबाजीमा होस् कि आपसीवादमा नै किन नहोस् पत्रकार र दर्शकको आँखामा छारो हाल्न कै लागि चर्चाको बाटो खन्न निकै सिपालु हुन्छन् भन्ने कुरा छर्लंगै देखिन्छ । चर्चाविना प्रगति असंभव ठान्नेहरूले हेक्का राख्नुपर्ने कुरो के हो भने आफ्नो खुबी, प्रतिभा, क्षमता र कला पनि तिखार्नुपर्छ । सीमा नाघेर गरिएको प्रचार र नकारात्मक प्रचारले उकालो चढ्नेभन्दा ओरालो झर्ने सम्भावना धेरै हुन्छ । मान्छे कि राम्रो काम गरेर चर्चामा आउँछ कि नराम्रो काम गरेर । बेइजतपूर्ण तबरले चर्चामा आउनुभन्दा गुमनाम बस्नु सर्वाेत्तम उपाय हो । चर्चामा आउनुभन्दा लागेको दाग मेट्न कैयाँै गुणा गाह्रो हुन्छ । तर, नेपाली चलचित्रमा थुप्रै त्यस्ता नायक/नायिका छन् जो सेक्सलाई आधार बनाएर र अरूको नक्कल गरेर चर्चामा आइरहेका छन् । आफ्नो प्रतिभाविना मरिहत्ते गरेर चर्चामा आउनेहरू केही समयपछि नै खोलामा डुबेको डुंगाभैँm बन्न थाल्छन् । जो कहिल्यै आपैँm तैरिन सक्दैनन् । यस्ता पात्रहरूका कारण प्रतिभावान कलाकारहरू समेत धमाधम यो क्षेत्रबाट बाहिरिन बाध्य भएका छन् । नायिकालाई नंग्याउँदैमा चलेका फिल्महरू पनि यस्तै हुन भन्दा फरक नपर्ला । चलचित्रलाई अर्थोआर्जन गर्ने माध्यमका रूपमा मात्रै नहेरी समग्र समाज सेवाका रूपमा पनि हेरिनुपर्छ । चलचित्र ‘पल’सँगै एक्कासी उदाएका यस्ता चलचित्रहरूले नेपाली दर्शकलाई हालसम्म त तानेका छन् तर गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड लिएर समेत जान नसक्ने अवस्था आएको दर्शकहरू स्वयंले बताउँदै आएका छन् ।
जे होस् विगतलाई ध्यानमा राखी वर्तमानलाई सकारात्मक मार्गतर्फ डोर्‍याउन सक्नु नै मानवीय गुण हो र सफलताको आधार पनि हो । त्यसैले ती चलचित्रलाई पछ्याउँदै सोही परिवेशलाई आधार बनाएर अझ यौन दृश्य खुकुलो पार्दैमा चलचित्रले उत्कृष्टता हासिल गर्छ भनेर सोच्नु मुर्खता हो । चलचित्र केवल मनोरञ्जन प्राप्त गर्ने साधन मात्रै होइन । यसले समाजलाई सही दिशातर्फ लैजान समेत पहलकदमी गर्न सक्नुपर्छ । विडम्बना चलचित्र नै विकृतीउन्मुख बनाइन्छन् भने त्यसको कथावस्तु हेरेर दर्शकले कस्तो शिक्षा पाउलान ? अनि आम समुदायमा कस्तो छाप पर्ला ? पछिल्लो समय नेपाली चलचित्र क्षेत्रले बाटो बिराउँदै गन्तब्यहीन दिशातर्फ ओरालो लागेको छ । विशेषत: यही वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सेक्सपन हावी हुँदै गएको छ । ‘लुट’ र ‘चपली हाइट’ फिल्मको आगमनसँगै फिल्मी क्षेत्रको हाइटमा ठेस लागेको छ ।
 यौन भन्ने कुरा चटनी हो नुन होइन । खानामा चटनी हुँदा स्वाद मात्रै थपिन्छ तर नुन नहुँदा खानाको अर्थ नै पूरा हँुदैन । यौन सबैका लागि आवश्यक छ तर खुल्न सकेको छैन । चलचित्र उद्योगले खुल्ने चेष्टा त गर्‍यो तर सीमा नाघेर । सञ्चार माध्यममा हुने यौन जिज्ञासा र जवाफले नै यौनलाई बुझ्न सजिलो पर्छ । नांगाबाबाको उत्ताउलोपन चलचित्रमा प्रदर्शन गर्दैमा यौन शिक्षा होइन यौनको भिक्षा माग्नेहरू बढ्ने संभावना हुन्छ । भर्खर टिनएजरमा प्रवेश गरेकाहरूले यस्ता चलचित्रबाट कस्तो शिक्षा प्राप्त गर्ला ?
‘चपली हाइट’ पछि बनेका चलचित्रहरूले आर्थिक रूपमा सम्पन्नताको पगरी पनि चुम्ला, निर्माताका लागि पनि सफल चलचित्र सावित बन्ला तर नेपाली चलचित्र उद्योगले त्यसलाई धिकार्न सिवाय स्वीकार्न सकिन्न । चलचित्र भनेको नायक/नायिकाको अंग प्रदर्शन गर्ने नभई सामाजिक यथार्थताको चित्र प्रस्तुत गर्ने माध्यम हो । सामाजिक विषयवस्तु उछिटेर बनाइएका चलचित्रलाई चलचित्रभन्दा पनि नीला फिल्मको लक्षणका रूपमा बुझ्दा अपच नहोला । यस्ता चलचित्रले न समाजलाई सकारात्मक प्रभाव पार्न सक्छ न त नायक/नायिकाको वास्तविक जीवनमै राम्रो छाप पर्छ । क्षणिक मनोरञ्जन र जोशलाई मस्तीमा रूपान्तरण गर्ने सिवाय यस्ता चलचित्रमा खेल्नुको कुनै औचित्य छैन भन्दा कसैको आपत्ति नहोला । जमानालाई पछ्याउने र समय अनुसार चल्ने बहानामा श्रीमान्/श्रीमतीसमेत सँगै बसेर हेर्न नमिल्ने चलचित्र बन्नु विडम्बना र दु:खद कुरो हो । यस्तो कुरा गर्दा विदेशी चलचित्रमा छाएको नांगोपनको कुरा उठ्न सक्छ । विकास र प्रगतिमा विकसित देशहरूको नक्कल गर्नु र उनीहरूको बाटो पछ्याउनु राम्रो कुरा हो तर नांगिने र होमिने जस्ता कार्यलाई नक्कल गर्नु कुनै हालतमा स्वभाविक मान्न सकिन्न । चलचित्र क्षेत्रमा कार्यरत चलचित्रकर्मीहरूको उद्देश्य पैसा कमाउनु मात्रै नभई समाजसेवा गर्नु पनि हो । समाज रूपान्तरणमा चलचित्रको ठूलो भूमिका रहन्छ । यदि, पैसा कमाउनकै लागि यो पेसामा होमिने हो भने भोलिका दिनमा सेक्सफिल्म सिवाय अरू चलचित्र बन्ने छैन । अनि कल्पना गरौँ नेपाली चलचित्र किन हेर्ने, कसरी हेर्ने ?
चलचित्रको भौतिक चित्रण अभिनय मात्रै भए पनि चलचित्रको सार यथार्थ नै हुनुपर्छ भन्ने मान्यता पनि छ । तर, नेपाली चलचित्रले यो मान्यतालाई कुल्चेको मात्रै छैन च्यातच्युत पारेर मिल्काउँदै छ । चलचित्र क्षेत्रको विकृतिलाई न्यूनीकरण गर्न कुनै आचारसंहिता नबनाउने र कसैले आवाज नउठाउने हो भने आगामी दिनमा नेपाली चलचित्र उद्योगबाट समाजले आस गर्न सकिने संभावना केवल सपनासावित नहोला भन्न सकिन्न ।

Thursday, April 11, 2013

नयाँ वर्षका लागि खुराक


अहिले हामी बर्ष २०६९ लाई बिदाई गर्दै वर्ष २०७० लाई स्वागत गर्न गइरहेका छौं । आइतवारसम्ममा हामी नयाँ वर्षमा प्रवेश गरि सकेका हुनेछौं । नयाँ जोश, नयाँ जाँगर र नयाँ उमँगसँगै हर्षाेलासका साथ नयाँ वर्ष मनाउँने सुरसारमा छौं । नयाँ वर्षसँग कतिपयले नयाँ योजना र नयाँ सपना संगालेका हुन्छन् । नयाँ वर्षमा संगालेका सपनालाई विपनामा रुपान्तरण गर्नका लागि उत्तिक्कै मिहेनत र परिश्रम गर्नु आवश्यक छ । नयाँ वर्षको पहिलो दिन जति रमाइलो र हर्षाेलासमय तरिकाले वित्यो बर्षभरी त्यसरी नै वित्ने छ भन्ने कथन रही आउको छ । त्यसैले नयाँ वर्षलाई जो कसैले पनि सक्दो उल्लासमय र रमाइलो बनाउँने प्रयत्न गर्नु पर्छ । यसका लागि विभिन्न उपायहरु अवलम्बन गर्न सकिन्छ । 


धार्मिक यात्रा
हिन्दु धर्मावलम्बीहरुका लागि नयाँ वर्ष एउटा चाड पनि हो । विभिन्न धार्मिक कथन र परम्परा अनुसार पनि यो दिनलाइ विशेष दिनको रुपमा लिइन्छ । त्यस कारण देवदेवताको पुजाआजा र तिर्थ जाने परम्परा रहि आएको छ । यो दिन मुलुकका विभिन्न क्षेत्रहरुमा रहेका मन्दिरहरुमा मेला लाग्ने गर्छ । काठमाडौं नजिकै पर्ने टोखामा समेत विशेष मेला लाग्ने गर्छ । मेला भर्न मुलुकका विभिन्न भागबाट समेत उल्लेखह भक्तजनहरु आउने गरेका छन । सपना तिर्थको नामले परिचित यो कुण्डमा नुहाउनँनाले घाउखटिरा नलाग्ने र रोगव्याधी निको हुने जन बिश्वास रही आएको छ ।
धार्मिक मात्रै होइन पछिल्लो समय पर्यटकीय दृष्टिकोणले समेत निकै चर्चामा रहेको यो क्षेत्रको भ्रमण पनि गर्न सकिन्छ । एकातिर धार्मिक यात्रा पनि हुने अर्काेतिर ग्रामीण परिवेश बु्झन र स्वच्छ पर्यावरणको अनुभूति संगाल्नका लागि  पनि टोखाको यात्रा रमाइलो हुन सक्छ । त्यहाँको मौलिकपनमा भिज्न र स्वस्थानी कथामा वर्णित विभिन्न क्षेत्रहरुको् अवलोकन गर्न पनि यो क्षेत्रको भ्रमण महत्वपूर्ण हुने गर्छ । यसका साथै अन्य विभिन्न धार्मिक तिर्थस्थल र मठमन्दिरहरुमा धुमफिर गरेर पनि नयाँ वर्ष मनाउँन सकिन्छ ।

पार्टीमा रमझम
समयले कोल्टे फेरेसँगै टिनएजहरु भ्रमणमा भन्दा पार्टीहरमा रमाउँन थालको छन । त्यसो नयाँ वर्ष मनाउँनका लागि विभिन्न संघसस्थाहरुको पहलमा साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना हुंदै आएका छन । विभिन्न क्लव र होटल रेष्टुरेन्टहरुले पनि न्यु इयर इभ मनाउनका लागि जोरजाम गरेका हुनछन् । यस्ता कार्यक्रमहरुमा सहभागि भएर पनि आफुलाई रिफ्रेस गराउँन सकिन्छ । यस्ता कार्यक्रमहरु विशेष गरी टिनएजलाई प्राथमिकता दिएर आयोजना गरिने हुनाले सवैका लागि उपयुक्त नहुन सक्छ । युवायुवतीहरुका लागि भने यस्तो कार्यक्रम सुन माथि सौन्दर्य सावित हुने गरेको छ । यस्तो कार्यक्रममा गएर रमाइलोको नाममा मद्यपानमा रमाउँनु कदापी हुंदैन । यस्ता कुराहरुमा भने विशेष ख्याल राख्नु पर्छ । मिलनसार साथीहरुकोसाथमा यसतो पार्टीहरुमा गएर पनि नयाँ वर्षलाई रोमाञ्चक बनाउँन सकिन्छ ।

घरायसी जमघट
बढ्दो ब्यस्तता र जीवनशैलीसँगै आफन्त, नातेदार र इष्टमित्रहरु सँगको भेटघाट समेत पातलिंदै गएको छ । प्रविधिको विकासले त झन आफन्तहरुबीचको भेटघाटको महत्व नै घटाइ दिएको छ । फोन, इमेल र फेसबुक जस्ता माध्यमले हामीहरुलाई सधै नजिक बनाइ दिउको छ । जसले गर्दा भेटिरहनु पर्ने आवश्यकताको महशुस नै हुन थालेको छ । तर यसले एउटा नयाँ संसकारको सुरुवात पनि गरि दिएको छ । खास विशेष दिन पारेर आफन्तहरुसँग घरमै बोलाई खानपिन र रमाइलो गर्ने चलनको विकास हुन थालेको छ ।
नयाँ बर्षमा पनि आफन्त, नातेदार र इष्टमित्रहरुलाई घरमा जमघट गरी रमाइलो गर्न सकिन्छ । यसले सुमधुर र निकत सम्वन्ध स्थापित मात्रै गराउँदैन सवैसँगको भेटघाटले सवैलाई आनन्दपनको आभास पनि दिलाउँछ । यसरी घरमै भेटघाट गर्दा हापँसी सम्वन्धमा निकतता छाउँनुको साथै भावना सातासात गर्ने मोका पनि मिल्छ ।

पिकनिक
यो पिकनिकको मौसम पनि हो । नयाँ वर्षको अवसर पारेर पिकनिक कार्यक्रम पनि आयोजना गर्न सकिन्छ । पिकनिक पनि रमाइलोका लागि एउटा उत्तम उपाय हो । नयाँ अनुभव र नौला अनुभूति संगाल्नका लागि पिकनिक कार्यक्रमले निकै सघाउ पु¥याउँछ । यस्तो कार्यक्रमले रमाइलो मात्रै नभएर आत्मीयपनमा समेत नजिकपन ल्याइ दिनछ । घरायसी, कार्यलय अथवा साथीभाईहरु मिलेर रमाइलो ठाउँहरुमा गएर पिकनिक गर्न सकिन्छ । पिकनिकका लागि धुलिखेल, गोदावरी, लामाटार, दामन, काभ्रे लगायत पहिले नगएका र जानै पर्ने रमाइलो ठाउँहरु छनौटमा राख्नु पर्छ । जसले तपाईलाई थप रमाइलो र रोमाञ्चक बनाइ दिन्छ ।

पर्यटकीय गन्तब्यको भ्रमण
नयाँ वर्षमा नयाँ अनुभूति संगाल्ने अर्काे तरिका हो नयाँ गन्तब्यहरुको घुमफिर । नयाँ वर्षमा लामो बिदा नहुने भएकाले नजिकका पर्यटकीय गन्तब्यहरुको घुमफिर गरेर रमाइलो गर्न सकिन्छ । यसबाट ब्यस्त दैनिकीलाई आराम दिन र नयाँ गनतब्यको वारेमा वुभ्mन पनि सघाउ पुग्नेछ । ब्यसत दैनिकीमा रेटेर थकित शरिरलाई शान्त र स्वच्छ पर्यावरणमा भुलाउँन पनि यस्ता गन्तब्यहरु निकै उत्तम हुने गर्छ । यो बर्ष नयाँ वषृको अवसरमा दुइ दिन बिदा भएकाले पनि यस्तो घुमफिरका लागि थप समय मिलेको छ । अहिले विद्यार्थीहरुको पनि फुर्सदको समय भएकाले स–परिवार घुमफिरका लागि जान सकिन्छ ।

अध्ययन
मान्छेहरुको सोख, इच्छा, चाहना र रमाइलो गर्ने तरिका थरिथरिका हुन्छन् । कतिपय लेखक, पाठक तथा विद्धान व्यक्तिहरु मन पर्ने पुस्तकको अध्ययन गरेर पनि चाडपर्व मनाउँने तथा रमाइलो गर्ने गर्दछन । अरुबेला खासै फुर्सद नहुनेका लागि यस्तो चाडपर्व अध्ययन गर्ने मौका पनि हो । लामो उपन्यास, जीवनी, कथा, विश्व घटना र तथा बिश्व प्रसिद्ध पुस्तकहरु पढेर ससर चहार्ने एउटा अवसर पनि हो नयाँ वर्ष । तसर्थ अध्ययन अनुसन्धानमा समय दिएर पनि नयाँ वर्षमा रमाइलोका साथ प्रवेश गर्न सकिन्छ । 

अन्त्यमा सम्पूर्ण पाठकहरुमा सुख, शान्ति र प्रगतीको हार्दिक मंगलमय शुभकामना  

Wednesday, April 10, 2013

चुनावी सरकारको लाचारी

रामजी बलामी

थोरै काम गरेर धेरै जश लिन सिपालु मान्छे एक दिन यस्तो नराम्रोसँग चिप्लिन्छ त्यतिखेर ऊ जीवनबाटै हारेको अनुभूति गर्न वाध्य हुन्छ । बिग्रेको कामको भारी अरूमाथि थोपर्ने र सप्रेको राम्रो कामको भारी आफूतिर पारेर जश कमाउने प्रवृत्ति यस्ता मानिसका लागि नैसर्गिक गुणभैँm बन्ने गर्छ । नेपाली राजनीतिक वृत्तमा पनि यो प्रवृत्ति हाबी मात्रै होइन पूर्णरूपमै लागू भइसकेको छ । काम बिग्रिँदा र काम गर्न नसक्दा त्यसको दोष अरूतर्फ देखाउने नियम नै बनेको छ । नेपाली राजनीतिका हरेक पल र हरेक पात्र यस्ता रोगबाट ग्रसित बन्दै आएका छन् । आधा प्रतिशतसम्मको यो नियतलाई अस्विकृत मानिए पनि योभन्दा अधिक नियतलाई विकृति मात्रै होइन वितण्डा नै भन्दा अत्युक्ति हुँदैन ।
पछिल्लो समय मध्यरातमा मुस्कान छर्दै सहमतिको रागसँगै हात उठाएर एकताको अभिनय गरेका दलहरू यतिखेर पुन: असमझदारी र
वितण्डाको मार्गमा लम्पट देखिएका छन् । नेपाली कांग्रेस महासमितिको बैठकमा केन्द्रित छ भने नेकपा (एमाले) आगामी निर्वाचनमा आफू ‘नम्बर वान’ पार्टी बन्ने उद्घोष गर्दै हिँडेको छ । उता एमाओवादी पनि आफ्नो हातको सत्ता प्रधानन्यायाधीश रेग्मीलाई सुम्पेर हाइसन्चो मानेर बसेको छ । आगामी निर्वाचनका लागि आन्तरिक तयारीमा जुटेका दलहरूलाई वैद्य माओवादी नेतृत्वका ३३ कोटी दलहरूले थोरबहुत झुलाउने र झुक्याउने चेष्टा मात्रै गरेका छैनन् निर्वाचनको म्याद तन्काउन अमूल्य भूमिका निभाउँदै छन् । वैद्य माओवादीलगायतका असन्तुष्ट दलहरू चार दलबीच भएको सहमतिको विरोध गर्दैछन् या आगामी निर्वाचनको ? राजनीतिक विश्लेषकहरू माझ राम्रै चर्चाको विषय बनिरहेको यो मुद्दाको रहस्य जे भए पनि नियत भने निर्वाचन गर्न नदिनु नै हो । तत्काल निर्वाचन हुँदा भर्खरै उदाएको पार्टीले सिट ल्याउन नसक्ला र जनतामाझ नाक छोपेर हिँड्नु पर्ला भन्ने त्रासले बन्द र तोडफोड शृंखलामा जुटेका छन् । केही समय अलप बनेको बन्द संस्कृति पुन: उदाउन थालेको छ । फेरि एकपटक बिरामी, पर्यटक, व्यवसायी र आम सर्वसाधारणले सराप्ने पात्र बनेका छन् आन्दोलनका अगुवा वैद्य माओवादी ।
असार पहिलो साता निर्वाचन गर्ने उद्घोष गरेका दलहरू यतिखेर मंसिरसम्मका लागि जुहारीमा रम्न तम्तयार देखिएका छन् । के कारणले असारमा निर्वाचन नहुने भो ? कारण स्पष्ट छैन । अल्झाउने र बल्झाउने खेलमै समयको नाश र देशको सत्यानाश गर्ने चाला कतिको सह्य होला त्यो आपैँm जानून् । असारबाट भ्यागुतासरी फुत्त उफ्रेर मंसिरसम्म पुगेको भाकाले मंसिरमा पूर्णरूप लेला भन्ने के ग्यारेन्टी ? मंसिरमा नव जोडीको लगन त जुर्छ तर निर्वाचनको लगन जुर्ने ग्यारेन्टीको कुरै छोडौँ वारेन्टी पनि छैन । दसँैलगत्तै दलहरूबीच मनमुटाव र दोहोरी चल्दाचल्दै पुन: अर्काे वर्षको असारसम्म भाकाको भ्यागुता नउफ्रिने कुनै संकेत छैन । विगतमा संविधानसभालाई सुटुक्क सुइ लगाए जस्तै निर्वाचन मितिलाई पनि सुइ लगाउँदै महिनावारी सार्ने तरखरमा छन् दलहरू । समयको महत्त्वभन्दा आफ्नो महत्त्वलाई बढी प्राथमिकतामा राखेर स्वार्थ लुट्न एकाकार नेताहरूको भित्री रहस्य कसैसामु लुकेको छैन । उनीहरूले जनतामाझ भ्रम छर्दै भित्रभित्रै सहमतिको लगन जुराएका छन् ।
मिडियालाई बन्देज लगाएर आरोपप्रत्यारोपको जुहारी खैल्दै छन् दलहरू । असारमा निर्वाचन नहुने थुप्रै लक्षणहरू दादुराको फोकाजस्तै देखापरेका छन् । पहिलो कुरा फोटोसहितको मतदाता नामावली संकलन अभियान स्थगन गर्नु, दोस्रो नेताहरू प्रत्यारोपको खेतीमा मस्त हुनु, तेस्रो दलका नेताहरू असारमा निर्वाचन नहुने उद्घोष गर्दै हिँड्नु, चौथो ड्यास माओवादीको बन्दलाई गुमनाम समर्थन जनाउनु आदि आदि । यस्ता आधार लक्षणहरूले आगामी असारमा निर्वाचन नहुने पक्कापक्की भइसकेको जनाउ दिएको छ । आखिर किन दलहरू असारमा निर्वाचनको मिति तोक्न किन सकिरहेका छैनन् ?
पहिलोपटकको संविधानसभा बेकार सावित भएकाले नेताहरू जनतासामु हात जोडेर मत माग्न थर्थरी बनेका छन् । दलका नेताहरूको अनुहारको संकेतले चोर पक्रे जस्तै नेताहरूको भाषण र बोली सुन्दा यो महागल्तीबाट क्षमा माग्न गाउँ जान सकेका छैनन् । बाध्य भएर गाउँको दैलो टेक्न गए पनि विश्वास पाउने सम्भावना झिनो मात्रै छ । त्यसकारण आगामी मंसिरसम्म गाउँजाने पूर्वाधार खडा गर्ने सुरसारमा छन् उनीहरू । गाउँमैत्री बजेट ल्याउने र निर्वाचनको माहोल तताउने सुरमा छन् यतिखेर दलहरू । बाहिर जे जस्तो हल्ला चले पनि यथार्थ योभन्दा सिन्को पनि फरक छैन । विगतमा बाँडेको भ्रमलाई बजेटमार्फत चोख्याउने र आफूभित्र रहेको त्रासलाई सम्याउने सुरसारमा लागेका छन् दलहरू । यस मामिलामा एमाओवादीलाई सबैभन्दा बढी त्रास रहेको छ किनभने उसले विगतमा नेवार, थारू, ताम्सालिङलगायतलाई थुप्रै आश्वासनको फोस्रो पोको वितरण गरेका छन् । पोको पाएर मख्ख परेका जनता पोको खाली भएको देखेपछि जुर्मुराउँदै आक्रोसित बनेका छन । हेर्दै जाउँ, आगामी निर्वाचनको घरदैलो अभियानमा जाँदा कति नेताले जनताको कुचो र चप्पलको सलाम पाउनेछन् । त्यो त समयले नै देखाउनेछ ।
संविधान सभाको म्याद थप्दा यति औँ पटक उति औँ पटक भनेर घोषणा गरे जस्तै संविधान सभाको निर्वाचन पनि गन्न नपरोस् । पहिलो पटकको निर्वाचनमार्फत ६ सय एक जनाले चार वर्ष ढुकुटी रित्याए । युद्धबाट ध्वस्त संरचना बनाउनुभन्दा बाँकी संरचना र अर्थतन्त्रलाई भत्काउन तल्लीन देखिए । विगतको पश्चात्ताप र भविष्यको चिन्तनभन्दा पनि वर्तमानलाई मनन गरेर अगाडि बढ्न सक्नुपर्छ । अहिलेको मुख्य मुद्दा भनेको निर्वाचनको मिति घोषणा नै हो । निर्वाचनकै लागि भनेर बनेको अन्तरिम चुनावी मन्त्रिपरिषद्ले बाटो बिराउँदै गएको अवस्था छ । दलहरूको पिछा लागेर आफ्नो स्वच्छ छविमाथि कालो दाग लगाउनु भनेको आफ्नो चिहान आपैँm खन्नु जस्तै हो । त्यसकारण आफ्नो दायित्व निर्धारित मितिमा पूरा गर्नु वर्तमान मन्त्रिपरिषद्को पनि पहिलो दायित्व हो । दायित्व भुलेर समय तन्काउँदै जागिरको ‘डबल अफर’ चुम्न खोज्दाको हालत पूर्व सभासदहरूको भन्दा के कम होला र ?
त्यसकारण चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराजले दलहरूको सहमतिमा मिति तोक्ने बताउनुभन्दा निर्वाचनका लागि ताकेता गर्नु र दायित्व अनुसार दलहरूलाई घच्घच्याउन सक्नुपर्छ । असारबाट मंसिरमा निर्वाचनको म्याद ‘ट्रान्सफर’ हुँदैमा निर्वाचन भइहाल्छ भन्ने के ग्यारेन्टी ? त्यसैले यदि मंसिरमा भाका
तन्काउने हो भने तिथिमिति र नैतिक दबाबसहित तन्काउनु पर्छ । अन्यथा यसरी मिति सार्ने काम जनतालाई झुलाउने र कार्यकर्तालाई भुलाउने खेल मात्रै हुनेछ । प्रधानन्यायाधीश जस्तो मान्छेले यस्तो कामलाई टुलुटुलु हेरेर बस्न कदापि सुहाउँदैन । सोझो औँलाले घ्यू नआउँदैमा सिसी फुटाउनुभन्दा औँला बंग्याउन जान्नुपर्छ । अन्त्यमा, चुनावी सरकार लाचारसावित नहोस् नयाँ वर्षको शुभकामना ।
 
सौर्य दैनिकमा प्रकाशित