हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Wednesday, June 26, 2013

जनकल्याणलाई ४२ लाख हस्तान्तरण

सुरजकुमार भुजेल

मकवानपुर पालुङमा रहेको जनकल्याण उच्च माविमा अत्याधुनिक भवन निर्माणका लागि सहयोग प्राप्त भएको छ । सहयोगपछि व्दिालयमा अध्ययनरत एकहजार बढि विद्यार्थीले सहजै गुणस्तरीय शिक्षा लिन सक्ने भएकाछन् । नेपाल भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत जनकल्याणले भवन निर्माण गर्न भारतीय महावाणिज्य दुतावास, वीरगन्जले बुधबार ४२ लाख रुपैयाको चेक हस्तान्तरण गरेको छ । हस्तान्तरित रकम कूल सहयोग रकमको १० प्रतिशत रहेको महावाणिज्य दुतावासले जनाएको छ ।


महावाणिज्यदुत आशुतोष अग्रवालले मकवानपुरका स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टलाई विद्यालयमा आयोजित कार्यक्रमका ४२ लाख २१ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । गत २०७० साल बैशाख ४ गते भारतीय राजदुतावास, जिल्ला विकास समिति मकवानपुर जनकल्याण उच्च माविबीच २२ वटा कक्षा कोठा सहितको भवन निर्माण गर्न चार करोड २२ लाख रुपैयाको सम्झौता भएको थियो ।

चेक हस्तान्तरण गर्दै महावाणिज्यदुत अग्रवालले नेपालमा शान्ति र समृद्धिको वातावरण बनाउन भारत सरकारले पूर्वाधार निर्माणमा जोड दिएकाले विद्यालय भवनमा सहयोग गरेको बताए । अब आधुनिक भवनको कक्षा कोठामा बसेर विद्यार्थीहरुले भविष्यमा समाजका लागि उत्तरदायी नागरिक बन्ने सपना देख्नेमा उनले विश्वास गरे ।


कार्यक्रममा मकवानपुरका स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टले भवन निर्माणको लागि जिल्ला विकास समितिले टेण्डर आह्वान गरिसकेको र अब ठेकेदार छनोटको प्रक्रियामा रहेको जानकारी दिए । उनले भवन निर्माणको क्रममा गुणस्तरीय भए नभएकोबारे निगरानी गर्न स्थानीय बासीलाई आग्रह गरे । एकीकृत नेकपा माओबादीका राज्य समिति सदस्य ज्योति रायमाझीले विद्यालयको भौतिक विकाससंगै शैक्षिक गुणस्तरका लागि छलफल चलाउनु पर्ने आवश्यकता औंल्याए । जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमालले विद्यालय शिक्षाको राम्रो परिणामको लागि एकपटक सबैले सोच्नुपर्ने बताए ।

विद्यालयमा नयाँ भवन बनेपछि एक हजार २ सय भन्दा बढी विद्यार्थीहरुले लाभ पाउने विद्यालयका प्राचार्य सानोभाइ कार्कीले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापक समितिका अध्यक्ष राजिब स्याङ्दानले भवन निर्माणको क्रममा समितिले विशेष चासो र निगरानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Sunday, June 23, 2013

भ्यागुतो उफ्राइ कहिलेसम्म ?

रामजी बलामी

       लामो समयको धैर्यधारणपछि अन्तत: संविधानसभाको दोश्रो निर्वाचनका लागि आगामी मंसिर ४ गतेलाई मिति तोकिएको छ । असार पहिलो सातामै गर्ने भनिएको निर्वाचन आगामी मंसिरसम्मका लागि सरेको हो । तर, अझै पनि निर्धक्कसाथ भोट हाल्न पाइन्छ भनेर ढुक्क हुने अवस्था सिर्जना भएको छैन । तेत्तीसकोटि दललाई सिपाही बनाएर बेसुरको आन्दोलन घिसारिरहेको वैद्यखलक माओवादी निर्वाचन कुनै हालतमा गर्न नदिने उद्घोष गर्दै छन् । एकातिर माउपार्टीसँग नाता गाँस्ने सुरसारमा देखिएका छन् भने अर्कोतिर हतियार उठाउनेसम्मको बेवकुफ चेतावनी दिइरहेका छन् । राजनीतिक दलहरू सधँै आगामी चुनावका लागि तत्पर हुन्छन् भन्ने विश्वव्यापी मान्यता छ । निर्वाचनदेखि त्यस्ता राजनीतिक दलहरू थर्थर काम्छन् जो जनताबाट अपहेलित र तिरस्कृत छन् । जनताको नाममा जनतालाई नै आक्रान्त पार्ने पार्टीहरू जनताको तारो बन्छन् । यस्ता पार्टी निर्वाचनमा नराम्रोसँग पल्टेर तीन बल्ड्याङ खान्छन् । यस कारण उनीहरू चुनाव भनेपछि निहुरीमुन्टी ‘न’ बन्दै लहरो/पहरो तन्काएर चुनाव भाँड्ने कोसिस गर्छन् । यो प्रवृत्ति नेपाली राजनीतिमा मात्रै होइन विश्व जगत्मै देखिन्छ । अत: यो एउटा राजनीतिक नीति नै बनेको छ । आफ्नो पक्षमा नतिजा आउने सम्भावना देखिए निर्वाचनका लागि मरिहत्ते गर्नु र प्रतिकूूल देखिए नानाभाँती नाटक रच्नु कुनै आइतबारे कुरो होइन ।
हुन त राजनीतिलाई त्यसै फोहोरी खेल भनेका होइनन् । केही अपवादबाहेक राजनीतिलाई कर्मसावित बनाउनेभन्दा कमाउसावित बनाउने हाबी देखिन्छन् । जसले गर्दा राजनीतिले न निश्चित दिशा पक्रन सकेको छ न त सिद्धान्त नै । मपााइत्व, स्वार्थ, सत्ता, प्रत्यारोप, षड्यन्त्रजस्ता गुणहरूले नै राजनीति भरिभराउन बनेको छ । जसले गर्दा दश वर्षे युद्धको चपेटाबाट आक्रान्त मुलुकमा आर्थिक क्रान्तिको नारा घोक्दै महल ठड्याउने दाउमा मस्तराम देखिएका छन् । समयको माग र परिस्थिति अनुकूलभन्दा पनि दलगत र व्यक्तिगत स्वार्थका लागि राजनीति गर्ने ‘फेसन’ चलेको छ ।
पछिल्लो समय डाक्टर माओवादीबाट चोइटिएको वैद्य माओवादी जंगली झारफुकको घुर्की लगाउँदै छन् । नेपाली जनता अब त्यति धेरै अबुझ र लाटा छैनन् भन्ने कुरा बुझेर पनि अनायास नाटक मञ्चज गरिरहेका छन् । गत आइतबार ४२ दलद्वारा घोषित भनिएको बन्द कार्यक्रममा सहभागी संख्या र जाँडे प्रवृत्तिले वास्तविकता उदांगो पारिदिएको छ । लाज पचेकाले नांगै हिँड्यो भन्दैमा अरू पनि उसका पछि डौडिनुजस्तो मूर्खता अरू केही हुन्न भन्ने कुरा बुझेर पनि बुझपचाउनेलाई भने ‘यसरी पिछा नलाग्दा राम्रो’ सम्म भन्न सकिन्छ बाटो छेक्न सकिन्न । किनकि नेपाली राजनीतिमा आन्दोलनको नेतृत्वले ‘युज एन्ड थ्रो’ गर्ने गरेको सबैलाई सर्वविदितै छ ।
खिलराज रेग्मीको नियुक्तिदेखि नै आन्दोलनमा होमिएका दल यतिखेर संघर्षको ज्वालामा थप पेट्रोल छर्कने बताइरहेका छन् । यसरी एकोहोरो आन्दोलनको यात्रामा लागेका ४२ दलसँग ठोस स्पष्ट कारण भने छैन । सरकारलाई राष्ट्रघातीको आरोप लगाउँदैमा सत्यसावित हँुदैन । कुनै कुरा गर्नुपूर्व त्यसलाई प्रमाणित गर्ने प्रशस्त आधार हुनुपर्छ । आफू प्रतिकूल हुँदैमा आरोप लगाएर आन्दोलनमा होमिनुभनेको स्वार्थ प्राप्तिका लागि निहुनिकाल्नु हो, जसलाई न जनताले समर्थन गर्छन् न त विपक्षीले नै । राजनीतिक यात्रामा सच्चापनको एक अंश पनि नलिई आफू अनुकूल हुँदा आँखा छोपेर सही गर्ने, प्रतिकूल हुँदा भएभरको बल निकालेर कुर्लुनेहरूलाई नेता भन्न सुहाउँदैन । यो त केवल कात्तिकमा बँैस चढेको कुकुरको भुकाइजस्तो मात्रै हुन्छ ।
संविधानसभा विघटन भएको एक वर्ष नाघिसक्दा तोकिएको मिति विरुद्ध कुर्लनुपर्ने कुनै कारण छैन । अहिलेको परिस्थितिको माग भनेको निर्वाचन मात्रै हो । यसको कुनै विकल्प छैन । समय लम्ब्याउनकै लागि निहँु राखेर विकल्पहरू दर्शाए पनि त्यो केवल फोस्रा/देखावटीपन मात्रै हुन् । मुुलुकलाई अगाडि बढाउने र स्वच्छ राजनीति गर्ने हो भने मुलुकमा जतिसक्दो चाँडो निर्वाचन सम्पन्न गरेर नयाँ दिशातर्फ लाग्नुपर्छ । परिस्थितिलाई कुल्चेर मनपरी यात्रामा लाग्नेहरू एकदिन थाकेर उही मार्गमा फर्कने छन् । तर, त्यतिबेला समय निकै घर्किसकेको हुनेछ । त्यसैले कहीँकतैको पाइला चाल्नुपूर्व गन्तव्य पहिचान गर्न सक्नुपर्छ । सही गन्तव्य पहिचान गरी यात्रा गरे मात्रै उद्देश्य पूरा हुन्छ अन्यथा पछुटाउनुको विकल्प रहन्न । अहिले आन्दोलनरत दलहरूले यो कुरा बुझ्न जरुरी छ ।
केही दल बेकामको आन्दोलनमा हाम फलिरहँदा प्रमुख भनिएका एनेकपा माओवादी, एमाले, नेपाली कांग्रेस र मधेसी दलबीच समेत न्यानो सम्बन्ध देखिँदैन । सबै दलका नेता भान र स्वाङ पार्ने नियतले प्रचारबाजीमा लागेका देखिन्छन् । यतिबेला चुनावको सरगर्मी बढ्नुपर्नेमा शंकाको वरिपरि डुलिरहेका छन् । अब पनि एकअर्काेलाई दोषारोपण गरेर बस्ने हो भने मंसिरमा निर्वाचन हुँदैन भनेर कसम खाँदा फरक पर्दैन । आन्दोलरत दलहरूलाई सकेसम्म सम्झाएर नभए झिनो औँला बंग्याएरै भए पनि निर्वाचनमा लाग्नुपर्छ । सोझो औँलाले घ्यू नआए औँला बंग्याउन पनि जान्नुपर्छ । सही सत्य कुरालाई पेल्दा पो ज्वालामुखी रूप लिन्छ झुट कुरालाई पेल्दा जनताको साथ मिल्छ । अहिलेको अवस्थामा आन्दोलनमा लाग्नु भनेको कात्तिकमा बिहेबाजा बजाएर डुल्नुजस्तै हो ।
असारे मौसममा भ्यागुताहरू रमाएर कराउँछन् तर पानी नपर्दा बेतालले उफ्रिँदै जताजतै डुल्छन् । यतिखेर आन्दोलनरत दलहरू पनि मौका नमिलेर निर्वाचनमा हारिएला भन्ने भयले आक्रान्त बनेर निर्वाचन नै नगराउने धुनमा लागेका हुन भन्न गाह्रो पर्दैन । तर, यो सच्चा र राष्ट्रवादी राजनीतिभित्र पर्दैन । यो इतिहासले धिक्कार्ने र जनताबाट सदाका लागि तिरस्कृत हुने दाउ सिवाय केही पनि होइन । आन्दोलनरत दलहरू कुनै पनि हालतमा चुक्ने सम्भावना देखिँदैन । त्यसकारण ठूला दलहरूले निर्वाचनमा जानका लागि उनीहरूसँग सहमति गरेर अघि बढ्नुपर्छ । अन्यथा निर्वाचन वातावरणमा जे पनि हुन सक्ने सम्भावना देखिन्छ । यसका लागि ठूला भनिएका दलहरूबीच आपसी मेलमिलाप हुनुपर्छ । सहकार्य, सहमति र सकारात्मक कोणबाट अगाडि बढ्नुपर्छ ।
यहाँ ठूला शक्तिलाई टाउकोमा राखेर अन्य दललाई कुल्चिन खोजेको होइन । ठूला दल मात्रै सर्वेसर्वा होइनन् । साना दलको भूमिका र महत्त्व पनि उत्तिकै छ । ठूला भनिएका ३/४ दल मात्रै मिल्दैमा संविधान बन्ने पनि होइन, ठूला दलले मात्रै गरेको निर्णय सर्वमान्य हुने पनि होइन । साना दललाई जसरी पनि पेलेरै जाने भन्ने मानसिकता उनीहरूले कदापी लिनुहुँदैन । अहिलेको आवश्यकता भनेको संविधानसभाको निर्वाचन मात्रै होइन, संविधान दिन सक्नेखालको निर्वाचन हुनुपर्छ । पहिलो संविधानसभा चार वर्षसम्म नानाथरी बाधा अवरोध झेलेर अवशान भयो । अबको संविधानसभाले पनि संविधान दिने कुनै ग्यारेन्टी छैन । यति र उतिपटक भन्दै संविधानसभाको निर्वाचनमा भाग लिन पर्‍यो भने योभन्दा बेवकुफ अरू हुनै सक्दैन ।
पहिलोपटकको निर्वाचनमा सबै दल मिलेर निर्वाचनमा जाँदा त यस्तो अवस्था आयो भने ४२ दललाई पाखा लगाएर निर्वाचनमा जाँदा कस्तो नतिजा आउला ? त्यसकारण सहमतिबाट अघि बढ्नुपर्छ । साना दलको सिट सुरक्षितका लागि नै ‘थ्रेसहोल्ड’ प्रस्तावलाई डस्टविनमा फालिएको छ तर पनि साना दल असन्तुष्टीको पोको बोकेर बेतुकको आन्दोलनमा लाग्ने हो भने उनीहरूको राजनीतिक यात्रामा ठेस लाग्ने सम्भावना पनि देखिन्छ । तसर्थ, निर्वाचनको विरोध गरी अरूको पुच्छर समाटेर उफ्रिनुपूर्व एकपटक ठन्डा दिमागले सोच्ने कि ?

सौर्यदैनिकमा प्रकाशित

Monday, June 10, 2013

दिशा बिराएका दलहरू

रामजी बलामी

हास्यकलाकार हरिवंश आचार्यद्वारा लिखित पुस्तक ‘चिना हराएको मान्छे’ ले यतिखेर तहल्का मच्चाइरहेको छ । फुटपाथदेखि स्टेस्नरी पसलहरूमा समेत यो पुस्तकको चाङ देख्न पाइन्छ । लेखक, प्रकाशक र बिक्रेता मात्रै होइनन् व्यापारीहरूलाई समेत ‘चिना हराएको मान्छे’ ले राम्रै नाफा दिलाएको छ । यति मात्रै होइन यो पुस्तकले गर्दा सँगै बजारमा आएका नाम चलेका लेखकका पुस्तकसमेत ओझेलमा परेका गुनासा सुनिन थालेका छन् ।
पाठकहरूलाई ‘चिना हराएको मान्छे’ ले मख्ख पारिरहँदा मुलुक हाँक्ने उद्घोषका साथ उदाएका राजनीतिक दलहरू दिशा हराएर गणतव्यहीन दिशातर्फ अग्रसर देखिन थालेका छन् । पछिल्लो समय मुलुकमा चुनावी सरगर्मी बढिरहँदा दलहरू भने चुनावबाट उछिट्टिने मौका खोजिरहेका छन्झँै भान हुन थालेको छ । कसरी अल्झाउने र कसरी बल्झाउने भनेरै ‘टाइम पास’ राजनीति गर्न माहिर देखिएका दलहरू एकातिर पार्टी प्रवेश गराउने अभियानमा तल्लीन देखिएका छन् भने अर्काेतिर एकअर्काेको उछित्तो काट्ने अभियानमा लागेका छन् । अत: निर्वाचनमुखी नभए पनि निर्वाचन माहोलको झल्को भने दिलाएका छन् ।
वास्तवमै भन्ने हो भने यतिखेर दलहरूले आफ्नो निश्चित लक्ष्य र उद्देश्य नै चटक्कै बिर्सेको अवस्था छ । मूल लक्ष्य भुलेर वा बेवास्ता गरेर गन्जागोल परिवेशमा रुमलिनु भनेको कात्तिकमा बिहे बाजा बजाउनुसरह हो । यो समय भनेको आरोप–प्रत्यारोप र विवाद उब्जाउने समय होइन । सहकार्य र सहमतिबाट जसरी पनि दोश्रो संविधानसभाको चुनाव गराउने र त्यसबाट संविधान निर्माण गर्ने हो । लाउँ र खाउँ मन्त्र जप्दै राजनीतिमा होमिएकाहरूको पञ्जामा सच्चा राजनीतिकर्मीसमेत रुमलिन थालेका छन् । राजनीतिसँगै मुलुक नै अन्धकारमा रुमलिन पुगेको छ । जब नेता, पार्टी र नेतृत्वले सही दिशा पक्रन सक्दैन तब त्यहाँ कुनै पनि सफलता हात लाग्दैन । नेपाली राजनीतिमा पनि यतिखेर यही नियम लागू भइरहेको छ । पहिलोपटक असारमा निर्वाचन गर्ने भनिए पनि पुन: यो भाका मंसिरसम्मका लागि सरेको छ । तर, पनि मिति भने अझ तोक्न सकेको छैन, यो मंसिरमा पनि निर्वाचन नहुने लक्षण हो भन्दा अत्युक्ति नहोला ।
दलहरूबीच लामो समयको कुस्तीपछि झिनो सहमति जुराएर अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षको रूपमा खिलराज रेग्मीलाई चुनावी नेतृत्व हस्तान्तरण गरेका थिए । रेग्मीलाई पदपूर्ति र विवादित निर्णयका लागि सत्ताको चावी सुम्पेको नभई संविधानसभाको दोश्रो निर्वाचन गराउनका लागि जिम्मेवारी दिइएको हो । तर, धमाधम विवादित निर्णय गरेर जनतालाई घोक्रो सुकाउने बहाना बनाइदिएका रेग्मीले निर्वाचनको मिति अझै तोक्न सकेको छैन । यसरी हेर्दा रेग्मी स्वयंले दिशा बिराएको देखिन्छ । निर्वाचनको मिति तोक्ने जिम्मा रेग्मीको हो, दलहरूको होइन । तर, उनी दलहरूको सहमतिमा मिति तोक्ने जनाउ दिइरहेका छन् । यदि नेपाली दलहरू यति मिलनसार भइदिएको भए उनको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन गरिरहनुपर्ने थिएन । डा. बाुबराम भट्टराईको नेतृत्वमै निर्वाचन संभव हुन्थ्यो । यो कुरा बुझेर पनि रेग्मीले पुन: दलहरूको भाका कुर्नु र दलहरूको मुख ताक्नुलाई असमर्थताको पगरी लगाउने कि नुनको सोझो भन्ने ?
जसरी पनि तोकिएको समय सीमाभित्र संविधानसभाको निर्वाचन गराउने रेग्मी सरकारको दायित्व हो । दायित्व विमुख भएर दलहरूकै पुच्छर समात्दै हिँड्नु भनेको सत्तालाई थप स्वादिलो बनाउने र जनतालाई थप उल्लू बनाउने खेल सिवाय केही पनि होइन । आफूमा भएको सबै शक्तिलाई भरपुर उपयोग गरेर आफूलाई सुम्पेको जिम्मेवारी समय सीमाभित्र पूरा गर्नु रेग्मीको दायित्व हो । सहमतिको नाममा वर्षंै बिताएका र सहमतिकै नाममा संविधानसभाको हत्या गरेका दलहरूको सहमति पर्खेर बस्ने हो भने चुनावी सरकार बेकामको सरकार साबित नहोला भन्न सकिन्न । त्यसकारण दलहरूलाई टेबलमा ल्याई निर्देशन र समन्वय ढंगले निर्वाचनको मिति घोषणा गर्ने र निर्वाचनको तयारी गर्नेतर्फ लाग्नु पर्छ । दलहरूले दिशा तोड्नैमा सरकारले दिशा तोड्न मिल्दैन ।
यतिखेर निर्वाचनको विषयमा एउटा विवादित मुद्दाको उदय भएको छ । फौजदारी अभियोग लागेर सजाय तोकिएका व्यक्तिहरूलाई निर्वाचनमा लड्न दिने कि नदिने भन्ने विषयमा दलहरूबीच मनमुटाव सिर्जना हुन पुगेको छ । यस्ता आरोपित व्यक्तिलाई चुनाव लड्न दिनु राष्ट्र र विपक्षका लागि मात्रै नभएर पार्टीकै लागि घातक हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । निर्वाचनमा उमेदवारको खुबी, दक्षता, सेवा र क्रेजले पनि मत आफ्नो पक्षमा परिरहेको हुन्छ । जब हत्यारा, कुख्यात अपराधी, डन इत्यादिलाई चुनावमा टिकट दिइन्छ भने यो अरू पार्टीहरूका लागि भन्दा पनि स्वपार्टीका लागि नफाप्ने कुरा हो । यस्तो उमेदवारप्रति वितृष्णा राखेर आफ्नै पार्टीको कार्यकर्ताले पनि अर्काे पार्टीका नेतालाई मत हाल्ने प्रबल संभावना रहन्छ त्यस कारण विपक्षीले विरोध गर्नुपूर्व मौलिक पार्टीले मनन गर्नुपर्ने कुरा हो ।
राजनीतिक दलहरू एकातिर विरोधाभासमा ओर्लिए पनि अर्काेतर्फ निर्वाचनको तयारीमा पनि जुटिरहेका छन् । केन्द्रदेखि गाउँस्तरमा समेत प्रचारप्रसार र प्रशिक्षण कार्यक्रमहरू आयोजना भइरहेका छन् । नयाँ मुहार र नामी अनुहारलाई पार्टीको माला पहिर्‍याउने होडबाजी पनि चलेको छ । पछिल्लो समय विशेषत: तीन ठूला पार्टीमा यो अभियानले निरन्तरता पाएको छ । हालै एमालेका उर्मिला अर्याल, रामचन्द्र झालगायतका नेताहरू एमाओवादीमा प्रवेश गरेका छन् । यसअघि पनि एमालेबाट केही जनजाति नेताहरू अन्य पार्टीमा प्रवेश गरेका थिए । यसलाई एमालेले फाल्नुपर्ने विष आफँै झर्‍यो भनेर टिप्पणी गरिरहेका छन् भने पार्टी त्याग्दै हिँड्ने नेताहरू एमालेमा आफ्नो कामको कुनै मूल्यांकन नभएको गुनासो गरिरहेका छन् ।
पार्टी प्रवेश हुनासाथ त्यहाँ दुई कुराको प्रभाव हुन्छ । एउटा जतिसुकै स्वच्छ, इमानदारी र त्यागी भनिए पनि अवसरको आशा राखेको हुन्छ भने अर्काेतिर पार्टीमा लामो समयदेखि सक्रिय नेताहरूमा नैराश्यता पैदा हुन्छ । त्यसो त एमालेबाट माओवादीमा पछिल्लोपटक प्रवेश गरेका नेताहरू जिम्मेवारविहीन हुनुको एउटा कारण यही हो । प्रचण्डजाल भने पनि स्वविवेकी भनिए पनि एमाओवादीका केन्द्रीय नेताहरूको दबाबका कारण नव प्रवेशी एमाले नेताहरू हात बाँधेर बस्न बाध्य छन् । ठूलै आशा दिलाएर आफ्नो पार्टीमा ल्याएका उनीहरूलाई जिम्मेवारी दिउँm भने आन्तरिक झमेलामा फस्ने नदिऊँ भने नवनेताको किचकिचले सीमा नाघेको अवस्था । यही हालतमा पुगेका छन् एमाओवादीका नेतृत्व तह ।
केन्द्रदेखि गाउँस्तरसम्म कार्यकर्ताहरू प्रवेश गराउने क्रम सबै पार्टीमा उत्तिकै देखिन्छ । राजनीतिको ‘र’ नचिनेकालाई समेत ललाई फकाई पार्टी प्रवेश गराउनेको संख्या बढाउने धुनमा लागेका छन् दलहरू । यस्तो प्रवृत्तिले क्षणिक प्रचारका लागि त उत्तम होला तर दीर्घकालीन फाइदा भने पक्कै हुन्न । भावीको कुरा भविष्यले बताउला तर पार्टी प्रवेश गर्ने/गराउने यो लहडले चुनावी रन्कोको झल्को भने दिलाएको छ । दलहरूमा पनि चुनावी माहोल छाएको छ । चुनावको विपक्षमा लागेको साना ३३ कोटी दलसमेत पछिल्लो समय आन्तरिक रूपमा चुनावको पक्षमा वकालत गर्न थालिएको बुझिएको छ । यसलाई सकारात्मक मान्नुपर्छ किनभने समयको माग पनि निर्वाचन मात्रै हो ।
समयलाई पछ्याउनेले नै सफलता हात पार्छ त्यसकारण निश्चित गणतव्य भएर सकारात्मक दिशामा होमिनुपर्छ । अझै पनि वादविवादको भुमरीमा रुमलिने हो भने न मुलुकले शान्तिको स्वास फेर्न सक्छ न त जनताले नै शान्तिको आभास गर्न पाउँछ । त्यसकारण दिशा हराएर अन्धकारमा रुमलिरहेका दलहरूलाई चुनावी सरकारका अध्यक्ष रेग्मीले होसमा ल्याई दिशा पहिल्याई दिनुपर्छ र त्यसका लागि तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छ ।

सौर्य दैनिकमा प्रकाशित
http://www.souryadaily.com/2013/06/75522.html

एसएलसीको नतिजा आजै


२०६९ को चैत्र महिनामा सन्चालित एसएलसी परीक्षाको नतिजा आजै प्रकाशन हुने भएको छ । नतिजा प्रकाशनका बारेमा छलफल गर्न बोर्ड बैठक परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा अहिले बसिरहेको छ । उच्च स्रोतका अनुसार नतिजा आजै दिउसो ३ बजे सम्ममा प्रकाशन गर्ने तयारी भईरहेको छ । एसएलसी परीक्षा २०६९ मा कुल ५  लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका थिए । यस वर्षबाट एसएलसीको नतिजा पत्रिकामा प्रकाशिन नगर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाको नतिजा विभिन्न वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने सुविधा मिलाइएको छ । www.moe.gov.np, www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.np बाट समेत नतिजा हेर्न सकिने छ ।

३१ औं जिल्ला जुनियर रेडक्रस गोष्ठी सम्पन्न



बज्रवाराही । रेडक्रस सोसाइटी मकवानपुरको ३१ औं जिल्ला जुनियर युवा गोष्ठी सम्पन्न भएको छ । उत्तरी मकवानपुरको सुनौला माविमा संचालित गोष्ठीमा जिल्ला भरका ४२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । गोष्ठीको उद्घाटन प्रमुख अतिथी स्थानीय विकास अधिकारी भुवन प्रकाश विष्टले गर्नु भयो । उद्घाटन कार्यक्रममा बोल्दै विष्टले सेवा नै धर्म हो भन्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तत्पर रहेको वताउनु भयो । पर्यटन नगरी टिस्टुङ पालुङलाई पर्यटन प्रवद्र्धन र पर्यटक विकासका लागि जिल्ला स्तरीय कार्यक्रमहरु संचालन गर्ने वताउँदै उहाँले होमस्टे कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने तर्फ पनि जोड दिनु भयो । 
अतिथीहरु लाई सम्मान गर्दै 



कार्यक्रमको पहिलो दिन विद्यार्थी, अभिभावक, विभिन्न संघसस्थाका प्रतिनिधि लगायतले सुनौला माबि  देखि पापुङ  हुँदै  लिलाखेलसम्म प्रभातफेरी गर्दै चेतनामुलक सन्देश प्रवाह गरेका थिए । विद्यार्थीहरुको मार्चपास गर्नुको साथै आ–आफ्नो प्रतिभा प्रस्फुटन गरेर कार्यक्रमलाई सन्देशमुलक बनाएका थिए । कार्यक्रममा हाजिरिजवाफ प्रतियोगिता, नाटक लगायत साँगेतिक कार्यक्रमहरु पनि आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी विद्यालयहरुले गत बर्ष गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुको साथै आगामी योजना समेत प्रस्ताव गरेका थिए । जिल्लाबाट आएका अतिथीहरुलाई स्थानीयहरुले होमस्टेको समेत ब्यवस्था गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सरसफाइ र चेतना विस्तारका लागि सवैले पहल गर्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा बज्रवाराहीमा कार्यरत विभिन्न संघसस्थाका प्रतिनिधीहरु, विद्यार्थी, अभिभावक, शिक्षक लगायत गरी करिव १२ सय जनाको उपस्थित रहेको थियो । 

कार्यक्रममा बोल्दै आयोजक सुनौला माविका प्रधानाध्यापक रुपचन्द्र गोपालीले बज्रवाराहीमा रहेका ऐतिहासिक पर्यटकीय संम्पदाहरुको संरक्षण र स्थानीयमा जनचेतना अभिवृद्धिका लागि सवैले ध्यान दिनु पर्ने वताउनु भयो । रेडक्रसको सेवाबाट स्थानीय समेत खुसी भएको वताउँदै गोपालीले स्थानीयमा जनचेतना अभिवृद्धिका लागि पनि हातेमालो गर्नु वताउनु भयो । 
जनचेतना सहित प्रभातफेरीमा सुनौला माबिका विद्यार्थीहरु 
कार्यक्रममा रेडक्रस मकवानपुरका संयोजक कृष्ण बहादुर सापकोटा, रेडक्रस मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपाने, सचिव लाल बहादुर थापा लगायत जिल्लामा कार्यारत विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो । जिल्ला रेडक्रस जुनियर युवा गोष्ठीको ३२ औं गोष्ठी गिताधर्म निमावि सुकौरामा हुने भएको छ । 

डेटिङमा च्वाइस



तपाईं डेटिङ जानुहुन्छ कि जानुहुन्न ? कुन खालको डेटिङमा रमाउँदै हुनुहन्छ ? कतै डेटिङको अर्थ नै नबुझी डेटिङमा होमिरहनुभएको त छैन ? प्रेमलाई मलजल गर्ने, हुर्काउने अवसर हो-डेटिङ। पश्चिमा मुलुकहरूमा यसलाई विभिन्न कोण र प्रकारले विभाजन गरिएको पाइन्छ। नेपालको सन्दर्भमा पनि समयसँगै यसका प्रवृत्ति र प्रकृतिले अनेक रूप लिन थालेका छन्। 

इन्गेजमेन्ट डेटिङ

एरेन्ज म्यारिज गर्नेहरूले इन्गेजमेन्टलगत्तै चिनापर्ची र एकअर्कालाई बुभmन गरिने डेटिङ हो- इन्गेजमेन्ट डेटिङ। हुन त अहिले युवायुवती आफंैले रोजेेर मात्र परिवारको साथमा इन्गेजमेन्ट गर्ने चलन बढ्दै गएको पाइन्छ। यस्तो अवस्थामा बाहेक परिवारले नै मन पराएर विवाह गराइदिन लागेका जोडीहरूका लागि यो डेटिङ अविस्मरणीय हुन्छ। यस्तो डेटिङले विवाहको दिन, सुहागरात आदिमा पर्ने केही अप्ठेरोपन हटाउनमा सघाउ पुर्‍याउँछ। इन्गेजमेन्टसँगै दुवै जना मिलेर अन्त कतै डेटिङस्पटमा रमाउने र भावी जीवनको खाका कोर्न पनि यस्तो डेटिङले सहायता गर्छ। 

सिरियस डेटिङ

प्लस टु पुस्ता माझ लोकपि्रय डेटिङ हो यो। अझ भनौं युवावस्थामा प्रवेश गरेलगत्तै डेटिङमा होमिने जोडीहरू यस्तो डेटिङमा रमाउँछन्। एक अध्ययनले विश्वमा यस्तो डेटिङमा रम्नेहरू ६० प्रतिशत भन्दा बढी हुने देखाएको छ। भर्खर युवा उमेरमा टेक्दै विपरीत लिंगीप्रतिको झुकावका कारण डेटमा जाने र त्यसैमा फसी मस्त हुने हुनाले यो लामो समयको डेटिङ मानिन्छ। यसलाई लङ टाइम डेट पनि भनिन्छ। यस्तो डेटिङमा हिंसा पनि हुने गरेको कतिपय अध्ययनमा उल्लेख छ। यस्तो डेटिङमा एक-अर्कालाई बुभmने भन्दा पनि जवानीमा मस्त हुने मनसाय देखिनु तथा उम्लिंदो जवानीको जोश थाम्न नसक्नु जस्ता कारणले शारीरिक सम्पर्क समेत हुने पाइएको छ। यसका साथै यौन हिंसा र संक्रमणको संभावना समेत यस्तो प्रकृत्तिको डेटमा हुने गरेको छ। 

यसका नकारात्मक मात्र होइन, सकारात्मक पाटाहरू पनि उत्तिकै छन्। यो उमेरमा एक-अर्कालाई बुझेर अघि बढ्नेहरूको दाम्पत्य जीवनमा समेत प्रगति भएको पाइन्छ। मायामा फस्ने र फसाउने यो उमेरलाई सदुपयोग गर्न सके जीवनको लक्ष्यमा पुग्न ठूलो सहयोग पुग्छ।

अनलाइन डेटिङ

युवापुस्ता माझ लोकपि्रय डेटिङ हो- अनलाइन डेटिङ। स्काइप, याहु, फेसबुक, ट्विटरजस्ता विभिन्न ब्लग तथा वेबसाइटहरूमा उपलब्ध च्याट सुविधाबाट आजको पुस्ता घर र अफिसमा काम गर्दागर्दै डेटिङको मज्जा लुटिरहेका हुन्छन्। भेटघाटका लागि समय कुर्नुपर्नेहरूका लागि पनि अनलाइन सहज माध्यम भएको छ। शब्दको च्याट मात्र होइन, फेस टु फेस च्याट गर्ने र भ्वाइस कल गर्ने सुविधाले प्रेमी/प्रेमिकाहरू मात्र होइनन् विदेशमा रहेका आफन्त तथा इष्टमित्रहरूसम्मले ठूलो फाइदा पाएका छन्।

अनलाइनले नै दाम्पत्य जीवनसम्म पुर्‍याइदिएको घटना पनि बढ्दै गएको छ। अचेल फेसबुकलगायतका सामाजिक सञ्जालहरूको लोकपि्रयतासँगै यसमा होमिने नेपालीहरूको जमात पनि बाक्लिँदै गएको छ। हालसम्म करिब १७ लाख नेपाली यसमा आबद्ध छन् भने फेसबुक प्रयोगकर्ताको विश्वसूचीमा नेपालको स्थान ६५ औं छ। विशेषगरी युवापुस्ता १८ देखि २४ वर्ष समूहको प्रयोगकर्ता मात्र कुल प्रयोगकर्ताको ४७ प्रतिशत छ। त्यसो त फेसबुक पनि डेटिङको एउटा अभिन्न पाटो बन्न पुगेको छ।

अनलाइन डेटिङको एउटा दोष के छ भने यसबाट भेट भएका सबै मान्छे राम्रा हुन्छन् भन्न सकिँदैन। कैयौंले नक्कली युवती र नक्कली युवा बनेर छलछाम गरिरहेका हुन्छन्। यति मात्र होइन, कैयांैले त व्यक्तिगत स्वार्थका लागि विभिन्न नाटक रचिरहेका हुन्छन। अनलाइन डेटमा किचकिच बढी हुनेे सम्भावना भएकाले जोडीहरूबीच शंका उत्पन्न हुने गरेको छ। यसका साथै अनलाइन डेटले कार्य क्षमता र समय बर्बाद गर्ने हुँदा व्यक्तिगत करियरमै चोट पुग्न सक्छ। 

मोबाइल डेटिङ

अनलाइन प्रविधिको विकास पूर्व मोबाइल डेट निकै लोकपि्रय थियो। हुन त अझै पनि अनलाइन डेटभन्दा मोबाइल डेटलाई विश्वासिलो मानिन्छ। प्रेमीजोडीहरू राति १० बजेपछि र बिहान ६ बजेअघि सस्तो रेटको सदुपयोग गर्दै डेट गर्छन्। यसका साथै आफन्त र कोही नभएको मौका छोप्दै पलपल मोबाइल डेटमा रमाउनेहरूको पनि कुनै कमी छैन। जोडीहरूलाई आफ्नो प्रेम प्रकट गर्न र प्रेमीको मन चोर्न यसले ठूलो सहयोग गरेको छ। जुनसुकै प्रकारको डेटपूर्व पनि मोबाइल नभै हँुदैन। डेटिङको सामान्य परिभाषाअनुसार भन्नुपर्दा मोबाइल संवाद नै डेट हो जुन लामो वा छोटो दुवै हुन सक्छ। मोबाइलमार्फत नै भिडियो कल गर्नेहरूको जमात पनि उत्तिकै छ। केही समयअघि मोबाइल सेक्सको कुरा पनि सार्वजनिक भएको थियो। सुनसान, गोप्य र न्यानो सम्बन्धका लागि मोबाइल डेट उत्तम मानिन्छ।

सेक्स डेटिङ

हुन त आजका युवापुस्तामाझ डेटिङ र सेक्स पर्यायझै बन्न थालेको छ। डेटिङ भन्नेबित्तिकै सेक्स अपिल र सेक्स स्याटिस्फ्याक्सन भन्ने बुभmन थालेका छन् कतिपयले। त्यसो त विभिन्न सार्वजनिक स्थलमै यस्ता जोडी भेटिने गरेका छन्। अनियन्त्रित डेटिङको एउटा रूप हो यो। सेक्स डेटिङले सेक्सकै लागि दुई जना भेटघाट गर्ने र यसकै लागि मात्र डेटमा जाने भन्ने बुझिन्छ। अन्तर्राष्ट्रि्रय रूपमा यो निकै फस्टाएको डेट हो भने नेपालमा पनि यसको सुरुवात भैसकेको छ। सेक्सबिनाको डेटिङलाई नुनबिनाको तरकारी भन्नेहरू नभएका होइनन्। आपसी समझदारीमा यो डेटिङलाई केही हदसम्म स्वीकार्य मान्न सकिन्छ तर बाध्यता, त्रास र मायाजालमा हुने यस्तो डेटले दीर्घकालीन चोट पुर्‍याउँछ। त्यसकारण यसप्रति आम युवा सचेत भएकै बेस।

परिवेश, मुलुक, आवश्यकता, चाहना र परिस्थतिअनुसार डेटिङलाई विभिन्न प्रकारले पनि चर्चा गर्न सकिन्छ, तर माथिका डेट प्रेमसँग सम्बन्धित र चलनचल्तीमा आएका मात्र हुन्। ग्यादरिङ डेटिङ, सामूहिक डेटिङ, रेगुलर डेटिङ, प्रारम्भिक डेटिङ आदि अन्य विभिन्न किसिमका डेटिङ पनि चलनचल्तीमा पाइन्छ। सामान्यतः डेटिङ शब्द प्रेमी/प्रेमिकाबीचको रसरङका रूपमा मात्र लिने गरिए पनि यसको सिमा यति मात्र होइन। सामान्य भेटघाट र चिनापर्ची पनि डेटिङको एउटा रूप हो। 

फेसबुक डेटमा ध्यान दिनुपर्ने कुरा

अनलाइन डेटिङमध्ये अति लोकपि्रय डेट हो- फेसबुक डेटिङ। यसमा डेटिङ गर्ने जोडीहरूले विशेष ख्याल भने राख्नुपर्छ। आफ्नो डेट साथीलाई उसको स्वीकृतिबिना कुनै पनि फोटो ट्याग गर्न हुँदैन जसले उसमा नकारात्मक भावना उब्जन सक्छ। फेसबुकको आफ्नो प्रोफायलमा वैवाहिक सम्बन्धलगायतका कुरा पोस्ट गर्नुपर्दा ध्यान पुर्‍याउनुपर्छ। डेट पार्टनरलाई थाहा नदिइएका वा बोलेका कुराभन्दा झूटा विवरण पाइए आफूप्रति विश्वास घट्ने हुँदा यसतर्फ पनि ध्यान दिनुपर्छ। अर्काे महत्वपूर्ण कुरा, फेसबुकमा पोस्ट गर्ने स्टाटस विशेष ख्याल गरेर मात्र पोस्ट गर्नुपर्छ, अन्यथा आफ्नो रहस्य खुल्ने मात्र होइन, भित्री व्यवहार समेत अरूले चाल पाउने सम्भावना हुन्छ। त्यसकारण यस्तो व्यवहार नियन्त्रण गर्नतिर लाग्नुपर्छ। 

फेसबुक च्याट गर्दा प्रयोग गरिने शब्दमा अनुशासन र धैर्यता गुमाउनु हुँदैन। च्याट गर्नुपूर्व साथीको साथमा अरू पनि छन कि भन्ने विचार गर्नुपर्छ। आफ्नो चलाखी वा प्रतिभा देखाउने नाममा भद्दा, अस्पष्ट र छोटो शब्दको अधिक प्रयोग गर्नु राम्रो मानिँदैन। यस्ता कुरामा ध्यान दिन सके आफ्नो प्रेमी/प्रेमिकाको आफूप्रतिको हेराइमा चोट पुग्दैन। 

साप्ताहिकमा प्रकाशित

Tuesday, June 4, 2013

स्ववियु चुनाव स्थगन किन भयो ?


 रामजी बलामी 



 
लामो समयपछि हुन लागेको स्ववियु चुनाव पुनः अन्यौलमा परेको छ ।
विद्यार्थी संगठनहरू धमाधम तालाबन्दी र आरोप–प्रत्यारोपमा उत्रेपछि भाँडभैलो हुने भन्दै निर्वाचन स्थगन गरिएको हो। चुनाव स्थगनसँगै नक्कली भर्ना र यसको सेरोफेरो परिक्रमा गरिरहेका तत्त्वहरूले बल्ड्याङ मात्रै खाएका छैनन्, उतानो परेका छन्। अरुलाई पछार्न राखेको गोबरमा आफैं चिप्लेका छन् विद्यार्थी संगठनहरू यतिखेर। निर्वाचन स्थगन हुनुको प्रमुख कारण भनेको विद्यार्थी संगठनहरूले रातारात नक्कली विद्यार्थी भर्ना गर्नु र आफ्नो गल्ती स्वीकार्न नचाहनु हो। एकले अर्काेलाई नक्कली विद्यार्थी भर्ना फिर्ता लिनुपर्ने प्रत्यारोपको जुहारी खेलिरहेका विद्यार्थी यतिखेर कुम्भकर्णे निन्द्रामा मस्त छन्। निर्वाचन स्थगनले उनीहरूमा पीर होइन हाइसन्चो छाएको देखिन्छ। जसरी पनि निर्वाचन जित्ने हेतुका साथ राजनीतिमा होमिएका विद्यार्थी संगठनहरूले आफ्नो मूल मर्मसमेत भुल्दै गएका छन्। 



राजनीतिक दलहरूको मिनी निर्वाचनको रूपमा समेत लिइने यो निर्वाचनलाई दलहरूले आफ्नो हैसियत मापन गर्ने माध्यमको रूपमा समेत लिने गरेका छन्। विद्यार्थीको हकहित र समग्र शैक्षिक जगतलाई माथि उकास्ने नाराका साथ उदाएका विद्यार्थी संगठनहरू पछिल्लो समय राजनीतिक झन्डामुनि बसेर लक्ष्यभन्दा पनि राजनीतिक रंग दल्न थालेका छन्। त्यसो त स्ववियु निर्वाचनमा पनि विभिन्न खाले राजनीतिक तरंगहरू उत्पन्न हुन थालेका छन्। राजधानीका विभिन्न क्याम्पस आसपासका क्षेत्रहरू नियाल्दा यो चुनाव विद्यार्थीको नभई माउ पार्टीहरूको संसदीय चुनावको झ–झल्को दिन्थ्यो। भित्ते लेखन, पोस्टर, रंगरोगन र प्रचार शैली हेर्दा विद्यार्थी संगठनहरूको आयस्रोत निकै गहकिलो भएको भान हुन्छ। तर सञ्चारमाध्यममा अन्तरवार्ता सुन्दा अचम्म लाग्छ। आफन्त, नातेदार, मित्र र विद्यार्थी संगठनलाई माया गर्नेहरूबाट सहयोग प्राप्त गरी प्रचार–प्रसार गरिएको टुक्के सन्दर्भ बताउन हिच्किचाउँदैनन् उनीहरू। एक कोणबाट नियाल्दा यो विद्यार्थी संगठनहरूको निजी मामिला हो, वादविवाद र विरोध गर्नु खासै आवश्यक होइन कि जस्तो पनि लाग्छ तर विचारणीय र रहस्यमय कुरा के छ भने, स्ववियु निर्वाचनको यो प्रवृत्तिले मुलुकको अर्थतन्त्रमै धक्का लाग्ने स्वाभाविक देखिन्छ। 


विशेष गरी ठूला तीन पार्टीका विद्यार्थी संगठनहरू अनेरास्ववियु, क्रान्तिकारी र नेविसंघले निकै ताम्झामका साथ प्रचारप्रसारलाई जोड दिएका थिए। विगतमा पनि निर्वाचन जित्नका लागि लाखौं रकम खर्चेर भएभरको शक्ति लगाएको आरोप नलागेको होइन। प्रचारप्रसारको शैली, प्रवृत्ति र बेथिती हेर्दा विद्यार्थी संगठनहरूले ठूलै दानवीर पाएको अनुभूति हुन्छ। तर यो कुरा उनीहरू स्वीकार्न तयार छैनन्। विद्यार्थी संगठनहरू यति पनि स्वीकार्दैनन् कि माउ पार्टीबाट प्राप्त चुनावी खर्चसमेत ‘हो’ भन्न चाहँदैनन्। आखिर यो ध्रुवसत्य हो भन्ने कुरा सबै सामु छर्ल·ै छ। एउटा अभिभावकले आफ्नो बालबच्चालाई स्याहार गर्दैन भन्नुजस्तो मूर्खता अरु के होला ? माउ पार्टीबाट जोहो नहुने भए यत्रो खर्च विद्यार्थी संगठनहरूले कहाँबाट जुटाए होलान् ? यो महत्त्वपूर्ण प्रश्न हो। विद्यार्थी संठनका लागि भनेर स्वेच्छाले यति धेरै रकम दान गर्ने मनुवा पनि नेपालमा छन् र ? चन्दा असुलेको प्रसंग कोट्याउँदा नमिल्दो होला, त्यसकारण चुनावी खर्चको जोहोदार माउ पार्टी नै हो भन्ने कुरामा कुनै शंका छैन। कुन पार्टी कतिको धनवादी छन् भन्ने कुरा सबैले बुझेका छन् भने आखिर किन लुक्न पर्यो ? चुनाव जित्नैका लागि लाखौं रकम नक्कली विद्यार्थीको नाममा खर्चिने र राजनीतिक छत्रछायामा पार्दै मते (मतका लागि मात्रै) विद्यार्थी भर्ना गर्नुजस्तो जालझेललाई के भन्नु? विशेषतः एमाले निकट विद्यार्थी संगठनका माधव ढुंगेल र एमाओवादी निकट संगठनका हिमाल शर्मा नक्कली विद्यार्थी भर्ना फिर्ता गर्ने कि नगर्ने भन्ने विषयमा चर्काे बहसमा उत्रेका थिए। त्रिवि कर्मचारीलाई रातभर जाग्राम राखेर तोकिएको समयसीमा मिचेर भर्ना गरेको आरोप एक–अर्कालाई लगाइरहेका छन्। यही प्रत्यारोपको राजनीतिले अन्ततः चुनाव स्थगन हुन पुगेको हो।

यहाँ महत्त्वपूर्ण कुरा के हो भने, विद्यार्थी संगठनहरूको यो चुनावमा खर्चेको रकम कमाउने बखत आमनेपालीको शिरमा भारी पर्नेछ। माउ पार्टीबाट जुरे पनि, चन्दाबाट जुरे पनि साहू–महाजन मात्रै होइन कर प्रणालीमै असर पर्नेछ। जब राष्ट्रिय करमा असर पुग्छ भने त्यो भनेको हामीले खाइ–नखाइ तिरेको करमाथि अत्याचार मच्चाउनु हो। यो जस्तो घृणित र अन्याय सायदै होलान्। विद्यार्थी संगठनहरूभन्दा पनि माउ पार्टीबाट आर्थिक अनियमितता र चलखेल अधिक हुने गरेका छन्। यसैको कमाइ अंश विद्यार्थी आन्दोलन र विद्यार्थी निर्वाचनमा खर्चिंदै आएका छन्। त्यसो त राजनीति सेवामुखीभन्दा पनि कमाउमुखी बनिरहेको परिप्रेक्ष्यमा राजनीतिबाट आश गर्नु बेकार साबित बनेको छ। अहिलेका विद्यार्थी संगठनका नेताहरू माउ पार्टीका भावी नेताहरू हुन्। अहिलेका अधिकांश नेताहरू पनि विद्यार्थी आन्दोलनबाटै आएका हुन्। 

स्ववियु निर्वाचनमा जीत हासिल भए ठूलै कमाइ हुने भएकाले पनि अहिले रकम खर्चिन खासै कन्जुस्याइँ नगरेको बताइन्छ। विद्यार्थी र सर्वसाधारणको हितको लक्ष्य बोकेका विद्यार्थी संगठनहरूले कमाउने–जमाउने राजनीति गर्न थालेपछिको अवस्था कसरी तुलना गर्ने ? वास्तवमा स्ववियु निर्वाचन विद्यार्थी राजनीति र विद्यार्थी हितको पक्षमा हुनुपर्ने थियो तर अहिले संसदीय राजनीति भइरहेको छ। प्रचारप्रसार र प्रशिक्षणमा समेत केन्द्रीय तहका नेताहरू सामेल भएका छन्, नेतृत्वमा रहेका नेताहरूसमेत हाकाहाकी स्ववियु चुनाव आफ्नो पक्षमा पार्न जस्तोसुकै शक्ति पनि अवलम्बन गर्ने भाषण गर्दै हिँडेका देखिन्छन्। विद्यार्थीको हकहितको नाराभन्दा पनि माउ पार्टीको नारा घन्काएर हिँडेका छन् विद्यार्थी संगठनहरू। बौद्धिक हिसाबले भन्दा पनि पाखुरे प्रवृत्ति हाबी देखिन्छ विद्यार्थी संगठनहरूमा। विद्यार्थी संगठनहरूबीच न समन्वय देखिन्छ, न त विद्यार्थी हितका पक्षमा वकालत नै। विद्यार्थीहरूको पक्षमा लड्नका लागि समेत एकजुट हुने लक्षण देखिएको छैन। विद्यार्थीको आँखामा छारो हाल्ने नियतले कार्यकर्ताको पगरी गुथ्नु सायद राम्रो होइन होला कि ? 

विद्यार्थी संगठनहरूले विद्यार्थीका लागि राजनीति गर्नुपर्छ, केन्द्रीय राजनीतिका लागि होइन। विद्यार्थी संगठनहरू जबसम्म विद्यार्थी हित र विद्यार्थीमुखी राजनीतिमा अग्रसर हुन सक्दैनन् र माउ पार्टीको पुच्छर बन्दै दलीय राजनीति गरेर हिँड्छन् तबसम्म विद्यार्थी संगठनहरू विद्यार्थीका लागि नभई राजनीतिका लागि हुन्छन्। विद्यार्थी संगठनका कार्यकर्ताहरूभन्दा राजनीतिक भ्रातृ संगठनका कार्यकर्ताहरूको भविष्य राम्रो देखिन थालेको छ। नेता बन्नका लागि होइन, मूल मर्मअनुरूप विद्यार्थी हितको मुद्दालाई समेटेर अघि बढ्नुपर्छ, ताकि विपक्षी भनिएका विद्यार्थीले पनि सुटुक्क प्रवेश गर्ने इच्छा व्यक्त गरुन्। शैक्षिक क्षेत्रमा राजनीतीकरण भएको अहिले मात्रै होइन, तर सीमा नाघेर जुन खालको विकृति पैदा भएको छ त्यो भने स्वीकार्न सकिन्न। विद्यार्थीहरू विद्यार्थी संगठनमा आबद्ध हुनुका पछाडिसमेत रहर नभएर कर र बाध्यात्मक कारणहरू रहेका छन्। यो हुनुको एउटै कारण संगठनले विद्यार्थीको मर्कामा मलम लगाउनेभन्दा नूनचुक छर्ने र माउ पार्टीको फेर आवश्यकभन्दा बढी समाउनु नै हो। जसले विद्यार्थी संगठनहरू पछिल्लो समय राजनीतिक दलसँग पर्यायवाची साबित बन्न पुगेका छन्। 

अतः स्ववियु निर्वाचन स्थगन हुनुको एउटै कारण विद्यार्थी संगठनहरूबीच देखिएको मतभेद र अपारदर्शी ढंगले गरिएको नक्कली विद्यार्थी भर्ना प्रकरण नै हुन्। अरुलाई भनेर हानेको गुलेलीको ढुंगाले कहिलेकाहीँ उछिट्टिएर आफैंलाई पनि लाग्न सक्छ। यतिखेर विद्यार्थी संगठनहरू पनि यही नियत भोग्न विवश छन्। विपक्षीलाई लडाउन खोज्दा सबै जना उत्तानो पर्ने गरी पछारिन पुगेका छन्।

नेपाल समाचारपत्रमा प्रकाशित