हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Wednesday, December 14, 2011

शिक्षित युवावर्ग गाउँ फर्क


(रामजी बलामी),

नेपाल वायुसेवा निगमले विज्ञापन गरेको विभिन्न १ सय १९ पदका लागि आवेदन दिनेहरुको संख्या करिव २४ हजार पुगेको समाचार सार्वजनिक भएको छ त्यस्तै नेपाल प्रहरीमा १ हजार ३ सय ५० पदका लागि ४० हजारको आवेदन परेको बताइएको छ। 

यी दुई दृष्टान्तले मुलुकमा बढ्दो बेरोजगारको अवस्थालाई चित्रण गर्दछ। एकातिर मुलुकमा बढ्दो बेरोजगारको समाचार आइरहेका छन् भने अर्कोतिर मुलुकका अधिकांश ग्रामीण क्षेत्रमा कामदारको अभाव रहेको समाचार आइरहेका छन् जसलाई जनशक्तिको सही परिचालन हुन नसकेको आरोप खन्याउँ वा कामअनुसारको दाम नपाउनुको संज्ञा दिउँ मानिसहरु विविध कारणले ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा प्रवेश गर्छन्। कोही उपयुक्त अवसरको खोजीमा त कोही उच्च शिक्षा अध्ययन गरी उज्ज्वल भविष्यको खोजीमा। कोही जीवनशैली सुधार्ने आशाका साथ शहर पस्छन् त कोही बाध्यता र परिस्थितिलाई आत्मसात् गर्दै शहर पस्छन्।

यसरी जीवन घिसार्न शहर पस्नेहरुले सेवासुविधा पाउनुभन्दा उल्टै विकृति विसंगतिसँग पौंठेजोरी खेल्नुपर्ने अवस्था छ। ग्रामीण क्षेत्र दुःखदायक मान्नेहरुका लागि गतिलो उदाहरण बनेको छ शहरी क्षेत्र। विशेषतः राजधानीको उपमा भिर्न सफल काठमाडौंकै कुरा गर्नुपर्दा यहाँ बाच्नका लागि गर्नुपर्ने कठोर संघर्ष र त्यसबापत प्राप्त हुने झिनामसिना फल 'नखाउँ भने दिनभरको शिकार खाउँ भने कान्छा बाउको अनुहार’ साबित बन्न पुगेको छ। यहाँको नक्कली गुलियोपनमा भुलेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली ओइरिएका छन् जसले एकातिर यहाँको जनसंख्या बढ्दै गएको छ भने अर्कोतिर समस्याका चाड्डहरु थोपरिँदै गएको छ। यसकै उपज हो बेरोजगार।
मुलुकको समानुपातिक विकास हुन नसक्दा जनताको एक मात्रै आशाको केन्द्र बन्न पुगेको छ राजधानी तर राजधानीमै बेरोजगारको चाड्ड दिनहुँ बढ्दै जानुलाई कसरी मूल्यांकन गर्ने हुन त बेरोजगार रोग शहरी क्षेत्रमा मात्रै सीमित नभएर गाउँका कुनाकाप्चासम्म पनि असरल्ल हैजासरह फैलिएको छ तर पनि कामदार अभावको ठाउँ परिपूर्ति गर्न नसक्नुलाई के भन्ने दिनानुदिन बढ्दै गरेको बेरोजगार समस्याले नेपाललाई बेरोजगारीको मुहानको रुपमा चित्रित गराउँदै छ। बेरोजगारको यस्तो दुखान्त समाचारका बीच ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने गरेको समाचार आउँदा रोजगारका आशा पलाउनु अस्वाभाविक कुरो पनि होइन। एक तथ्यांकअनुसार हरेक वर्ष कम्तीमा ४ लाख युवाहरु रोजगारका लागि तयार हुन्छन्। त्यसलाई सदुपयोग गर्ने नेपालमा कुनै त्यस्तो रणनीति छैन। बनेका कार्यक्रम नीति योजनाहरु कागजीरुपमै सीमित छन्। फलस्वरुप बेरोजगारको ज्वालामुखी विस्फोट हुन थालेको अवस्था छ।

बढ्दो बेरोजगारसँगै दैनिक १५ सय जना नेपाली युवाहरु विदेशतर्फ पलायन भइरहेका छन् जसको अधिकांश हिस्सा खाडी क्षेत्रमा छन्। कानूनी र गैरकानूनी गरी करिव ४० लाखको हाराहारीमा नेपाली श्रमशक्ति विदेशी भूमिमा पोखिएका छन्। उनीहरुमार्फत आएको वार्षिक करिब २ खर्ब ५३ अर्बको रेमिट्यान्सले नेपाली अर्थतन्त्रलाई धानेको छ। नेपालको अर्थतन्त्रसमेत विस्तारै रेमिट्यान्समुखी बन्न थालेको छ जसले क्षणिक लाभ दिए पनि दीर्घकालीन फाइदा नदिने विश्लेषकहरुको भनाइ छ। नेपालमा कर्मचारी पदपूर्तिमा हुने नातावाद कृपावाद चाकडीप्रथाजस्ता कारणहरुले गर्दा योग्य व्यक्तिले रोजगार पाइरहेका छैनन् एकातिर भने अर्काेतिर त्यस्ता कर्मचारी नियुक्त गर्दा स्वयम् संस्थाले निर्धारित लक्ष्य हासिल गर्न सक्दैनन्। यसरी बढ्दो बेरोजगार र मानव संसाधन व्यवस्थापनमा देखिएको अव्यवस्थितपनको फाइदा उठाउँदै लुटतन्त्र र ठगतन्त्र मच्चाउनेहरुको समेत बिगबिगी छ काठमाडौंमा।

शहरी क्षेत्रमा रोजगारीका लागि लुटतन्त्र भइरहँदा र डिग्रीको सर्टिफिकेट सिरानी हालेर निदाउन विवश हुँदा समेत शिक्षित भनाउँदा युवाहरु गाउँ फर्कन चाहँदैनन्। किनकि उनीहरुमा सर्टिफिकेटको घमण्ड छ एकातिर भने अर्काेतिर सरकारले ग्रामीण क्षेत्रमा रोजगारको अवसर प्रदान गर्न सकेको छैन। भिक्टर ह्युगोले भनेका छन्- 'मान्छेमा शक्तिको कमी छैन कमी छ त केवल केही गर्छु भन्ने इच्छाको’ तीव्र इच्छाशक्तिविना कोही कसैले पनि केही प्राप्त गर्न सक्दैनन्। अर्थशास्त्रकै शब्दमा पनि आफूलाई आवश्यक वस्तुको माग गर्दा त्यो वस्तु प्राप्त गर्ने उत्सुकता तथा इच्छा हुनु जरुरी छ। अन्यथा पुँजी र उत्प्रेरणाले मात्रै माग हुन सक्दैन। यसअर्थमा नेपालमा बढ्दो बेरोजगारको एउटा प्रमुख कारण हो इच्छाशक्ति। त्यस्तै अर्को कारण हो इच्छाशक्तिलाई चलायमान बनाउन आवश्यक उत्प्रेरणाका औजारहरु जसअन्तर्गत पर्छ योग्यताअनुसारको श्रम र श्रमअनुसारको पारिश्रमिक। मान्छेको आवश्यकता असीमित हुन्छ तर त्यसको पूर्ति गर्ने स्रोतसाधन सीमित हुन्छ। जब मानिसमा आवश्यकताको सिर्जना हुन्छ तब उसले कार्यप्रति उत्सुकता देखाउँछ। यो मास्लोको अर्थशास्त्रीय नियम पनि हो।

डिग्री हासिल गरेका विद्यार्थीहरु कोरिया अमेरिका कतार मलेशिया इराकलगायतका मुलुकमा गएर आफ्नो योग्यताभन्दा निम्नस्तरका काम गर्न राजी हुन्छन् तर गाउँमा फर्केर डोको नाम्लो गर्दा आफ्नो इज्जत गुम्ने बताउँछन्। यसको पछाडि सामाजिक धारणा र युवाहरुमा रहेको गाउँप्रतिको नैराश्य नै प्रमुख बाधक हुन्। नेपालीहरु विदेश गएर कमाउँछन् भारतीयहरु नेपाल आएर कमाउँछन्। के भारतीयले यहाँ आएर गर्ने काम नेपालीले गर्न हुँदैन हामी नेपाली कामलाई साना र ठूला भन्दै विभाजित गर्छौं यही कारण आफै दुःख पाउँछौ।

'सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ढुड्डाको काप फोरेर पनि उम्रिन्छ पिपल’ माधव प्रसाद घिमिरेद्वारा रचित यस कविताले पनि सिर्जना शक्ति भएमा ढुड्डाको कापले पनि छेक्न नसक्ने भाव व्यक्त गर्छ।

गाउँघरमा काम गर्ने मान्छेको अभावमा खेतबारी बाँझो भएको कुरा त सामान्य लाग्न थालेको छ। मलामी र जन्ती जान समेत युवाहरुको अभाव भइसकेको समाचार बेलाबेला आउने गरेको छ जसले नेपाली गाउँहरुमा छाएको सुनसानमय वातावरणलाई इंगित गर्दछ। अधिकांश नेपाली गाउँहरु यतिखेर स्कुले बालबालिका र वृद्धवृद्धाको भरमा टिकेको छ जसले गर्दा स्थानीय विकास-निर्माणका कार्यहरुसमेत प्रभावित बन्ने गरेका छन्।
शहरमा भौँतारिरहेका युवाहरु गाउँ फर्कने हो भने गाउँमा रोजगारीका प्रशस्तै अवसरहरु पाउन सकिन्छ जसले स्थानीय स्रोतसाधनको सदुपयोग हुनुका साथै स्थानीय विकासमा समेत महत्वपूर्ण भूमिका खेल्छ। बाँझो रहेका जमिनले उत्पादन दिन्छ हराभरा जंगलको जटिबुटीले बजार पाउँछ ग्रामीण क्षेत्र पनि शिक्षा र जनचेतनाले भरिपूर्ण हुन्छ। स्थानीय क्षेत्रमा आउने बजेटको सही सदुपयोग हुन महत्वपूर्ण योगदान रहन्छ। स्थानीय क्षेत्र विकास नहुनुको एउटा कारण शिक्षित युवा जमात शहरी क्षेत्रमा पलायन हुनु पनि हो।

वास्तवमा कुनै पनि कामलाई सानो ठूलो भनेर मापन गर्नु मानवीय भूल हो। कुनै पनि काम आफैमा सानो हुँदैन भन्ने कुरा भारतीयहरुले गर्ने गरेको घुमन्ते व्यापारी सैलुन चनाचट्पटे आइसक्रिमलगायतका व्यवसायबाट हुने गरेको आम्दानीले छर्लड्डै पार्दछ। त्यसैले आम युवावर्गप्रति एउटै विनम्र आग्रह छ कि काठमाडौंमा रुमल्लिएर समय खेर फाल्नुभन्दा आफ्नै गाउँमा फर्केर केही गरौं जसले भविष्यका लागि केही मार्गनिर्देश गर्न सक्छ।
rbalami2008@gmail.com
नेपाल समाचारपत्रमा प्रकाशित
 

3 comments:

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।