स्नातक तृतीय वर्षमा अध्ययनरत रविना (नाम परिवर्तन) अहिले सम्म चार जना ब्वाइफ्रेन्ड फेरिसकेको बताउँछिन्। अहिलेसम्म उनले पाँच जनालाई ब्वाइफ्रेन्ड बनाइसकिन्। 'कोही आफैं छोडेर जान्छन्, केहीलाई म आफैंले पनि छाडेकी छु,' रविना भन्छिन्- 'यसरी सम्बन्ध चिसिनुका अनेक कारणमध्ये एउटा यौन पनि हो।' यौनसम्बन्ध नहुन्जेल पलपल नजिक रहन चाहनेहरूसमेत यौनसम्बन्धको भोलिपल्टै टाढा हुने उनको अनुभव छ।
बैंसलाई जमानाअनुसारको फल ख्वाउनुपर्छ भन्न रुचाउने सुबिन बज्राचार्य (नाम परिवर्तन) प्ले ब्वाइ/प्लेगर्ल संस्कृति भित्रभित्रै व्यापक भैसकेको बताउँछन्। 'बाहिर खुल्न नचाहेको मात्र हो, नत्र युवायुवती यस्तो प्रवृत्तिमा लागिसकेका छन्,' बज्राचार्यको दाबी छ। ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डको वास्तविक मर्म हराउँदै गएको बताउने सुबिन विशेष गरी कलेज पढ्ने युवायुवतीहरूले फेरी-फेरी साथी बनाउने जानकारी दिन्छन्। यसरी साथी फेर्नु नै प्ले हो भन्छन् उनी।
'प्ले ब्वाइ भन्ने शब्दप्रति नै मेरो आपत्ति छ,' प्लस टु अध्ययनरत शुभेच्छा न्यौपाने भन्छिन्। शुभेच्छाका अनुसार 'यो बाध्यता हो, किनभने एउटा लेभलमा एउटा साथीसँग भेट हुन्छ, अर्को लेभलमा पुग्दा उसले छोड्छ अनि बाध्य भएर अर्को ब्वाइफ्रेन्ड बनाउनुपर्ने हुन्छ, त्यसैले प्ले ब्वाइ/प्लेगर्ल भन्न मिल्दैन।' साथीले धोका दिने मात्र होइन, कैयौं परिस्थितिमा त आफैंले पनि साथीहरूलाई धोका दिएको स्वीकार गर्न तयार छिन् उनी। 'एउटै साथीसँग हिँड्दा रमाइलो पनि त हुँदैन नि?' शुभेच्छा भन्छिन्।
उनको भनाइलाई पनि एक हिसाबले सही नै मान्नुपर्छ, तर ब्वाइफ्रेन्ड/गर्लफ्रेन्ड बनाउने प्रतिस्पर्धामा सही निर्णय गर्न सकिएन भनेचाहिँ पछि नराम्रोसँग पछुताउनुपर्ने हुन्छ। गुलियो पनि धेरै खाए तीतो हुन्छ। व्यावहारिक सम्बन्धमा यो कुरा अलि सुहाउँदैन कि? युवापुस्ताले यता पनि सोच्नु आवश्यक छ।
कलेज पढ्ने विद्यार्थीहरू आफ्नो साथमा गर्लफ्रेन्ड/ब्वाइफ्रेन्ड नहुँदा 'नुनबिनाको तरकारी' जस्तै महसुस गर्न थालेका छन। कलेज पढ्नेहरू मात्र होइनन्, अचेल निमावि र मावि तहमा पाइला टेक्नासाथ 'ब्याइफ्रेन्ड' र 'गर्लफ्रेन्ड' शब्द ओठमै झुन्डिन थालेका छन्। ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाउनु आफैंमा नराम्रो भने होइन, तर यसको सीमा भने हुन्छ। साथीको नाममा उक्त सीमा मिच्दा भने होसियारी अपनाउनैपर्ने हुन्छ।
पश्चिमेली प्रभाव भनौं वा आधुनिकताको परिचय, आजका पुस्ताले गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डको महत्वसमेत बिर्सन थालेका छन्। अचेल साथीत्वको नाता बिर्सेर प्लेब्वाइ र प्लेगर्लका रूपमा उपयोग गर्ने वा हुने चलन व्यापक हुँदै गएको छ। यसलाई समाजिक विकृतिका रूपमा लिन्छन् समाजशास्त्रीहरू।
चढ्दो बैंस र उम्लिंदो जवानीसँगै विपरीतलिंगीप्रतिको झुकाव बढ्नु स्वाभाविक हो। ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाउँदै शारीरिक तृप्ति खोज्नेहरूले पछि पछुताउनुपर्ने यथार्थ भए पनि तत्कालको प्यास मेट्नमै मस्त छन कतिपय युवाहरू।
लिभिङ टुगेदर भित्रिएको धेरै भएको छैन। सहरी क्षेत्रमा फस्टाएको लिभिङ टुगेदर र लिभिङ रिलेसनको सम्बन्ध बिस्तारै झाङ्गँिदै गएको कुरालाई पनि नकार्न मिल्दैन। लामो समय परिवारबाट टाढा बस्नेहरू, जीवनसाथीका तर्फबाट यौनतृष्णा मेट्न नसक्ने तथा आधुनिकताको नाममा रमाउनेहरू यस्तो प्रवृत्तिमा रमाइरहेका छन्।
आवश्यकताको परिपूर्ति गर्नुलाई अर्थशास्त्रीय सिद्धान्तले मात्र स्वीकारेको छैन, व्यावहारीकतामा पनि सान्दर्भिक कुरो हो यो, तर व्यक्तिगत आवश्यकता पूर्ति गर्दा अरूको जीवन बर्बाद गर्ने वा अरूको अधिकारमाथि धावा बोल्ने अधिकार भने कसैलाई छैन।
लिभिङ टुगेदरलाई नै स्वीकार गर्न नसक्ने समाजले प्लेब्वाइ/प्लेगर्लको सम्बन्धलाई पक्कै पनि सहन सक्दैन, तर विडम्बना अभिभावकको आँखामा छारो हाल्दै रमाइरहेका छन् उनीहरूका सन्तति। गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड किताब कलमभन्दा पनि अत्यावश्यक कुरा भएको छ। कोही जवानीको फाइदा लुट्न त कोही देखासिकी र कोही भने साथीभाइको अगाडि नाक खुम्च्याउनु नपरोस् भन्ने मनसायले गर्लफ्रेन्ड/ब्वाइफ्रेन्ड बनाउन थालेको बताउँछन्।
यसरी गाँसिएको सम्बन्ध विस्तारै प्लेब्वाइ र प्लेगर्लका रूपमा विकसित हुन थाल्छ। त्यसपछि जवानीको मज्जा लुट्ने मात्र होइन, अनायाश गर्भवती हुनेहरूको संख्या पनि बढ्दै गएको देखिन्छ। त्यसो त अहिले नेपाली बजारमा पनि अनिच्छित गर्भ रोक्ने विभिन्न औषधी उपलब्ध छन्। तिनीहरूको माग निरन्तर वृद्धि भैरहेको औषधी विक्रेताहरू बताउँछन्। औषधीको बिक्री मात्र बढेको छैन, गर्भपतन गराउने स्वास्थ्य संस्थाह रूमा समेत बाक्लो उपस्थिति देखिन्छ कलेज पढ्ने युवतीहरूको।
बजारमै छानी-छानी दूध खान पाइन्छ भने आफैं किन भैँसी पाल्नु? भन्ने तर्क गरेर हिँड्नुलाई सकारात्मक मान्न सकिँदैन भने बाहिरी दूध सधैं मीठै हुन्छ भन्ने पनि छैन। कहिलेकाहीँ त्यस्तो दूध विष घोलीएर पनि आउन सक्छ र त्यसले जीवन नै सखाप पार्न सक्छ।
हिजोआज सेक्स भन्ने कुरा यति सामान्य भैसकेको छ कि यसलाई पानीका रूपमा लिन सकिन्छ। जतिबेला तिर्खा लाग्यो मागेर पिउन सकिन्छ। कतै पैसा तिरेर कतै सित्तैंमा। यही रूपमा विकास हुँदै जाने हो भने परिवारमा बस्नु र वैवाहिक सम्बन्धमा गाँसिनुको कुनै अर्थ रहने देखिँदैन। 'यस्तै संस्कृति मौलाउँदै जाने हो भने भोलि श्रीमतीले श्रीमान्लाई प्रेमीले प्रेमिकालाई कसरी विश्वास गर्लान्?' पत्रकार गोविन्द बानियाँ प्रश्न गर्छन्।
प्ले ब्वाइ/प्लेगर्ल जवानीको राप सेलाउने साधन बन्न पुगेको अधिकांशको तर्क छ। यसले न व्यक्तिलाई फाइदा पुग्छ, न समाजलाई नै। यो के वल क्षणिक आनन्द र क्षणिक प्यास मेटाउने आधार मात्र भएको छ। व्यावसायिक जगत्मा युज एन्ड थ्रो भनेजस्तै प्रेमी-प्रेमिकाबीच आत्मीय मायाभन्दा पनि उम्लिंदो जवानीलाई मत्थर पार्ने माध्यम बनेको छ। त्यसैले पनि युवापुस्ताले वर्तमानलाई भन्दा पनि भविष्यलाई नियालेर क्षणिकभन्दा पनि दीर्घकालीन सोच बनाएर नाता स्थापित गर्नुपर्ने देखिन्छ।
कान्तिपुर साप्ताहिकमा प्रकाशित
No comments:
Post a Comment
तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।