हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Thursday, October 13, 2011

फेसबुकका फेहरिस्त


फेसबुक नशाले लागेको दशाका बारेमा बारम्बार चियोचर्चो भैरहेकै छ, तर पनि सुन्नेले कुरा नसुनेपछि बुझ्नेले कुरा नबुझेपछि ती महापुराणको अर्थ न बर्थ । बिहान उठेर पनि फेसबुक, दिउँसो पनि फेसबुक, राति पनि फेसबुक, साथीभाइसँग बस्दा नि फेसबुक, खाँदा पनि फेसबुक, उठ्दा नि सुत्दा नि फेसबुक, घरमा नि फेसबुक, ससुरालीमा नि  फेसबुक । लौ हेर्नुस्, फेसबुकको जरा कहाँसम्म हरभरा फैलिएको रहेछ । लहरो तान्दा पहरो थर्कने गरी फेसबुकले डेरा जमाएपछि हामीचाहिँ तेरा र मेरा भन्दै बस्न विवश छौं । यति मात्रै होइन, अस्पतालको आईसीयूमा बसेका बिरामीले समेत फेसबुकको स्टाटस चेन्ज गर्ने अन्तिम धोको भनेर मनको पोको खोल्ने जमाना आएको छ ।
कसैका लागि स्वर्गीय आनन्द दिने साधन बनेको छ फेसबुक भने कसैका लागि जीवनलीला नै समाप्त पार्ने आधार बनेको छ यो । यसको मात लागेपछि ठाउँ–कुठाउँका बात गर्न थाल्छन् । कसैका लागि शस्त्र बनेको छ भने कसैका लागि अस्त्र बन्न पुगेको छ यो । बालकदेखि वृद्धसम्म, सहरदेखि गाउँको भीरपाखासम्म, विद्वान्देखि विद्यार्थीसम्म साराको सहारा बन्न थालेको छ । फेसबुकमै झुन्डिँदा सर्टिफिकेटमा कैयांै तारा झुन्डिने गरेको कुरा जगजाहेर हुँदाहुँदै पनि फेसबुकको तलतल मेटाउन हरपल यसैमा नजर लगाएकै हुन्छन् । पुराना साथीहरू भेट्न पाउनु एउटा गजबको साधन बनेको छ रे ! तर फेसबुकबाटै भेटेका कैयांै साथीले आफैंमाथि भुरा सम्झेर छुरा हान्दा सहनुपरेको तीतो यथार्थ पनि उत्तिकै पीडामय छ ।
नानीदेखि जवानीकाले समेत फेसबुककै बखान गाउन र यसैमा पिरती लाउन थालिसके । अचेल त आफ्नो जीवनसाथी खोज्ने माध्यम बन्न थालेको छ यो । पत्रकार, साहित्यकार, संगीतकार, गीतकार, राजनीतिज्ञ, शिक्षक, विद्यार्थी, डाक्टर, वकिल सबैको कोर्सबुकभन्दा पनि महान् बन्न थालेको छ फेसबुक । कोर्सबुकको ख्यालै नगरी फेसबुकमा स्टाटसको छ्यालब्यालै गर्नेहरू परीक्षाको समयमा पनि कोर्सबुकभन्दा फेसबुक पल्टाउन थाल्छन् । समयसँगै हिँड्नु मानवताको धर्म हो । यही धर्मको मर्मलाई बुझेर कर्म गर्ने हो भने उसैले प्रगति गर्न थाल्छ, तर सिको गर्दै मनको घाउको निको गर्न कोर्सबुकको सट्टा फेसबुक हेर्नेहरू एक दिन फेसबुकफोबिया पीडित बन्नेछन्, बनिरहेका छन् ।
जालैजालोले भरिएको यो सञ्जाल अहिले गन्जागोल बन्न पुगेको छ । यसलाई अब फेसबुक होइन, फेकबुकका रूपमा लिनुपर्छ भन्ने लाग्छ । तर, यो कुरा समय–समयमा दिमागबाटे भाग्छ र त फेसबुकमा झुन्डिन्छ । तरकारीमा नुन चर्काेदेखि श्रीमतीको झर्काेसम्म, समाचारदेखि साहित्यसम्म, मायादेखि छायासम्म सबै दौंतरीको साझा चौतारी बनेको छ फेसबुक । प्रतिभा छोड्न, प्रतिभा चोर्न, मायाजालमा पार्न, धम्क्याएर रित्याउन, हरपल हरक्षण सबैको आरक्षण बनेको छ फेसबुक । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड हो यो । फेसबुकको बयान गर्न स्वयं जुगरवर्कको त सामथ्र्य छैन होला मेरो के हुनु ?
जति खायो उति गुलियो भनेझंै जति चलायो उनि मोहनी लगाउने, सोह्रवर्षे जवानमा झैं रौं पलाउने, रिसाउँदा नि त्यसैमा पोख्ने, खुसाउँदा नि त्यसैमा पोख्ने, अचम्मको रस छ यसमा, जुन अन्त असम्भव छ । सकारात्मकभन्दा नकारात्मक प्रयोग अर्थात् सदुपयोगभन्दा दुरुपयोग बढेपछि यसको लोकप्रियता बिस्तारै खस्कँदै छ । कोही कोही झस्कँदै छ । मन पर्नेलाई जे गर्न पनि हुने नपर्नेलाई बाँदर र कुकुरको शिर–पुच्छर जोडेर हाल्न पनि मिल्ने, कस्तो फेसबुक ? 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।