हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Friday, January 27, 2012

दामनमा हिउँको मज्जा


दामनमा हिउँ खेल्ने रहर
छोडी आँए काठमाडौं शहर


   जता ततै  हिउँ ।।
   खुसीको आँशु यो, 
   खै कसलाई दिउँ ।

फोटो: राजेश श्रेष्ठ 



दामनको सेताम्मे हिउँमा पाईला टेक्दै गर्दा मनमा एकाएक उत्पन्न भएका यी भावनाले हिँउको रमाईलो अनुभूतिलाई प्रतिबिम्वित गर्छ । 
दामनमा हिउँ परेको खबर सहकर्मी मित्रहरु फेसवुक मार्फत अपडेट गरिरहेका थिए । भोलिपल्ट विहान सवेरै काठमाडौलाई छाडेर हुइकियौ हामी दामनतिर । अरु बेलाको दामन भन्दा निकै पृथक थियो हिउँपर्दाको दामन । सेतो हिउँ ओढेर हामीलाई स्वागत गर्न आतुर थियो दामन । 
हामी जस्तै हिउँका पारखीहरु कोही जोडीसँग च्यापेर, कोही मित्रसँग च्यापेर त कोही परिवारसँग हुइकिरहेका थिए दामनतर्फ । वाटोमा एक किसिमको प्रतिस्पर्धा नै चल्यो बाइकमा हुईकिँनेहरुको । काठमाडौंबाट दामन आँसपास जाने सवारी समेत भरिभराउ थिए ।  चिसोलाई अंकमाल गर्दै हामी २०३० मिटरको उचाईमा पर्ने टिस्टुङ्गमा पुग्दा नै हिउँको चिसो हावाले हामीलाई स्वागत ग¥यो । 
गत पुष २९ गते दामनमा  हिउँ खेल्नेहरुको चहलपहल निकै देखियो । कुनै मेला, महोत्सव, जात्रा अझ भनौ दशैको असन बजार जस्तो । यस भन्दा अघि पुष २३ गते पनि हिउँ परेको रहेछ तर केही मात्रामै रोकीए  पछि त्यस क्षेत्रका होटल व्यवसायीहरु निराश बनेका रहेछन । ५ बर्ष पछि दामन सिमभन्ज्याङ क्षेत्रमा खेल्न सकिने गरी हिमपात भएको स्थानिय बासिन्दाको अनुभव छ ।

हिउँ परेको खवर सँगै राजधानी लगायत सदरमुकाम हेटौडा, बारा, पर्सा, रौतहट, चितवन लगायत ठाउँबाट समेत पर्यटकहरु आएको होटल व्यवसायीहरुले वताए । यसको साथै कुलेखानी, मार्खु, चितलाङ्ग, टिस्टुङ्ग, बज्रवाराही लगायतका ठाउँबाट हिउँ खेल्न आउँनेहरुको घुईचो नै थियो ।

कयौ जोडीहरु दिल खोलेर हिउँको ढिक्कामा रमाईरहेका थिए । हिउँमा चिप्लिने डरले सवारीसाधनहरु पालुङ्ग शिखरकोटमै रोकिएका थिए । दामनमा हिउँ पर्नु भनेको होटल व्यवसायीलाई दशै आउँनु जस्तै हो भन्छन स्थानियहरु । हुन पनि स–साना चिया पसलदेखि ठूला होटलहरु समेत भरिभराउ देखिन्थे । होटल वालाहरु मात्रै होईन कृषकहरु समेत हिउँ परेकामा खुसी देखिन्थे । हिउँ परेको साल बढी उत्पादन हुने कृषकहरुको अनुभव छ । 

कोही हिउँमा चिप्लिँदै त कोही हिउँ डल्लाले एकअर्कालाई हानेर हिउँको मज्जा लिईरहेका थिए । दामन भ्रमणमा आएर बाह्य पर्यटकहरु पनि चिसोको पर्वाहै नगरी हिउँमा आफूलाई भुलाईरहेका देखिए । यो भन्दा पहिले पुष २३ गते पनि हिउँ परेको भए पनि खेल्न पुग्ने गरी हिउ नपरेपछि स्थानियवासी निराश देखिएको स्थानिय प्रतिध्वनि एफएमकी संचारकर्मी तुलसा बस्नेतले वताईन ।

फोटो: राजेश श्रेष्ठ 
दामन भन्दा माथि २ हजार ६ सय मिटर रहेको सिमभञ्ज्याङ्गमा त झन हिउँ निकै परेको थियो । दामनबाट यता चन्दागिरीमा परेको हिउँको दृश्य कम्ता रोचकको थिएन । दामनबाट धवलागिरी लगायतका आठ हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ । २,३२२ मिटर उचाईमा रहेको दामनमा पर्यटकलाई ध्यानमा राखी विभिन्न प्रकारका सेवा सुविधाहरु उपलब्ध गराईएको पाईन्छ । स्थानिय भेषभुषा र साँस्कृतिक रहनसहनको अवलोकन देखि पर्यटकीय क्षेत्रको अवलोकनकालागि विशेष व्यवस्था समेत गरेको पाईन्छ ।

हालै दामन पुगेका पर्यटन मन्त्री लोकेन्द्र विष्टले दामनको पर्यटकीय विकासका लागि लागि गुरु योजनाका साथ अघि बढ्नु पर्ने र यस तर्फ सरकारले ध्यान दिनु पर्ने कुरा औल्याएका थिए । त्यस्तै केही साता अघि परिवारसहित दामन पुगेको एमाले नेता केपी ओलीले पनि दामनमा पर्यटकीय विकास जुन रुपमा हुनु पर्ने हो त्यो हुन नसकेको वताए । त्यसो त विभिन्न दलका नेताहरु थकाई मेटाउँन यो क्षेत्रमा आउँने गरेको पाईन्छ । दामनलाई नगरकोट पछिको दोश्रो पर्यटकीय स्थलको रुपमा चिनिए पनि यो नगरकोटको विकल्पको रुपमा रहेको क्षेत्र हो ।

यस क्षेत्रमा आन्तरिक मात्रै होईन वाह्य पर्यटकको आगमन समेत उत्तिकै देखिन्छ । दामनको चर्चा र विकाससँगै त्यस क्षेत्रमा बाह्य पर्यटकको आगमनमा केही वर्षयता ह्वाटै वृद्धि भएको स्थानिय पत्रकार सुरजकुमार भुजेलले वताए । यो क्षेत्रमा बनभोज खान आउँनेहरुको समेत उल्लेख्य वृद्धि भएको उहाँको भनार्य थियो ।  दामनबाट देखिने टिस्टुङ्ग, पालुङ्ग, चन्द्रागिरी, कुलेखानकिो मनमोहक दृश्यले सवैलाई चकित तुल्याउँछ । काठमाडौ–मलेखु मार्ग बन्नु पूर्व निकै व्यस्त मानिने त्रिभुवन राजपथ अचेल सुनसान देखिए पनि यो क्षेत्रको यात्रालाई रमाईलो तुल्याउँने पक्षहरु अझै कायम छ । 

लालीगुराँस फुल्ने मौषममा यो क्षेत्रको भ्रमण अझ रमाईले हुने गरेको छ । डाँडापाखामा फुल्ने थरिथरिका लाली गुराँस र काफलको स्वादले तिर्खा र थकान मेटिने गर्दछ । पर्यटर्कीय क्षेत्रको रुपमा विकास हुंदै गएको यो क्षेत्रमा संचारका क्षेत्रमा पनि उल्लेख्य प्रगति हासिल गरेको छ । पालुङ्ग र दामनमा गरी दुई वटा (रेडियो पालुङ्ग र प्रतिध्वनि) एफएम संचालीत छन भने तीन वटा साप्ताहिक र एउटा दैनिक पत्रिका संचालनमा छन । 

यो क्षेत्रलाई नगरकोट पछिको दोश्रो पर्यटकीय स्थल भन्ने गरिए पनि नगरकोटको विकल्पको रुपमा विकास गर्न सकिन्छ । यस क्षेत्रमा हाल काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, विरगंज, नारायणगढ, चितवनदेखि पर्यटकहरु आउँने गरेको स्थानिय वताउँछन । हेटौडादेखि हिउँ खेल्न आएका समिर अधिकारी साच्चीकै पर्यटकीय नगर भएकाले सरकारले विशेष गुरुयोजना बनाएर यो क्षेत्रको विकासमा लाग्नु पर्ने वताउछन ।




फोटो: राजेश श्रेष्ठ 
यस क्षेत्रका वासिन्दाहरु सरकारको मुख ताक्नु भन्दा आफै अगाडि बढ्नु पर्छ भन्ने मनसायकासाथ अघि बढेको देखिन्छ । यस क्षेत्रमा साइक्लिङ घोडचढी लगायतका सेवासुविधाहरु समेत उपलब्ध छन । स्वच्छ पर्यावरणका अलावा यस क्षेत्रमा ऋषेश्वर महादेव लगायतका पौराणीक तथा ऐतिहासीक महत्व बोकेका क्षेत्रहरु अवलोकन गर्न सकिन्छ । अन्त्यमा,

मन त मेरो दामनमै छोडेर
फर्की आएँ हिउँनाता जोडेर  
जताततै  हिउँ ।।
खुसीको आँशु यो,
 खै कसलाई दिउँ ।

1 comment:

  1. साच्चै नै दामन एउटा रमणिय़ पर्य़टकीय़ क्षेत्र हो ..तर य़स क्षेत्रको विकास प्रती अहिले सम्म कुनै पनि सरकाले चासो देखाय़को छैन य़ो एउटा दु:खको कुरा हो।रामजी सर प्रती आभार प्रकट गर्दछु।

    ReplyDelete

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।