हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Thursday, March 21, 2013

चोली ताक्ने होली !


ब्यंग्य




होली रे होली
कपडा खोली
रमाइलो भन्दै 
ताक्छन है चोली





दश दिने दशैलाई कपडा झै छोट्याएर तीन दिन मनाउँन थालिसके तर एकदिने होलीलाई कोट्याई–कोट्याई हप्तौ दिन हान्न थालिसके । अरु संस्कृतिलाई स्मृतिमा सीमित राख्ने टिनएजहरु होलीलाई भने टोली बनाइ मनाउँछन । होलीका दिन मात्रै होइन हप्ता अघिदेखि होलीमा मस्त टोलीको नजरमा पर्नेहरुले चोली जोगाउँनै मुस्किल हुन्छ ।

चोली ताकेर होली खेल्नेहरुका कारण गर्लफ्रेन्डहरु नजरबन्दमा पर्छन । अरुको नजर पर्दा आँखा लाग्ने होइन ढलमतीको दाग लाग्छ । उस्तै परे रेस्टरुमको टेस्ट चखाउँन पनि पछि पर्दैनन् । डेटिङ, सेटिङ र हेटिङ हप्ता दिनदेखि नाकाबन्दी झै ठप्पै हुन्छ । भेट्न नपाइ गर्लम्म आँखा चिम्लिनेहरु होलीमा भोलि–भोलि भन्दै नारा लगाउँदै फेसबुके डेटिङमा मस्त हुन्छन् । 

चोक, गल्ली, कौसी, कुना–कन्दरा हिड्न थाले पोका पन्तुरा असिनासरी बर्सि हाल्छ । तरुनीलाई धुरुक्क रुनी बनाउन पाए गललल हाँस्नेहरु चोली भिजेको देख्ना साथ भाले झै बास्छन । हुन त भाले बासेको नराम्रो कसैले भनेको छैन । पोथी बाँसेको पो नराम्रो भन्छन क्यारे ! यसो भन्दैमा अधिकारलाई एकाधिकार बनाउँन कहाँ मिल्यो र भालेज्युहरु ? भाले पनि त दिउँसो बास्यो भने ज्यान मासिदिन्छन नि होइन ?

चोलीलाई ताकेर पोका बर्साउँदा घोका जत्रो फोका उठ्छ । होलीको गोलीले चोली ताक्दा अन्त परे त दुख्ला सुक्ला आँखा, नाक, कान, शिरमा परे के गती होला ? अरुलाई ताक्दा कहिलेकाँही आफैलाई पनि लाग्छ । आँखालाई तरुनीरुपी बनाइ रहंदा आफ्नो पाइला कहाँ पुगे भनेर पत्तो हुन्न । पत्तोबिनै अरुलाई अत्तो थाप्न खोज्दा आफै गर्लम्म ढल्न सक्छ । आफु ताक्छु मुढा वञ्चरो ताक्छ घुंडा भने झै आफु ताक्छु चोली गुडाँ ताक्छ सोली हुन सक्छ । 

लुक्दै भुक्दै थुक्नेहरुले नेपाली प्रहरीलाई हरिी–हरि पार्छन । हरिबिजोग भएर हिँड्नेहरुलाई समात्दा–समात्दा आफै कायल हुन्छन तर कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा हाले नि बाँगोको बांगै । दुइ जना चढ्ने बाइकमा चारजना टाँसिएर हुँइकिन्छन, हँुइकिएकै सुरमा कहिलेकाँही स्वर्गतिर सुँइकिन्छन पनि  । बाउबाजेले भूत यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर कल्पनामै चित्त वुझाउँनेहरुले होलीमा शहर डुल्दा हुन्छ । भूतरुपी मुहार नै भूतको अनुहार भनेर वुभ्mदा फरक पर्दैन ।

सजिने, रंगिने र जंगिनेहरुले राजधानीलाई स्वधानी ठान्छन । जतिसुकै ऐन कानुन बनाए नि के भो र, खाने र जानेलाई कस्को केही नलाग्दो रै’छ । धर्मले पाको कर्मले खाको भन्दै तान्नेहरुलाई हान्ने को ? नेवारहरुको समयवजीमा अयला अनिवार्य भए जस्तै शविरात्री र होलीमा तानतुन अनिवार्य नै मान्छन क्यारे । शिवरात्रीका दिन जंगलमा बाबाहरुको ब्यापार राम्रै हुन्छन् । यता दक्षिणा नि पाइने उता गतिला ब्यापार पनि हुने भए पछि साँधु बन्न के को लाज ?
शिवरात्रीको जात्रा गाँजाको ब्यापार भने पनि होलीका लागि जोरजाम शिवरात्रीमै हुने रै’छ । होलीको रंगमा जोश भर्न सहारा हो भन्दै झुम्म हुनेहरुलाई खै कसले छुने ? हुन पनि यो धर्मैले पाएको हो क्यारे ।

उहिले अबिरले होली खेल्थे । न कसैले कसैलाई ठेल्थे न कसैले कसैलाई पेल्थे । हुन त उहिलेको कुरा खुइले भन्ने जमानामा कुरो पनि अलि सुहाएन होला । बास्तबमा सुहाउनु परेको पनि छैन किनभने होली भनेको असुहाउँदो पर्व हो । विचित्र रंग र विचित्र भेषले झकिझकाउमा विकाउ हुने बेलाँ के पो सुहाउँछ र ?

चोली ताकेर होली खेल्दा मामाघरको डोली चढ्नेहरु पनि हुन्छन् । मस्तीको नाममा जबरजस्ती गरे पछि मामाघरमा पाइला नटेकी सुखै छैन । जे होस होली खेल्ने बहानामा डोली चढेर मामाघर र यमघर कसैले जानु नपरोस्– शुभकामना ।

कान्तिपुर साप्ताहिकमा प्रकाशित

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।