हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Sunday, March 31, 2013

लालीगुँरासमय दामन–पालुङ



पुरानो बाटो त्रिभुवन राजपथ हुदैं करिव चार घण्टाको सवारी यात्रा पछि पुग्न सकिने दामन पालुङको भ्रमण गर्ने उपयुक्त मौसम हो यो । दामन–पालुङको जंगलहरु मात्रै होईन त्रिभुवन राजमार्ग नै लालीगुराँसमय बनेको हुन्छ वसन्त ऋतुसँगै । सुविधाको नाममा अभाव र प्रदुषित राजधानीमा हातमुख जोर्दै बसेकाहरुको पिरमर्का बिसाउँने थलो हो दामन–पालुङ । डेटिङस्पटको रुपमा समेत विकसित हुंदै आएको यो क्षेत्रमा अचेल दिनंहु पिकनिक आउँनेहरुको पनि चहलपहल निकै देखिन्छ ।


स्वर सम्रात नारायण गोपालले गाएका छन ‘म त लाली गुराँस भएछु, मनै भरि फुलिदिन्छु बनैभरि फुलिदिन्छु’ । हो बाइरोडको बाटोबाट यात्रा गर्नेहरुले यस्तै अनुभव वतुल्ने मौका मिल्छ यो मौसममा । गुराँस भन्ने वित्तिक्कै जो कोहीको मनमा पनि शान्ति र शितलताको अनुभूति हुने गर्छ । गुराँसमय बनमा एकछिन थकाई मार्न पाए थकित हाम्रो शरिरले कति आनन्द अनुभूति गर्लान ? प्रकृतीबाट निःशुल्क प्राप्त हुने त्यो अनुभूति किनेर सायद प्राप्त नहोला ।


जंगलमा फुलेका थरीथरीका लालीगुराँसलाई मनभरि फुलाउन चाहनेहरु हरेक वर्ष बाइरोडको वाटो यात्रा गर्ने गर्दछन् । यथेष्ठ प्रचार–प्रसार हुन नसक्दा प्रकृतिले दिएको यो अमुल्य वरदान समेत खेर गईरहेकोमा स्थानीय भने दुःख छन ।

गायक सविन राईले भनेझै ‘गुराँसको फेदमुनि, सम्झनाको छाँया ...निकै आनान्द अनुभूति हुने गर्छ गुराँसको छाँया पर्दा । शितलता मात्रै होईन स्वास्थ्यका दृष्तिकोणले पनि उपयुक्त मानिन्छ गुराँसलाई । पालुङ्गबाट दामनको उकालो पैदल जाने हो भने अझ बढी रमाईलो अनुभूति बतुल्न । लालीगुराँसले सिंगारिएको बाइरोडको बाटो यात्रा गर्दा निकै रोमाञ्चकता छाउँछ । साहित्यिक क्षेत्रमा कलम चलाउँनेहरुका लागि त प्रकृतीको यो देन अमुल्य ओखती नै हो भन्दा फरक नपर्ला ।

पर्यटकीय सिजनमा आन्तरिक र वाह्य पर्यटकहरुको भिड लाग्ने गरेको अनुभव सुनाउँछन स्थानीय पत्रकार राजेश श्रेष्ठ । ‘अरु वर्ष भन्दा यो वर्ष लालिगुराँस पनि धेरै फुलेका छन त्यसैले पनि होला पर्यटकहरु पहिले भन्दा निकै बढेका छन’– उनले भने ।

स्थानिय लोक गायक मुक्तीनाथ उप्रेतीले पनि ‘सिमभंज्याङको चिसो है बतास...’ भन्दै यहाँको पर्यावरणलाई माँयाप्रितीसँग तुलना गरेका थिए । हरियाली जंगल त्यसमा फुलेका राताम्मे गुराँस वरिपरिका स्वच्छ पर्यावरण र हराभरा दृश्यावलोकन कसलाई पो मन पर्दैन र ? काठमाडौबाट नजिक पर्ने यति खुराकपूर्ण स्थान रोज्नु पर्दा दामन नै पहिलो रोजाई बन्ला सायद ।
यो क्षेत्रको जंगलमा खैरो र सेता गुराँसहरु पनि पाईन्छ । अहिले त झन विभिन्न संस्थाहरुको पहलमा ‘गुराँस संरक्षण अभियान’ नै थालिएको छ जसले पर्यटकलाई थप टेवा पुगेको छ । डाँडापाखामा फुल्ने थरिथरिका लाली गुराँस र काफलको स्वादले तिर्खा र थकान मेटिने गर्दछ । यो क्षेत्रलाई नगरकोट पछिको दोश्रो पर्यटकीय स्थल भन्ने गरिए पनि नगरकोटको विकल्पको रुपमा विकास गर्न सकिन्छ ।

दामनको चर्चा र विकाससँगै त्यस क्षेत्रमा बाह्य पर्यटकको आगमनमा समेत केही वर्षयता ह्वाटै वृद्धि भएको स्थानीय पत्रकार सुरजकुमार भुजेल वताउँछन । ‘पहिलेको तुलनामा अहिले निकै पर्यटक आउँन थालेका छन’– भुजेलले भने । दामनबाट देखिने टिस्टुङ्ग, पालुङ्ग, चन्द्रागिरी, कुलेखानीको मनमोहक दृश्य र हिमश्रृंखलाको दृश्यावलोकनले सवैलाई चकित तुल्याउँछ । स्वच्छ पर्यावरणका अलावा यस क्षेत्रमा ऋषेश्वर महादेव लगायतका पौराणीक तथा ऐतिहासीक महत्व बोकेका क्षेत्रहरु अवलोकन गर्न सकिन्छ ।

हरेक वर्ष जस्तो दामन–सिम्भञ्ज्याङमा पर्ने हिउ होस वा वरिपरि ढक्कमक्क फुलीरहेका लालीगुँरास सवैले आगुन्तुकको मन जितेकै हुन्छ । त्यसो त पिकनिक सिजनमा त्यंहाका व्यापारीहरुको मुख उज्यालो देखिन्छ लालीगुराँस फुले झै । पहिले बाईरोडको बाटोमा धुलो उदाउदै..... भनिए पनि हाल त्यंहाको अवस्था त्यस्तो छैन । मोटरबाईक होस वा सार्वजनिक बस र माइक्रो वा चिल्ला कार सवै सरर गुड्छन । बाइरोडको बाटोमा बालवालिकाहरु लालीगुराँसमा भविष्य खोजिरहेका भेटिन्छन ।

यस क्षेत्रका दामन, पालुङ, टिष्टुङ, बज्रबाराही, चित्लाङ, मार्खु, आग्रा, कुलेखानी तथा आँसपासका ग्रामीण क्षेत्रहरु प्रमुख पर्यटकीय क्षेत्रहरु हुन । विभिन्न हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न दामनको भ्यू टावर, कुलेखानीको मानवनिर्मित ताल इन्द्र सरोवर, चित्लाङको अशोककालिन चैत्य, लघु उपत्यका बज्रवाराही, ऐतिहासिक शिलालेख, हिन्दु र बौद्धमार्गीहरुको एउटै आस्थाको केन्द्र ऋषेश्वर मन्दिर, ऐतिहासिक पाण्डुकेश्वर मन्दिर जस्ता स्थलहरु यथेष्ठ पर्यटन उद्योगका सम्भावनाका स्रोतहरु हुन ।
लालीगुराँले बनजंगल राताम्मे देखिने यो मौसम बाइरोडको वाटोमा यात्रा गर्दा बेग्लै संसारमा पुगेको अनुभूति हुने गर्छ । समय अभावका कारण टाढाको यात्रा गर्न नसक्नेहरुका लागि पनि यो एउटा गतिलो क्षेत्र हो ।


No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।