हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, July 8, 2013

फेसबुकको पनि आचारसंहिता बनाउने कि ?

रामजी बलामी

गतसाता नेपाली संचारमाध्यममा प्रविधिसँग सम्वन्धित दुईवटा घटनाले स्थान पायो । एउटा अनलाइन समाचारसँग सम्वन्धित थियो, अर्को सामाजिक सञ्जाल फेसबुकसँग । दुईवटै घटना प्रविधिसँग गाँसिएको भएता पनि भिन्न प्रकारका थिए । फेसबुकसँग सम्वन्धित घटनाका पात्रलाई विद्युतीय कारोवार ऐन अन्तर्गत कारवाही हुने बताइएको छ भने अनलाइन समाचार सम्वन्धित घटनाका पात्रलाई प्रहरीको रिहाइपछि प्रेस काउन्सिलले कारवाही गर्ने बताइएको छ ।
काभ्रेका भवनाथ सापकोटालाई कुनै एक व्यक्तिले नेतृ पम्फा भुषालविरुद्ध लेखेको स्टाटस शेयर गरेका कारण पक्राउ गरिएको छ । विगतमा पनि फेसबुकसँग सम्वन्धित धेरै कारवाहीहरु भएका छन् । तर, यो अलि नौलो र अनौठो प्रकरणका रुपमा देखिएको छ । र, साथसाथै थुप्रै जिज्ञासा र प्रश्नहरु पनि ओइरिएका छन् ।यसैबीच पत्रकार अनन्त वाग्लेले फेसबुक स्टाटसमा लखेका छन- ‘हामी पक्राउ नपर्नुको कारण हामी विरुद्ध उजुरी नपरेर मात्र हो, तपाई हामीले लेखेको टिवट र फेसबुक स्टाटसले सापकोटालाई जस्तै हामीलाई जेल पुर्‍याउन काफी छ’ । यो आखिर वास्तविकता निकट कुरो हो ।
स्टाटस शेयर गरेर सापकोटा पक्राउ परेसँगै धेरै जिज्ञासाहरु पैदा भएका छन् । जसलाई कतिपयले हास्यास्पद मानिरहेका छन् भने कतिपयले मनन् पनि गरेका छन । यस घटनाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई सजक पनि बनाइदिएको छ भने झिनो मात्रामा भए पनि डरत्रास पनि उत्पन्न गराइदिएको छ । निर्धक्क साथ मनको वह पोख्दा पनि पक्राउ परिने हो कि भन्ने शंका उब्जिन थालेका छन् । विश्व नै सामाजिक सञ्जालमा बाँधिएको परिवेशमा आˆनो विचार प्रस्तुत गर्न पनि त्राहीमाम हुनुपर्ने अवस्था आउनुभनेको विडम्वनाको कुरा हो ।
सामाजिक सञ्जालको सर्वत्र फाइदा वर्णन गरिरहनु खासै आवश्यक छैन । सामाजिक सञ्जाल सबैभन्दा छिटो सामाचार प्राप्त गर्ने माध्यम बन्न पुगेको छ । व्यक्तित्व विकासदेखि मुलुकको विकाससम्म भूमिका निभाइरहेको सामाजिक सञ्जाल पछिल्लो समय विकृतमय पनि बन्दै गएको छ । प्रविधिको सही सदुपयोगले जति फाइदा पुग्छ, यसको दुरुपयोगले यो भन्दा कयौं गुणा क्षति पुग्छ । विश्वका १ अर्बभन्दा बढी र नेपालमा मात्रै २० लाख भन्दा बढीले प्रयोग गर्दै आएको फेसबुक ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खूर्पाको बिँड’ बन्न पुगेको छ । यो कुरा नबुझ्दा धेरै फेसबुक प्रयोगकर्ताहरु जेलमा बास बस्न विवश भएका छन् ।
फेसबुक जुहारी खेल्ने चौतारी नभएर प्रतिभा प्रस्फुटन गर्ने र सिक्ने सिकाउने चौतारी हो । तर, यसको सदुपयोगभन्दा दुरुपयोग बढिरहेको छ । कतिपय प्रयोगकर्ताहरु स्वार्थ र मजाकका लागि यसको प्रयोग गरिरहेका छन् । अरुको खोइरो खन्न र ङच्चि दाँत देखाएर हाँस्नका लागि फेसबुक चलाउनु भन्दा नचलाएकै बेस ।
शेयर गर्नेलाई पक्रने कि स्टाटस लेख्नेलाई ?
यतिखेर जल्दोबल्दो जिज्ञासा र समस्या के हो भने कुनै व्यक्तिले स्वतन्त्र विचार फेसबुकमा राख्न पाउने कि नपाउने ? के-कस्तो भावना व्यक्त गर्दा चरित्रहत्या हुने ? कसैले राखेको स्टाटस एक हजार जनाले शेयर गर्छन् भने एक हजारजनालाई नै पक्राउ गर्ने कि स्टाटस लेख्नेलाई पक्राउ गर्ने ? कसैले एकाउण्ट हृयाक गरेर जेपिटी लेखे भने हृयाक भएको जानकारी कहाँ दर्ता गर्ने ? जानकारी दर्ता गर्ने ठाउँ नभए पछि हृयाक गरेर स्टाट्स लेख्नेलाई कारवाही गर्ने कि एकाउण्ट होल्डरलाई ? इत्यादि प्रश्नहरु उब्जिएका छन् । अश्लीलतालाई स्वतन्त्र विचार भन्न मिल्दैन त्यसकारण यस्तो कुरा पोष्ट गर्नेलाई ससक्त कारवाही गर्नु पर्छ । तर, अत्याचार र आपत्तिको सीमा कति भन्ने एकिन छैन । त्यसैले कारवाहीका क्रममा झमेला सिर्जना भएका छन् ।
सडकमा कट्टु खोलेर हिँड्यो भने त्यही सडकमा हिँड्नेले मात्रै थुक्छ । तर सामाजिक सञ्जालमा जेपिटी गर्नेलाई सबैले थुक्छ । जसले जेपिटी गर्छ, उसैको चरित्रमा दाग लाग्छ । सञ्जालका सदस्यहरुबाटै बदनामीको कारवाही हुन्छ । कारवाहीको एउटा डरलाग्दो रुप हो बदनामी । सत्यलाई झुट कसैले भन्छ भने त्यो क्षणिकका लागि हुन्छ । त्यस्तो स्टाटसलाई शेयर होइन, स्टाटस होल्डरलाई नै ‘रिमुभ’ गर्नुपर्छ । जब सत्यलाई सत्य भनेर पोष्ट हुन्छ, तब सबैले वाहवाहीका साथ शेयर गर्छ । के अब सत्यलाई पनि झुठ भनी टोपल्नु पर्‍यो ? हरेक कुराको सीमा हुन्छ, अत्याचारी ढंगले टाउको-पुच्छर जोडेर अश्लीलताका साथ नेताहरुलाई चरित्र हत्या गर्न खोज्नु भनेको कारवाहीको भागिदार हुनु हो । सापकोटासँग जोडिएको स्टाटस पनि कारवाहीका लागि योग्य थिए । तर, कारवाहीको भागिदार सापकोटा थिएन । सोर्सफोर्स नचल्दा उनी थुनिन वाध्य भए भन्दा सायद अनर्थ नलाग्ला । किनभने उक्त स्टाटस हजार जनाले शेयर गरे भने सापकोटासँगै हजार जनालाई थुनिनु पर्छ, होइन भने स्टाटस लेख्नेलाई थुन्नुपर्छ ।
फेसबुकमा गुट/उपगुट सहितका छुट्टै संसार छन । अहिले नै ख्याल नगर्ने हो भने भोलिका दिनमा विवादका चाङ थुपि्रने संभावना देखिन्छ । सहजै पत्ता नलाग्ने हुनाले फेक आइडीबाट पनि फसाउने संभावना उत्तिकै देखिन्छ । राजावादीले कम्युनिष्टलाई गाली गर्ने, कम्युनिष्टले राजावादीलाई गाली गर्ने यस्ता काण्डहरु नमच्चिएलान् भन्न सकिन्न । भावानात्मक र सोचमा आधारित कुराहरुलाई लिएर कारवाही गर्दै जाने हो भने फेसबुकधारीहरु कोही पनि बच्नेवाला छैन । कसैका लागि सामान्य र सही लाग्ने कुरा पनि कसैका लागि आपत्तिजनक लाग्छन् । एक व्यक्तिलाई भनेर पोष्ट गरेका कुरामा अर्कैले झूठा आरोप लगाइदिन्छन् । यस्तो परिवेशमा कसलाई कारवाही गर्ने कतिलाई कारवाही गर्ने ? यो लेखको उद्देश्य अपराधीलाई जोगाउनु र विकृति फैलाउनु पटक्कै होइन ।
व्यक्तिगत जीवनमाथि धावा बोल्ने र मजाकका नाममा अनावश्यक वितण्डा मच्चाउनेहरुलाई कारवाही गर्नुपर्छ भन्ने पंक्तिकारको धारणा छ । प्रविधिको विकाससँगै यसले विकृतिलाई पनि स-सम्मान भित्र्याएको छ । अतः सामाजिक सञ्जाल भनेको एउटा छुट्टुै खुल्ला संग्रहालय हो । कि यसलाई चीन, पाकिस्तान लगायतका मुलुकहरुमा जस्तै पूर्णरुपमा बन्द गर्नुपर्‍यो कि खुल्ला छाड्नुपर्‍यो कि त निश्चित आचारसंहिता बनाएर कारवाहीको दायरामा ल्याउनुपर्‍यो ।


अन्लाईनखबर डटकममा प्रकाशित
http://www.onlinekhabar.com/2013/06/86872/

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।