हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Thursday, November 17, 2011

पर्यटन वर्षः हर्ष न बिस्मात !


 पर्यटनका लागि सँगसँगै’ भन्ने मूल नाराका साथ शुरु भएको पर्यटन वर्ष २०११ अन्तिम चरणमा आइपुगेको छ। अब बाँकी डेढ महिनाभित्र पर्यटन वर्षको नारा लक्ष्य नीति तथा कार्यक्रमहरुको समीक्षा हुनेछ जसमा सकारात्मक परिणामको आशा गर्ने अवस्था भने छैन। 



पर्यटन वर्ष २०११ मा १० लाख पर्यटक भित्र्याउने औसत बसाई १२ दिनबाट १६ दिन पुर्याउने लगायतका आकर्षक लक्ष्यहरु निर्धारण गरिएको थियो तर लक्ष्यअनुरुप कार्यक्रम कार्यविधिहरु साचालन हुन नसक्दा खासै उपलब्धि हासिल हुन सकेको देखिँदैन। मुलुकमा स्थापित अस्थिर राजनीति र राजनीतिक छापले पारेको प्रत्यक्ष-अप्रत्यक्ष प्रभावका कारण पर्यटन वर्ष पनि लथालिंग नै बन्न पुग्यो।




पाहुनाको सत्कार नेपालीको संस्कार -यो उक्ति सुन्दा जति आनन्दको अनुभूति हुन्छ व्यवहारमा हेर्दा ठीक उल्टो परिणाम भेटिन्छ। पर्यटन वर्षलाई सफल पार्न र निर्धारित उद्देश्य हासिल गर्नका लागि तय गरिएका यस्ता आकर्षक नाराहरुले हामी सबैलाई हौसाएको थियो। नेपालमा सन् १९५० देखि पर्यटक आवागमन भएको बताइन्छ तर हालसम्म आइपुग्दा पनि आशातीत प्रगति हासिल गर्न सकेको छैन। यसको प्रमुख कारण भनेको प्रचारप्रसारको कमी नै हो। यही कुरालाई ख्याल गरेर होला यस वर्ष भने सरकारी तवरबाट केही थप प्रवद्र्धनात्मक योजनाहरु ल्याएका थिए। पर्यटन वर्षको शुरुआतसँगै देशका विभिन्न क्षेत्रमा महोत्सव पर्यटकीय प्रवद्र्धनात्मक कार्यक्रमहरु जारी रह्यो अझै पनि जारी नै छ।




जब भयो राती अनि बूढी ताती’ भनेझैं अब अन्तिम चरणमा आएर हतारिँदै पछुटाउनुको विकल्प छैन। आर्थिक वर्ष २०६७-०६८ को बजेटले पर्यटन वर्ष २०११ भित्र १०० जना पर्यटक भेला गराई बैठक गोष्ठी तथा सेमिनार आयोजना गर्ने जुनसुकै व्यक्ति गैर सरकारी संघसंस्था र सरकारी संस्थालाई एकमुस्ट ५ लाख रुपियाँ अनुदानको व्यवस्था गरिएको थियो। पर्यटन वर्षभित्र १० लाख पर्यटक भित्र्याउने र त्यसमध्ये ४० प्रतिशत गाउँस्तरमा पुर्याउने पनि सरकारी लक्ष्य थियो। राजधानीको संवेदनशील क्षेत्रमा समेत सुरक्षा व्यवस्थालाई कडाइ गर्न नसक्नु पटकपटक हत्या-अपहरणजस्ता आतंक दोहोरिनु तथा पर्यटकहरु लुटिने र अपहरण गर्ने गरेको घटना सार्वजनिक हुनुले ग्रामीण क्षेत्रमा पर्यटन विकासका लागि अवरोध खडा भएको छ।




आफ्नो गोरुको बाह्रै टक्का’ भन्ने उखान चरितार्थ गर्दै आर्थिक क्रान्तिको मन्त्र जपेर सत्ता सम्हाल्न पुगेका दलहरुले आर्थिक अवनतिको मार्ग अवलम्बन गर्न थालेकाले नै पर्यटन वर्षमा अपेक्षित लक्ष्य हासिल हुन नसकेको हो। बढ्दो बिलासी र दण्डहीनतालाई आश्रय दिने दलहरुकै कारण नेपालप्रति विदेशी पर्यटकहरुको आमधारणामै नकारात्मक परिवर्तन आउन थालेका छन्। जसको प्रत्यक्ष असर पर्यटन वर्षलाई परेको छ। नेपालको कुल ग्रार्हस्थ्य उत्पादनको ४.१ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रप्रति सरकारले जति मात्रामा प्रभावकारी कदम चाल्नुपर्ने हो त्यो हुन सकेको छैन। एकातिर स्थानीय स्रोतसाधनको परिचालन हुन नसक्नु र अर्कोतिर स्थानीय जनतालाई अवसर नदिनु जसको कारण स्थानीय क्षेत्रको न विकास हुन सक्यो न प्रवद्र्धन नै।




पर्यटन वर्ष सफल पार्न सरकारी तर्फबाट मात्रै प्रचारप्रसारका लागि २३ करोड बजेट विनियोजन गरिएको थियो भने पर्यटन पूर्वाधार खडा गर्नका लागि थप ५० करोड विनियोजन गरिएको थियो। त्यस्तै हवाई उड्डयनका लागि थप ८० करोडको व्यवस्था गरेको थियो। नेपाल पर्यटन बोर्डले प्रचारप्रसारका लागि प्रकृतिअनुसार २० हजारदेखि ४ लाखसम्म रकम दिने घोषणा गरेको थियो। प्रचारप्रसारकै लागि विभिन्न क्षेत्रका प्रसिद्ध व्यक्तिहरुलाई सद्भावनादूतसमेत बनाइएको थियो। सद्भावनादूतको प्रमाणपत्र दिने तर कार्यक्रम कार्यविधि केही नहुँदा उनीहरु आफै अलमल्लमा परेको समाचारहरु सार्वजनिक हुनुले कार्य प्रभावकारिता नभएको स्पष्टै भएको छ।




दुई वर्षको तयारीपश्चात् घोषणा गरिएको पर्यटन वर्षले अपेक्षित परिणाम हासिल गर्न नसक्ने कुरामा दुई मत छैन। तयारी नपुगेको बहानाबाजी गर्नुभन्दा अबदेखि सुधार्ने बानीको विकास गर्नु जरुरी छ। चेत खुलेपछि त्यसलाई कार्यान्वयन गर्न सक्नु नै मानवीय गुण हो। आर्थिक विकास र समृद्धीका लागि महत्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायले नेपाली अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याएको छ। वास्तवमा नेपाल एउटा पर्यटकका लागि स्वर्ग साबित मुलुक हो। यथार्थमा भन्नुपर्दा पर्यटन क्षेत्रलाई मध्यनजर गरेर प्रभावकारी ढंगले कार्यक्रमहरु साचालन गर्ने हो भने नेपालमा अर्थतन्त्र धान्ने एउटै सशक्त माध्यम बन्न सक्छ यो। अतिथि देवो भवः हाम्रो मूल मन्त्र नै हो। पर्यटकको स्वागत र सम्मान गर्नु र मुलुकभित्र लुकेर रहेको पर्यटकीय क्षेत्रहरुको पहिचान तथा व्यापक प्रचारप्रसार गर्नु जरुरी छ। हालै हिमाली क्षेत्रमा अलपत्रमा परेका पर्यटकहरुको समाचारले आम विश्व समुदायमाझ कस्तो प्रभाव पर्यो होला यो गम्भीर कुरा हो। त्यसैले पाहुनालाई देवता मान्ने हामी देवतालाई पुज्न जान्दैनौं। पर्यटकको सेवा सुविधा सुरक्षा तथा सहयोगमा सरकारी तवरबाट महत्वपूर्ण भूमिका खेल्नुपर्दछ।




नेपालको अर्थतन्त्रलाई धान्न सक्ने पर्यटन क्षेत्रको विकासमा सरकारी प्रयत्न कमजोर हुनु र निर्धारित लक्ष्य हासिल गर्न सहकार्य गर्ने भन्दा पनि भाँजो हाल्ने परिपाटीको विकास हुनुले यो क्षेत्र संकुचित अवस्थामा पुगेको छ। वास्तवमै भन्नुपर्दा हामी नेपाली माल पाएर पनि चाल नपाएको अवस्थामा छांै। किनभने हामीसँग यथेष्ट पर्यटकीय क्षेत्रहरु छन् तर त्यसको पहिचान र प्रवद्र्धन गर्न चुकेका छौं। परिणामस्वरुप पर्यटन व्यवसायबाट वंचित छौं। पर्यटन वर्ष एउटा योजना मात्रै हो त्यसैले यसको परिणामलाई मूल्यांकन गर्दै आगामी दिनहरुमा पर्यटन क्षेत्रको विकासमा आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु अत्यावश्क छ अन्यथा रातभरि करायो दक्षिणा हरायो’को अवस्था नआउला भन्न सकिन्न।

Pub: nepal samachar patra.

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।