हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Sunday, November 27, 2011

होटलभन्दा कम छैनन् चित्लाङका होमस्टे

चट्ट पारेर मिलाइएको ओछ्यान। भुइँका हरिया कार्पेट। अनि जोसुकैको मन पनि जित्न सक्ने खालको मायालु व्यवहार। स्वादिलो नेवारी परिकार। साथमा हुनेछ नासपाती र रक्तचन्दनबाट बनेको रक्सी। 

चित्लाङ गाविसमा निर्माण गरिएको होमस्टेका विशेषता हुन् यी। चित्लाङको होमस्टे बस्न आइपुग्ने जो-कोहीले पनि यसको व्यवस्थापन देखेर भन्ने गर्छन्- होटलभन्दा के कम छन् र चित्लाङको होमस्टे। त्यहाँका सात घरमा बनाइएको होमस्टेमा ६० जना पाहुना अटाउन सक्छन्। जहाँ उनीहरुले न्यानो स्वागतसहित स्वादिलो खाना अनि मीठो निन्द्रा पाउनेमा शंका छैन। गाविसमा बुद्धरत्न मानन्धर राधाकृष्ण बस्नेत रामकृष्ण बलामी अशोकिसंह ठकुरी रामकृष्ण बलामी लालबहादुर श्रेष्ठ दलबहादुर गुरुङको घरमा अघिल्लो वर्षदेखि होमस्टे थालिएको हो।

होमस्टेका लागि जिल्ला विकास समितिले प्रत्येक घरलाई व्यवस्थापन खर्चबापत १० हजार रुपियाँ उपलब्ध गराएको थियो भने होमस्टे साचालकहरुका लागि व्यवस्थापन र खाना पकाउने तालिमको व्यवस्था गरेको थियो। त्यहाँको होमस्टेमा मासिक औसत ३० जना पर्यटक आउने गरेको होमस्टे साचालक बुद्धरत्न मानन्धरले जानकारी दिए।

होमस्टे साचालनलाई प्रभावकारी बनाउन सामुदायिक होमस्टेसमेत गठन भएको छ। यसले होमस्टेको मेनु बनाउने रेट निर्धारण गर्ने विभिन्न संघसंस्थासँग सम्पर्क गरी पर्यटक भित्र्याउन काम गर्दै आएको अध्यक्ष राधाकृष्ण बस्नेतले जानकारी दिए। सामुदायिक होमस्टेका सल्लाहकारसमेत रहेका मानन्धरका अनुसार होमस्टेमा बस्नका लागि फ्रेन्च जर्मन र इटालीयन पर्यटकसहित विद्यार्थीहरु पनि अवलोकन भ्रमणका लागि आउने गरेका छन्।

ऐतिहासिक धार्मिक र सांस्कृतिक सम्पदाले धनी चित्लाङ गाविसमा चन्द्रागिरि भार्लस्वर पर्वत अशोक चैत्य स्वच्छन्द भैरव तलेजु भवानी मन्दिर र कोट सातधारा नयाँ पौवा सत्तल त्रिपुरेश्वर शिवालय चपकेश्वर महादेव प्राचीन गोपाली बस्ती महामुनि एवम् नेपालकै सबैभन्दा ठूलो चीज उद्योगजस्ता पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन्।
रामशरण पुडाशैनी,हेटौंडा 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।