हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Sunday, August 7, 2011

फेसबुकः नबुझ्नेलाई खुर्पाको बिंड



रामजी बलामी
हावर्ड विश्वविद्यालयका विद्यार्थी मार्क जुकेनबर्गले सन् २००४ फेब्रुअरी ४ देखि सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल (फेसबुक)  अहिले विश्वभरका २ सय १३ मुलुकमा फैलिसकेको छ। मार्कले आफ्ना साथीहरू एकबोर्डो साभरिन, डस्टिन मोस, रक्रिस ह्युसजेसका साथ सञ्चालन गरेको यो सञ्जालमा अहिले विश्वभरका ७५ करोड (जुलाई २०११ सम्म) सदस्य आबद्ध भएको आधिकारिक तथ्यांक छ, जसमध्ये ११ लाख २० हजार नेपाली रहेको तथ्यांक पनि सार्वजनिक भएको छ। फेसबुक प्रयोगकर्ताका आधारमा नेपाल विश्वको ७२ औं स्थानमा छ। फेसबुकको प्रयोग गर्न १३ वर्ष पुग्नैपर्ने नियम छ, तर अहिले सामान्य जानकारी भएकाले पनि यसको प्रयोग गरिरहेका छन।

विभिन्न सामाजिक सञ्जालमध्ये विश्वमा सबैभन्दा बढी प्रयोग हुने सञ्जाल हो— फेसबुक। व्यक्तिगत भावना साटासाट गर्नेदेखि साहित्य, समाचार एवं विचारहरूको मञ्च बनेको छ फेसबुक। लामो समयदेखि छुट्टएिका इष्टमित्र तथा साथीभाइहरूबीच मिलन गराउने माध्यम पनि बनेको छ फेसबुक। हरेक क्रियाको पछाडि प्रतिक्रिया अवश्यै हुन्छ। यो नियमबाट फेसबुक पनि अछुतो छैन। त्यसो त पाकिस्तान, चीन, भियतनाम, बंगलादेश, इरान, कजकिस्तान आदि ठाउँमा फेसबुकमाथि सेन्सरसमेत लगाइएको छ भने कैयौं मुलुकका कार्यालयहरूमा फेसबुकमाथि प्रतिबन्ध नै लगाउन थालिएको छ।

फेसबुक वालमा एउटा रोचक तथा सन्देशमूलक व्यंग्यात्मक कार्टुनले निकै चर्चा पायो। उक्त कार्टुनअनुसार अस्पतालको आईसीयूमा बसेको बिरामीसँग अन्तिम इच्छा सोध्दा ती व्यक्तिबाट 'फेसबुकको स्ट्याटस चेन्ज गर्ने' धारणा व्यक्त भएको थियो। उक्त कार्टुनले नै फेसबुकको लतलाई इङ्गति गर्छ। फेसबुककै माध्यमबाट कैयौंले जोडी पाएका छन् भने कैयौंको डिभोर्स भएको छ। सामाजिक सञ्जाल फेसबुकको लोकप्रियता र दुरुपयोग उत्तिकै बढिरहेको छ। फेसबुक आफैंमा नराम्रो होइन, तर यसप्रतिको हाम्रो व्यवहार गलत पनि साबित हुन सक्ने स्थिति उत्पन्न भएको छ। अस्ट्रेलियामै पनि फेसबुक चलाएका बेला किचकिच गरेको भन्दै एक महिलाले आफ्नै नाबालक छोरीको हत्या गरेकी छिन्। यसबाट पनि बुझिन्छ, फेसबुकको लत कस्तो हुन्छ ?

अनैतिक तथा असान्दर्भिक कुरा ट्याग गरेर बेइज्जति गर्नेदेखि यौनसम्बन्धी अश्लील तस्बिरसमेत अर्काको वालमा राखिदिने गरेको पाइन्छ। यस्तो कार्यले परिवारमा बसेर फेसबुक खोल्न नमिल्ने स्थितिसम्म सिर्जना हुन थालेको छ। अरूको च्ारित्र हत्या गर्न र मान्छे जम्मा पार्न प्रयोग हुन थालेको छ फेसबुक अचेल। यसरी नै अर्काको नाममा फेसबुक खोल्ने, केटी बनेर पैसा असुल्ने तथा झुक्याउने, नेता तथा कलाकारको नाममा एकाउन्ट खोलेर दुरुपयोग गर्ने, कपी पेस्ट गर्दै प्रख्यात व्यक्तिहरूको तस्बिरमा कुकुर, हात्ती इत्यादिको तस्बिर जोड्ने जस्ता कार्यले गर्दा फेसबुककै बेइज्जत भएको छ।

कामभन्दा पनि फेसबुकलाई जोड दिएको भन्दै कैयौं सञ्चारगृहलगायत सरकारी तथा निजी कार्यालयहरूमा फेसबुकमाथि प्रतिबन्ध लगाएको छ। कर्मचारीहरू फेसबुकमा मात्रै भुल्नाले बाध्य भएर त्यसलाई बन्द गर्नुपरेको कतिपय कार्यालयको तर्क छ। कुनै पनि कुराको सही मात्रामा प्रयोग गरे लाभ हुन्छ, अन्यथा त्यसका ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। यसरी नै फेसबुकलाई चाहिंदो भन्दा बढी चलाउँदा आफ्ना दैनिक क्रियाकलाप नै लथालिंग हुन पुग्छन्। यसबाट सरकारी कार्यालयहरूमा काम प्रभावित भएको छ भने मिडियाकर्मीहरू पनि यसबाट बच्न सकेका छैनन्। तरकारी के पकाउनेदेखि नुन चर्काे भएको सम्मको स्टाटस फेसबुकमा राख्नाले आफ्नै साथीलाई अप्ठेरो भैरहेको हुन्छ। (विद्युतीय कारोबार ऐन-२०६३ अनुसार नेपालमा इन्टरनेटबाट हुने हिंसामा अधिकतम २ लाख जरिवानासहित पाँच वर्ष कैद हुने व्यवस्था छ।)

यस्ता अनेक अवगुण सिर्जना गर्नु वा त्यसको विस्तार गर्नुभन्दा फेसबुकको सदुपयोगतर्फ लाग्नु आवश्यक छ। सही रूपमा प्रयोग गर्ने र सिक्नेका लागि ज्ञानको भण्डार पनि हो- फेसबुक। यति मात्र होइन साहित्यकार, पत्रकारलगायत सबैका लागि सहयोगी बनेको छ— फेसबुक। साहित्य मन पराउनेका लागि साहित्यिक गुरुहरू भेट्ने ठाउँ पनि हो फेसबुक, नयाँ कुरा सिक्ने र सिकाउनेहरूका लागि सहयोगी  बनेको छ— फेसबुक। अझ कैयौं अवस्थामा त यो रोजगारी प्राप्त गर्ने आधार पनि बनेको छ भने मित्रता प्रगाढ बनाउने चौतारी पनि हो यो। व्यापार-व्यवसाय गर्नेदेखि छिनछिनमा चेन्ज हुने स्टाटसले पलपलको खबर उपलब्ध हुने ठाउँ हो— फेसबुक।

मायाका भावना पोख्ने मात्र होइन प्रतिभा सेयर गर्ने चौतारी पनि हो— फेसबुक। त्यसैले सामाजिक सञ्जाल फेसबुक बुझ्नेका लागि श्रीखण्ड भएको छ भने नबुझ्नेका लागि खुर्पाको बिंड। एकछिनको चिनजानका भरमा फेसबुक साथी बनाउनु सबैभन्दा ठूलो भूल हो। राम्रो फोटो देख्दैमा फ्रेन्ड रिक्वेस्ट गर्ने र एसेप्ट गर्ने काम गर्नु हुँदैन। बढी साथी बनाउने कसरतमा लाग्नुभन्दा असल साथी खोज्नेतर्फ लाग्ने र नयाँ कुरा सिक्ने चौतारीका रूपमा लिनुपर्छ फेसबुकलाई। आफ्नो वालमा नराम्रो कुरा देख्नेबित्तिक्कै डिलिट गर्ने र अरूका प्रति पनि नकारात्मक व्यवहार नगर्ने हो भने यो समस्या तत्कालै हल गर्न सकिन्छ। दिनभर फेसबुकमै झुन्डिएर बिनाकाम समय खेर नफालौं। राम्रो कामको थालनी आफैंबाट गरौं। यसले पनि केही हदसम्म फेसबुकको दुरुपयोग रोक्न सघाउ पुग्नेछ। 

फेसबुक चलाउँदा ध्यान दिनुपर्ने कुराः

फेसबुक खोल्दा आफ्नो व्यक्तिगत विवरण पूर्ण रूपमा नराख्ने, किनभने जो कसैले पनि यसको दुरुपयोग गर्न सक्छन्।

फेसबुकले प्रयोगकर्ताहरूको व्यक्तिगत सूचनाको कारोबार गरेर पैसा कमाउँछ। त्यसैले यस्तो  कुरामा ध्यान दिने।
सम्पर्क नम्बरहरू सकभर नराखेकै राम्रो, किनभने व्यापारिक संघसंस्थाका फोनले हैरान पार्न सक्छ, साथै आफ्नो फोन नम्बर अपराधीको हातमा पनि पर्न सक्छ।

प्राइभेसी कायम राख्ने, जसले गर्दा आफ्ना जानकारी सीमित व्यक्तिले मात्र पाऊन्। फेसबुकको सामान्य जानकारी छैन भने बरु नचलाउने।

स्टाटस लेख्दा पर्याप्त ध्यान दिने, जस्तै 'म यति दिन घरबाहिर हुन्छु, घुम्न यहाँ जाँदैछु' जस्ता स्टाट्स लेख्नु भनेको चोर-डाँकालाई निम्तो दिनु पनि हुनसक्छ।
बिनाकाम फेसबुक चलाएर समय बर्वाद नगरौं, फेसबुकको सट्टा कोर्सबुक वा कुनै मन पर्ने साइट वा पुस्तक पढ्न सकिन्छ।
अरूको नाममा फेसबुक खोल्ने वा अनावश्यक फोटो ट्याग गर्ने काम कहिल्यै नगरौं, किनभने अनुसन्धानबाट त्यस्तो कुकार्य पर्दाफास हुन सक्छ। त्यसैले अरूको चरित्रहत्या हुने खालको कुरा नलेखौं जसले जीवनभर सास्ती दिन सक्छ।

फेसबुकमा भएका हरेक कुरालाई सत्य नमानौं, किनभने यसको चरम दुरुपयोग भैरहेको छ।
यदि कोही कसैले चरित्रहत्या हुने खालको कार्य गरे सम्बन्धित निकायमा जानकारी दिई अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्छ।



Pub: saptahik weekly

1 comment:

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।