हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Tuesday, August 23, 2011

अर्को बेरोजगार दल


 गोजी हाम्रो रित्तो भए पनि, घरमा मामको सितो नभए पनि एकजुट हुँदा केही गर्न सकिंदो रहेछ भन्ने कुरा नेपाली राजनीतिक पार्टीले पाठ सिकाएका छन् । दुई–चार जनाको हत्या अपहरण, दुई–चारवटा गाडी तोडफोड, दुई–चार दिन बन्द–हड्ताल र केही सक्रिय कार्यकर्ताको पाखुरा सुक्र्याइँपछि नै सिंहदरबार छिर्न पाउने, संसद् घेर्दै अर्बांैको बजेट पोल्टामा पार्न पाउने, संविधानसभालाई संगिनी सुई दिँदै ग्वाम्म भत्ता खान पाउने भएपछि बेरोजगारहरू मात्रै किन चुप लाग्ने ? राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जुनसुकै तन्त्र आए पनि मनपरी तन्त्रकै राज छ यहाँ । त्यसैले जन्त्र र मन्त्रबाटै हाम्रो कल्याण होला भन्ने आसमा नेपाल बेरोजगार दल (कामवादी) पार्टी गठन गर्नैैपर्ने बेला भएको छ ।
नेपालको प्रमुख समस्या बेरोजगार हो । यही कारण हत्या, हिंसादेखि र अराजकता फैलिएकाले बेरोजगारी मूल मन्त्रलाई राजनीतिक एजेन्डामा लगेर राख्यो भने यी सब कुराको सफचट हुने भएकाले आगामी संविधानमा रोजगारी घटाऊँ, बेरोजगारी बढाउँ भन्ने कुरा अकाट्य प्रावधानअन्तर्गत राख्न राष्ट्रिय सहमति जुटाउने बेरोजगार दलको मूल काम हुनेछ ।
सत्ता र भत्ताको राजनीति गर्दै कोही पटक–पटक सत्तामा बस्ने, कोहीलाई भने वास्तै नगर्ने, यस्तो पाराले नेपाली राजनीति उँभो लाग्ने कुनै लक्षण देखिँदैन । ‘काले–काले मिलेर खाऊँ भाले’ भन्ने मूल मर्मलाई आत्मसात् गरेर ‘कहिले सासूको पालो त कहिले बुहारीको पालो’ को राष्ट्रिय नीति बनाइनेछ । ‘सानालाई ऐन ठूलालाई चैन’ को मूल मर्मलाई कर्ममा उतारिनेछ । तन, मन र धनले मुलुकलाई हरितन्नम बनाउन लागिपरेका राजनीतिक दलको अभीष्ट पूरा गर्न बेरोजगार दलले आवश्यकताअनुसार लाठी, भाला, छुरीसहित पहलवानहरू उपलब्ध गराउनेछ । चना–चटपटे बेच्ने, कपाल काट्ने, निर्माणकार्यदेखि ठूलठूला उद्योगधन्दामा अहिले विद्यमान सबै विदेशी कामदारलाई ससम्मान राष्ट्रिय मान्यता दिएर नेपाल रेमिट्यान्स कमाउनेमात्रै होइन, रेमिट्यान्स विदेशतिर पठाउने मुलुक पनि हो भन्ने कुरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा स्थापित गरिनेछ ।
स्वदेशमा आफ्नो घरमा आफूले खाएको थाल माझ्न लजाउनेहरू विदेशमा बाथरुम सफा गरिरहेका छन् । यहाँ डिग्री गरेर गएकाहरू उता उँट चराइरहेका छन्, दसौं तलामाथि सिमेन्ट बोकिरहेका छन्, उनीहरूलाई नेपालका राष्ट्रिय तारा–अर्थतन्त्रका सहारा घोषणा गरी पदक दिने व्यवस्था गरिनेछ । युवाहरूले विदेश पठाउने, महिला र बालबालिकालाई काममा जोताउने राष्ट्रिय श्रम तथा युवा नीति तयार पारिनेछ । बालश्रमिक प्रयोग गर्न पाइँदैन भन्ने कानुनलाई सिंहदरबारको श्रममन्त्रालयको प्रांगणमा स–सम्मान दहन गरिनेछ ।
सबै पार्टीलाई सत्ता, बेरोजगारलाई भत्ता भन्ने मूल नाराका साथ नेपाल बेरोजगार दल काम नपाइन्जेलसम्म जुत्ताका तलुवा खिइन्जेलसम्म अफिस–अफिस चहारेर काम खोज्ने आन्दोलनको घोषणा गर्छ । यदि बेरोजगार दलले अघि सारेका मागलाई बेवास्ता गरिए खोरिया फाँडेर कोरिया जाने लाइनमा बस्ने र रत्नपार्कमा बदाम चपाउँदै दिक्क भएर आफ्ना सर्टिफिकेटलाई धिक्कार्ने मूल विरोधका कार्यक्रम अघि बढाइनेछ । बेरोजगार दलको सदस्यता सबैलाई खुला छ, शिक्षित, अशिक्षित, पूर्ण, अद्र्ध, युवा, अधबैंसे र बूढा सबै खालका बेरोजगारले यसको सदस्यता लिन सक्नेछन् । तर, यो दलको सदस्यता लिनेले राजनीतिक दलका अरौटे–भरौटे भएर बन्द, हड्ताल, चक्काजाम आदि–इत्यादिमा ढुंगा हान्न, रेलिङ भाँच्न, तोडफोड गर्न भने जान पाउनेछैनन् । 
pub: karobar daily.

1 comment:

  1. बेरोजगार दलको सदस्यता सबैलाई खुला छ, शिक्षित, अशिक्षित, पूर्ण, अद्र्ध, युवा, अधबैंसे र बूढा सबै खालका बेरोजगारले यसको सदस्यता लिन सक्नेछन् । तर, यो दलको सदस्यता लिनेले राजनीतिक दलका अरौटे–भरौटे भएर बन्द, हड्ताल, चक्काजाम आदि–इत्यादिमा ढुंगा हान्न, रेलिङ भाँच्न, तोडफोड गर्न भने जान पाउनेछैनन् ।नेपाल को सन्दर्भमा तपाई को दलले निकै फस्टाउने मौका पाउने छ ,यो दल सबै बेरोजगारहरूको मनमा बस्न सफल हुने छ भन्ने मलाई लाग्दछ | मलाई नी सदस्यता दिन हुन आनुरोध गर्दछु ?

    ReplyDelete

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।