हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, August 1, 2011

कहिल्यै नफल्ने धान !


वर्षे धान, हिउँदे धान अथवा जुनसुकैै धान होस्, निश्चित समयपछि फल्नुपर्छ र फल्छ पनि, तर कुनै–कुनै धान यस्तो पनि हुँदो रहेछ जुन धान वर्षांैसम्म पनि नपुंषक हुन्छ । धान पक्कै पोथीजातकै रोपिएको थियो, रोपारहरू पनि भाले, पोथी, तेस्रोलिंगी, समलिङ्गी सबै थिए तर अहँ ! त्यो धान फल्दै फलेन । स्याहारसुसार पुगेन वा कोही कसैले फल्न दिएन ?
तीन वर्षअघि नेपालभूमिमा रोपिएको त्यो धान पाक्न त के फल्नसमेत सकेको छैन । कोही गेडा बन्न मात्रै बाँकी छ, अरू सब फलिसक्यो भन्छन्, कोही धानको बीउ भर्खर हुर्केर आयो भन्छन्, कोही बीउ नै ओइलाउन थाल्यो भन्न थालेका छन् ।
रोपेको दुई वर्षमा जसरी पनि फलाउँछु भनेर घाँटीको नशा तन्काई–तन्काई जनतालाई आश्वासन दिलाएका रोपारहरू अहिले ल¥याकलुरुक हुँदै एक–अर्कालाई दोष थोपर्न थालेका छन् । तैपनि फल्दै फल्दैन भन्नचाहिँ सकिँदैन, किनकि रोपारहरू निदाउनकै लागि भए पनि खेतमा लुरुलुरु गइरहेकै छन्, काठमाडौंमा महल ठड्याएरै पनि डेराभाडा कुम्ल्याइरहेकै छन् । चिल्ला कार चढेर पनि ट्याक्सी भाडा बुझेकै छन्, ‘क’ पढ्न नआए पनि पत्रपत्रिकाबापतको खर्च लिएकै छन्, नाराजुलुस गर्दै रोष्ट्रम घेरैकै छन्, कन्डम र रिबनको बिल बुझेकै छन् ।
यही धानकै लागि भनेर कैयौं नारा घन्काइए, कैयांै सहिद बने, कैयांै अझै ओछ्यानमा छन् तर अहँ कसैको केही लागेन । ६ सय १ रोपारको सिवाय अरू कसैको भलो भएन । गाउँघरदेखि सहरका कुनाकाप्चामा समेत हल्ला चल्न थालेको छ, हुर्कंदै गरेको धानको बीउलाई समेत निमोठेर फाल्ने षड्यन्त्र रच्दै छ रे, ६ सय १ रोपारलाई ख्वाउनुभन्दा बरु एक्लो रोपार राखेको भए बेस हुन्थ्यो भन्न थालेका छन् एकथरी । एक्लो रोपार पनि के कम, भएभरका भाँडो चाख्न पाऊँ न भन्दै देवीदेवता ढोग्दै हिँडेका छन् ।
गत वर्ष सुटुक्क एक वर्ष थपेर जनताको आँखामा भ्वाक्क छारो हालेका रोपारहरू यसपटक पनि तीन महिना थप्न सफल बने । धान फलाउन होस्टे–हैंसे गर्ने केही सभासद् पराजयका साथ स्वर्गवास पनि भइसके । धान रोप्न गएका २७ टोलीबाट फुटेर बिस्तारै अब ३१ टोली पुगेको छ । टोली नाइके बन्ने भनेपछि हुरुक्क बन्ने उनीहरूले आफ्नै पेट भर्न ल्याएको बजेटको ब्रिफकेससमेत फोडे । बसेर काम गरोस् भनेर राखिएको कुर्सीसमेत भाँचे, कोही कमिसनको चक्करमा रुमल्लिएर जेल पुगे, कोहीले जागिर मिलाइदिने भन्दै करोडांै कुम्ल्याए, कोही आवतजावतमा सुविधा होस् भनेर दिएको पासपोर्ट नै बेचेर रातारात करोडपति बने । कोही भने खेतको डिलै तोडेर तरुनीको पति बन्न पुगे भने कोही सत्ताको पति बन्न बन्न पुगे त कोही पार्टीको ।
असारमा रोपारहरूको मायाप्रीतिको दोहोरी जुवारी चल्थ्यो बडो गजबसँग, तर गत जेठ १४ गते बानेश्वरमा यो धान रोपेर फलाउने कि रोपेको पनि उखेलेर फाल्ने भन्नेबीच ठूलै जुहारी चल्यो । असारे हिलो पर्ला भनेर डराउनेहरूले पनि बानेश्वरको त्यो जुहारी मज्जैले नियाले, अन्ततः तीन महिनासम्मलाई पुनर्जीवन दिलाए मध्यरातमा । अब त तीन महिनाको पनि दुई महिना चट भइसकेको छ । आउँदो भदौ १४ मा दसैंको चंगासँगै फेरि मंसिरसम्मका लागि चट हुने कुरामा ढुक्क भए हुन्छ । 
Pub: karobar daily

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।