हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Tuesday, August 2, 2011

एकल महिलाप्रति सामाजिक हेराइ


रामजी बलामी

image

श्रीमतीको मृत्यु भएको महिना दिन नपुग्दै धुमधामसाथ अर्की पत्नी भित्र्याउन पुरुषलाई कुनै रोक छैन, तर त्यही रगत र मासुले बनेकी चेलीको शरीरले अनेक सामाजिक यातना र लाञ्छना व्यहोर्न बाध्य हुनुपर्छ



मृत्यु कसैको चाहना होइन, यो एउटा प्राकृतिक नियम हो । कुनै पनि प्राणीको जन्मपछि मृत्यु निश्चित छ । फरक यत्ति हो, कसैको मृत्यु चाँडै र कसैको ढिलो हुन्छ । सँगै मर्ने र सँगै बाँच्ने कसम खाएर दाम्पत्य जीवनमा बाँधिएपछि समयसँगै आइपरेका समस्याको सामना गर्न सक्नुपर्छ नै । भनेजस्तो सँगै मर्न कहाँ पाइन्छ र ? बाँच्न पो सँगै पाइन्छ । कोही पति गुमाएर बाँच्न बाध्य हुनुपर्छ भने कोही पत्नी गुमाएर । दुईमध्ये एकको मृत्युसँगै अर्काेको बाँकी जीवन एक्लै बिताउनुपर्ने हुन्छ । अझ नेपाली समाजमा त यसको रामकहानी बेग्लै छ । नेपाली समाज अन्धविश्वास, कुरीति र रुढीवादी संस्कारले भरिपूर्ण छ । पुरुषप्रधान नेपाली समाजमा नारीलाई एउटा नक्कली पात्रका रूपमा हेर्ने गरिन्छ । कसैकी चेली कसैकी श्रीमती हुन्, तैपनि चेलीको वेदना देख्न नसक्ने अभिभावकसमेत बुहारी र श्रीमतीलाई तल्लोस्तरको व्यवहार गर्न हिच्किचाउँदैनन् । समयले कोल्टे फेरेसँगै नारी पुरुष बराबरीका नारा घन्किरहेका छन्, तर जसले आवाज उठाएका छन् उनीहरू आफैँ पीडित बनिरहेको समाचार सुन्नुपरिरहेको हुन्छ ।
'पाले पुण्य मारे पाप' भनेर भित्र्याएको श्रीमतीलाई जवानीका आधारमा मूल्यांकन गरेर उमेर ढल्किँदै गएपछि पशुसरह व्यवहार गर्ने महापुरुषलाई के भन्ने ? श्रीमतीको मृत्यु भएको महिनादिन नपुग्दै धुमधामसाथ अर्की पत्नी भित्र्याउन पुरुषलाई कुनै रोक छैन, तर त्यही रगत र मासुले बनेकी चेलीको शरीरले अनेक सामाजिक यातना र लाञ्छना व्यहोर्न बाध्य हुनुपर्छ । श्रीमान्सँगको विछोडले चिरिएको घाउमा नुन छर्केझैँ एकपछि अर्काे गर्दै प्रहार गरिएका वचनवाणले ती चेलीको मन कति दुख्दो हो ! 
'लाऊ चेली सिन्दुर लाऊ ...' लोकगायक बद्री पंगेनीले गाएको यस गीतका शब्दले ती चेलीको चर्किएको मनमा मलम लाउने कोसिस त गरियो, तर साथ दिने कोही भएनन् । विधवा चेलीलाई हेर्ने पुरुषको नजर मात्रै होइन, स्वयं नारीकै हेराइसमेत सकारात्मक देखिन्न । छोराको मृत्युसँगै एक्लिएकी बुहारीलाई सान्त्वना दिनु त परै जाओस्, अनेक लाञ्छना लगाएर घरबाटै लखेट्ने, कुटपिट गर्ने र यौन शोषणसमेत गर्ने अभिभावक यही समाजमै छन् । श्रीमान्को मृत्युपछि शृंगार गर्न नहुने, पूजापाठ गर्न नहुने, शुभकार्यमा उपस्थित हुन नहुनेजस्ता कुसंस्कार हाम्रो समाजमा प्रशस्तै छन् । 
श्रीमान् होस् वा श्रीमती, मर्ने त मरिगए तर बाँच्नेले पनि किन मरेतुल्य जीवन जिउनुपर्ने ? एकपटक सोच्नैपर्छ, समाजका बोक्रे भलादमीहरूले । आफ्नी चेलीको सिउँदो पुछिँदा हक अधिकारको कुरा उठाउनेहरू नै आफ्नी बुहारीप्रति नकारात्मक व्यवहार देखाउँछन्, किन ? आजकल कहिलेकाहीँ छापामा छाइरहने खबर हो बुहारीको बिहे । यो शतप्रतिशत सकारात्मक कार्य हो, तर हाम्रो समाजले यो कुरा पचाउन अझै सकेको छैन । जसले सुरुवात गर्‍यो उसैलाई गाउँनिकाला गर्नेहरू पनि छन् यहाँ । असहायलाई सहारा खोजिदिनु पाप कि पुण्य ? यो कुरा समाजका भाइरस -बोक्रे भलादमी) हरूले बुझ्नु अति जरुरी छ । 
विधवापछि पुनः वैवाहिक सम्बन्ध गाँस्ने वा नगाँस्ने यो व्यक्तिगत कुरा हो, त्यसैले कोही कसैले पनि आक्षेप लगाएर होच्याउनु हँुदैन । पति गुमाउँदैमा पत्नीको बाँकी जीवन नरकतुल्य हुनुपर्छ भन्ने त होइन नि ! यदि कोही कसैले रोक लगाउन खोज्छ भने उसलाई कडा कारबाहीसमेत गर्न सक्नुपर्छ । जीवनको अन्तिम चरणमा आएर विधवा हुँदा त अर्कै कुरा, लाउ“mलाउ“m र खाउ“mखाउ“mको उमेरमै विधवा हुन विवश चेलीहरूको इच्छालाई सबैले साथ दिनुपर्छ, यो सचेत वर्गको दायित्व पनि हो । 
श्रीमान्को मृत्युलगत्तै समाजले हेर्ने हेय दृष्टिकोण त छँदै छ, त्यसका अलावा विधवा बनेपछिको यौन-जीवन एउटा प्रमुख समस्या हो । यौन सबैका लागि आवश्यक छ, यसले न भोक-प्यास भन्छ न जन्म-मृत्यु नै । व्यक्तिको स्वास्थ्य र जीवनस्तरअनुकूल यौनको मात्रा घटबढ हुने भए पनि आखिर आवश्यक छ सबैका लागि । जीवनसंगी गुमेपछि आफ्नो यौन तृष्णा लुकाएरै बस्नु कयौँ चेलीका लागि बाध्यता बनेको छ । सामान्य कुरामा समेत हेय भाव राख्ने नेपाली समाजमा यौनका कुरा गर्नेलाई जुत्ताको माला भिराउनसमेत पछि पारिन्न । बाँकी जीवन यौन सन्तुष्टिबाट टाढा भई बस्नुपर्दाको पीडा कस्तो होला ? 
नारी हक अधिकारका जतिसुकै चर्का नारा घन्काए पनि त्यो व्यवहारमा लागू हुन सकेको छैन । अर्काे विडम्बनाको कुरा सोझा, सरल र नारी हक अधिकारको कुरा गर्ने पुरुषलाई हेप्ने नारीहरूकै प्रवृत्तिका कारण पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको हो कि भन्ने अधिकांशको ठहर छ । एउटै रथका दुई पांग्रासरहको दायित्वबोध हुन सकेको छैन । आफूलाई प्राप्त अधिकारको सही सदुपयोग गर्न नजान्दा र अधिकारका नाममा कलंक फैलाउँदा नारी-पुरुषबीच गहिरो खाडल स्थापित हुन पुगेको छ । नारी अधिकारको आवाज उठाउने नारीहरू नै पीडित बन्नुपरिरहेको परिप्रेक्षमा समानताका लागि सानोतिनो प्रयासले मात्र पक्कै पुग्दैन । कडा कानुन र त्यसको कार्यान्वयनले मात्र वास्तविक पीडितले राहत महसुस गर्न सक्छ । बोक्रे भलादमीले शासन जमाएको नेपाली समाज रुपान्तरणका लागि सचेत वर्ग नै अग्रसर हुनु आवश्यक छ । 
हाम्रो समाजमा नारीहिंसा बढ्नुको प्रमुख कारण उनीहरू आत्मनिर्भर हुन नसक्नु नै हो । त्यसैले कुनै पनि अभिभावकले छिटै नातिको मुख हेर्ने बहानामा आफ्ना सन्तानको कम उमेरमै बिहे गरिदिने होइन, राम्रो शिक्षा-दीक्षाको व्यवस्था गरिदिनु सबैभन्दा ठूलो धर्म हो । आजको समयको माग पनि यही नै हो । एउटी चेली जसलाई यौन-पुतली सम्झेर व्यवहार गर्ने होइन, सरस्वती र लक्ष्मीसमान व्यवहार गर्नु आवश्यक छ । सचेत वर्गले आवाज नउठाई गाउँघरको कुसंस्कार अन्त्य गर्न असम्भव भएकाले राष्ट्रियस्तरमै अभियान थाल्नु जरुरी छ अन्यथा चर्का भाषणले मात्र केही हुनेवाला छैन । श्रीमती र बुहारीलाई पनि आफ्नै चेलीसरहको व्यवहार गर्नु सबै अभिभावकको दायित्व हो । 
rbalami2008@gmail.com 
pub: Naya patrika daily.

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।