प्रचण्ड पावर !
pic. from online.
रामजी बलामी
जनयुद्धताका जुँगावाला फोटो मात्रै देखे पनि डराउँथें । प्रचण्डलाई जंगली मान्छे भनेर चिन्थे । जंगली मान्छेले घाँटी रेटेर टाउको मात्रै लैजान्छ, जीउ खोलामा फाल्दिन्छ भनेर तर्साउँथें, अभिभावकहरू आफ्नो बदमास छोराछोरीलाई । छोरोछोरी पनि माउवादीले लैजान्छ भनेपछि थर्कमान हुन्थे । नेपाली गब्बरसिंहकै पर्याय थे, प्रचण्ड । ‘प्रचण्ड प्रतापि भूपति..’ भन्नेबाटै उपनाम राखेका रे, छविलालले पनि भन्थे । जे होस्, छविलालबाट प्रचण्ड बनेका यी कम्निट नेताको छवि भने गज्जबकै थियो ।
प्रचण्ड अझै पनि नानीदेखि लागेको बानी अँगाल्दै पटक–पटक जंगल जान्छु भनेर अरूलाई तर्साइरहेका छन् । फोटोमै गमक्क देखिने प्रचण्ड वास्तवमै पावरफुल रहेछन् । त्यसो त उसका पछिल्ला नेताले जति खुट्टा ताने पनि अड्काई–अड्काई माथि चढ्न सिपालु छन् । सानालाई ललिपप दिंदै आफ्नालाई माथि लान खुबै बाठो पनि छ । पछिल्लो पटक बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन ठूलै शक्ति लागिपरे, तर प्रचण्डको फुमै गल्र्यामगुर्लुम ढल्यो सबै ।
प्रचण्डलाई भित्ते राष्ट्रपति बनाएजस्तै बाबुरामलाई पनि मौखिक प्रधानमन्त्रीमा टारे । पहिल्लो पटक माउवादीभित्रको अन्तद्र्वन्द्व मज्जैले छत्ताछुल्ल पोखिए । पहिले पहिले भित्रभित्रै जरा काटे पनि बाहिर ‘हामी एक छौं’ भनेर भाषण दिने नेताहरू पछिल्लो पटक धोबीघाटको कटेजमा दिनरात बसेर प्रचण्डविरुद्ध षड्यन्त्र बुनेपछि एकअर्काबीच आरोप–प्रत्यारोप निकै चले । गिरिजाबाबुले उहिल्यै भनेको थिए रे प्रचण्डलाई— “यी तिम्रा चेलाहरूले कि तिम्लाई भौतिक आक्रमण गर्छन् कि त मानसिक त्यो पनि अति कठोरका साथ ।” तारन्तार बैठक बसेर माउविरुद्ध खोइरिएपछि प्रचण्डका मनमा आगोको मुस्लो नराम्ररी सल्केछ क्यारे । धमाधम सबलाई कुर्सी दिएर सम्मान गर्दिए । कुर्सी पाउनेहरू दङ्ग परे, अरू वाल्ल जिल्ला । विचरा अरू कम्रेडहरू ट्वाल्ल हेरेरै चित्त वुझाउन विवश भए ।
उपाध्यक्ष मोहनबाजेलाई सङ्गठन विभागको जिम्मा दिएर मख्ख बनाए, सबैको आँखामा प्रधानमन्त्री बनेर उभिएको विद्वान् डा. बाबुरामलाई संसदीय विभागको जिम्मा लाए, बेला–कुबेला बैंसको जोस निकालेर कुर्लने रामबहादुर थापालाई सैन्य विभागको जिम्मा दिए, सीपी गजुरेललाई बाहिरी मोर्चा प्रमुख बनाइए ।
गतिलै फल झारुम्ला भनेर पार्टीसहित छिरेका आफ्ना फोटोकपी नारायणकाजीलाई उपप्रधानमन्त्री बनाइदे । पुरानाको जोड चलने क्यारे धमाधम निकाल्दै फ्याक्दै नयाँलाई पालो दिए । अब फेरि अर्काे गुटले फुट ल्याउन खोजे यिनीहरूलाई पनि फ्याक्ने पो हुन् कि ?
गणतन्त्र नेपालकै नेतृत्व गर्दै सबैभन्दा ठूला पार्टी भनेर बकुल्ला जस्तै हूलका हूल मन्त्रिपरिषद् छिरेपछि देशविकास होला कि भन्ने आस पलाएको थियो जनताको मनमा, तर आशालाई निराशामा बदलेर कुर्सी र भुँडीको फर्सीमै यिनी दंगदास भएका छन् ।
अरू पार्टी छोडेर आफ्नोमा आयो भनेर मख्ख पर्दै स्वागत गरेका प्रचण्ड अहिले दोधारमा परेका छन् । अवसरवादीहरूको हाबी हुँदै गएको अत्तोपत्तो छैन उनलाई । एमालेलाई धम्क्याएर माउवादी टुट्फुट हुनबाट फेरि एकपटक भने जोगाएका छन् । बेलाबेलामा भावुक बनिदिने कमरेडले कम्ता नाटक गर्न जानका छैनन्, त्यो कुरा उनकै पार्टीका नेताहरूले पनि भन्छन् । देशका भित्ता राष्ट्रपतिदेखि घरकी सीताका पतिसम्म सफल प्रचण्ड कमरेड अर्को के चमत्कार गर्ने हुन्, त्यो भने हेर्दै जाऊँ ।
karobar daily.
No comments:
Post a Comment
तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।