हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, February 25, 2013

सन्तान :तानातान


 रामजी बलामी 


सन्तानको लब्बेतान भनि साध्य छैन नभनि पनि भाछैन भन्न पनि भाछैन । साध्य नभएकैले बाध्य भएर  लोक पत्यार मकै भत्यारर गर्नु परेको छ । मानिसको उत्पत्तीदेखि ब्युत्पत्ती सम्म हरेक चरण पार गर्दै कयौको पाउ शरणमा पर्दै पाका हुन्छौ अनि श्रीमतीको गाला हेर्दै आमाबाका कुरालाई सांढेले झै धारे आंखा लगाएर नानाभांतीका भाका लगाउँछन् । तपाई मपाई उहाँ हामी तिमी हजुर ज्यू सवैमा यसको गन्ध कुहिएको अण्डा जस्तै असरल्ल फैलिएको छ । 


जुन रङ्गको भटमास रोप्यो त्यही रङ्गको फल्छू भनेर आफ्नो छोराछोरीलाई सम्झाउँथे अभिभावकहरु । अब त यो नियमले पनि फेल खाए जस्तो छ । सोझा सिधा बाउआमाका छोराछोरी बाङ्गा तिङ्गा बन्न थालिसके । समयले कोल्टे फेरेसंगै आफूले पनि कोल्टे फेर्नु त ठिकै हो तर फेसन र प्रविधी भन्दै अधिक बन्न खोज्दा लोभले लाभ लाभले विलाप हुन पुग्छ भन्ने कुराको ख्याल गर्नु पर्छ अन्यथा जोशमा होस गुमाउँदै जोवनै छ्यालब्याल हुन सक्छ । 

सन्तान थरि थरिका हुन्छन् । कोही आफ्नो पाखुरा ठूलो भए पछि बाउआमासंगै कुस्टी खेल्न थाल्छन कोही बृद्ध बाउआमा गाँउमा छाडेर तरुनी बोक्दै शहर छिर्छ कोही श्रीमान पाए पछि बाउआमालाई चटक्कै भुल्छन कोही धनैधनको आशमा बाउआमाको अन्तिम सास हेर्न समेत जांदैनन् कोही बाउआमाको आंखा छल्दै सुटुक्क भाग्छन्  कोही आफूले भने जस्तो गरेन भनेर सराप्न थाल्छन । सन्तानको प्रकृती र प्रवृती न गनिसाध्य छ न भनिसाध्य ।

ए छोरी बाउआमाको नाक त राख अलि राम्रो कपडा लगाउूँ भन्यो भने उहिलेको कुरा खुइलियो तिम्हरुको पालाँ त नभएर पो त्यस्तो लुगा लगायो अहिले जमाना कहाँबाट कहाँ पुगिसके त्यस्तो लाएर पाखे बन्नु भन्न थाल्छन् । शहरमा पाईला टेकेपछि उमेरको वैशमा कसले पो छेक्न सक्छ र  उनीहरुको जवाफ ठेग्नै गाह्रो । शहर पसेर अंगालोमा बसीबसी दुई चार शब्द घसेपछि महान ठान्छन् आफूलाई । कसैले मान नगरे पनि आफै  मपाँईत्व गर्दै शान छोड्न भने छोड्दैनन् । 

जतिसुकै पढोस जतिसुकै बढोस आजकलका छोराछोरीले बाउआमालाई गन्न छाडेर जेपिटी भन्न थालिसके । उहिले सस्तोमा काठमाडौंमा घर किनेर बस्या भए हेर्नु त अहिले  कस्तो पाखे वुद्धी  भनेर अभिभावकलाई पाखे ठान्ने छोराछोरीले त्यतीखेर र यतिखेरको आम्दानी  खर्च किन वुझ्दैन आफूलाई विद्धान मान्ने छोराछोरीहरुले  हे भगवान १ बाल्यकालमा आफूले भोटा नलाएर छोराछोरीलाई मोटा बनाउँने अभिभावकहरु अहिले आफै लोटा बोकी पानी खान पर् या छन । मोटो माटो पाखुरे र तिघ्रे छोराछोरीका कारण मनभरि चिरिएको घाउको खोटोमा मल्हम हाल्नेहरुको खोजीमा हिड्ने बाउआमाहरु कयौ छन् । 

पैसाको लोभमा जानाजान बाउआमालाई गाडीको टायरमूनि हाल्नॆ बोरामा हालेर फाल्ने अनकन्तार ठाँउमा लगेर हुल्याउँने र भुत्लाउँने सन्ततीहरुको विगविगी छ यहाँ । मातापिताको गुणगानमा नुन छरेर तानतुन पार्ने बाउआमालाई पल्लो कोठामा देखाई देखाई जोडीमय अंगालोमा  लिप्त हुने चलन त वर्षायामको च्याउसरी बनको झ्याउसरी फस्ताएकै छ । 

जसको भैसी उसको बन जसको छोरा उसको धन भनेर भए भरको बल लगाएर इश्वरको वरदान भन्दै दर्जनौ सन्तानलाई जन्म दिएका आबाबुवाहरु अहिले सुकिएको कुवा झै तिनै सन्तानको जुवाको खालमा बस्न परेको छ । बाह्र छोराको तेह्र नाती बुढाको धाको काँढैमाथि भनेको यहि हो । धेरै सन्तानका आमाबुवाको पिडा भन्दा कुनै कमि छैन एक्ल सन्तानका अभिभावकको । एक्लोपनको फाइदा उठाँउदै मर्ने र मार्ने सम्मका कुरा गर्नेहरुको सन्तान पनि यहां नभएका होईनन् । त्यसैले आफू पनि कुनै दिन अभिभावकको बन्धनमा बांधिनु पर्ने कुरालाई मनन गर्दै मातापिताप्रती सम्मानको भावनाले हेर्ने कि .

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।